Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशमा रहेका छ लाख नेपालीले रोजगारी गुमाउँदै

विदेशमा रहेका छ लाख नेपालीले रोजगारी गुमाउँदै


काठमाडौं, जेठ ६
कोरोना भाइरसको कारण वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरुले रोजगारी गुमाउने आंकलन गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (एनएएफईए)ले लकडाउनको अवधिमा गरेको अध्ययनअनुरुप वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका २० देखि २५ प्रतिशत अर्थात् पाँचदेखि छ लाख जना नेपाली युवाहरुले रोजगारी गुमाउने बताएको छ ।

संघका महासचिव सुजित कुमार श्रेष्ठले संघले गरेको अध्ययनअनुरुप कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई तथा भिसाको समयावधि समाप्त भएका श्रमिकको उद्धार गरी नेपाल फर्काउनुपर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत अर्थात् पाँचदेखि छ लाख जना पाएको बताए । अध्ययनको क्रममा दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्किने श्रमिकको संख्या करिब ६० प्रतिशत रहेको उनको भनाइ छ ।

नेपाली कामदारका प्रमुख श्रम गन्तव्य कच्चा तेलमा आश्रित अर्थतन्त्र भएका गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)का सदस्य रहेका साउदी अरब, यूएई, कतार, ओमान, कुवेत, बहराइन तथा एसिया प्यासिफिक क्षेत्रका मलेसिया, जापान तथा दक्षिण कोरिया हुन् । यी देशमा करिब ३० लाख नेपाली नागरिक कार्यरत रहेको अनुमान छ । कोरोना भाइरसको महामारीले सबै आर्थिक गतिविधि रोक्किँदा र कच्चा तेलको मूल्यमा आएको विश्वव्यापी गिरावटले नेपाली कामदारको प्रमुख गन्तव्य जिसिसका सदस्य देशको आर्थिक गतिविधि पनि गम्भीर रुपमा प्रभावित भई आर्थिक संकट दिनप्रतिदिन गहिरिँदै जाँदा नेपाली युवाहरु समेत प्रभावित हुने अध्ययनले देखाएको छ ।

यता ती मुलुकहरुमा ठूला–ठूला परियोजनाहरुको काम स्थगित भएको छ । साउदी अरेबियाको हकमा आफ्नो गिर्दो अर्थतन्त्रलाई टिकाइराख्न ५ प्रतिशतमा रहेको भ्याटलाई वृद्धि गरी १५ प्रतिशतमा पु-याएको छ भने सरकारी कर्मचारीहरुको सुविधा पनि कटौती गरिसकेको छ । खाडीको सबैभन्दा ठूलो अर्थतन्त्र साउदी अरेबियाले गरेको भ्याट वृद्धि, ठूला परियोजना स्थगित र कर्मचारीको समेत सुविधामा कटौती गरेको घटनाले अन्य देशहरुलाई पनि नकारात्मक रुपमा प्रभाव पार्ने देखिएको छ भने साउदीमा कार्यरत कतिपय नेपालीहरु रोजगारीविहीन भएसँगै स्वदेश फर्किन बाध्य हुनेछन् ।

यस्तै संयुक्त अरब इमिरेटस (यूएई), मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानमा रहेका युवाहरुले समेत रोजगारी गुमाउनेछन् । संयुक्त अरब इमिरेट्स (युएई) चार लाख युवाहरुमध्ये ३० प्रतिशत, मलेसियामा पाँच लाखमध्ये ३० प्रतिशत, कतारमा चार लाख २५ हजारमध्ये २० प्रतिशत र साउदी अरेबियामा तीन लाख ८० हजारमध्ये २० प्रतिशत नेपाली युवाहरुको रोजगारी कटौती हुने भएको छ । यस्तै कुवेतमा ८० हजार युवाहरुमध्ये १५ प्रतिशत, बहराइनमा ३५ हजारमध्ये १२ प्रतिशत र ओमनमा १७ हजार पाँच सयमध्ये १० प्रतिशत युवाहरुको रोजगारी कटौती हुने बताइएको छ ।

युवाहरु मुख्य रुपमा निर्माण क्षेत्र, उद्योग, होटल र सेक्युरिटी सेवामा वैदेशिक रोजगारीको क्षेत्रमा जाने गरेको देखिन्छ । कामको आधारमा निर्माण क्षेत्रमा २१.१ प्रतिशत, उद्योगमा १७.३ प्रतिशत, होटलमा ९.३ प्रतिशत, कार्पेन्टरमा ८.३ प्रतिशत र सेक्युरिटी गार्डका लागि ७ प्रतिशत युवाहरु वैदेशिक रोजगारीमा गएको देखिन्छ । अन्य काम (क्लिनर, घरायसी कामदार) को लागि १६.६ प्रतिशत गएको देखिन्छन् । देशगत रुपमा हेर्दा साउदी अरब, यूएई, कतार र कुवेतमा निर्माण क्षेत्रमा, मलेसियामा उद्योगमा र सेक्युरिटी गार्डमा बढी कामदार जाने गरेका छन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये ठूलो संख्याका नेपालीहरू अदक्ष कामदारको रूपमा रहेका छन् भने कारोनाको असरबाट कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेष्टुरेण्ट बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुनेछन् । भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै युवालाई नेपाल फर्काइनेछ । कोरोनाभाइरसको फैलावटअनुसार रोजगारी गुम्ने गुमाउनेको संख्यामा फेरबदल हुनेछ ।

विश्व जनसंख्याको १५ प्रतिशत बेरोजगार हुने आकलनलाई नै आधार मान्ने हो भने पनि तत्काल रोजगार गुमाउने नेपालीको संख्या २५ प्रतिशतभन्दा कम हुने देखिँदैन । त्यसमा पनि पर्यटन क्षेत्रमा परेको नकारात्मक असरले मौरिसस, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्टलगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ । यस्तै अध्ययनले श्रम स्वीकृति प्राप्त गरेका एक लाख १५ हजार जना युवाहरु विदेश जान पाएका छैनन् भने पूर्वस्वीकृति प्राप्त गरेका तीन लाख २८ हजार छ सय ८१ जना कामदारलाई समेत पठाउन नसक्ने अवस्था रहनुको साथै सम्भवतः ती कामदारहरु अब जान पाउनेछैनन् ।

अध्ययनको क्रममा रोजगारी गुम्ने नेपाली श्रमिकको संख्याको अनुमान गर्न सहज नभएको बताइएको छ । वैदेशिक रोजगारीबाट फर्किनेको अभिलेखको अभावले गर्दा आँकडागत हिसाबले श्रम स्वीकृति लिई विदेशमा काम गर्नेको संख्या निकै ठूलो देखिए पनि वास्तविक रुपमा हेर्दा हाल वैदेशिक रोजगारीमा करिब २५ देखि ३० लाख नेपालीहरू आबद्ध रहेको अनुमान छ । ०७४/०७५ मा पाँच लाख ७९ हजार ७ सय २१ जना पुरुष र ३२ हजार ९ सय ६४ जना महिला गरी कुल छ लाख १२ हजार ६ सय ८५ जना युवाहरु एक सय ४२ वटा मुलुकमा श्रम स्वीकृति लिई गएको देखिन्छ । त्यस्तै ०७५/०७६ मा चार लाख ७६ हजार ७ सय ५ जना पुरुष र ३२ हजार एक सय २३ जना महिला गरी कुल पाँच लाख आठ हजार आठ सय २५ जना युवाहरु एक सय ३६ मुलुकमा श्रम स्वीकृति लिई गएको देखिन्छ ।

आन्तरिक श्रम बजारमा चाप : अध्ययनको क्रममा विदेशबाट युवा फर्किएसँगै आन्तरिक श्रम बजारमा चाप पर्ने आँकलन गरेको छ । वार्षिक करिब पाँच लाख युवाहरु कामको खोजीमा श्रम बजारमा प्रवेश गर्छन् भने विदेशबाट फर्केका कामदारहरु श्रम बजारमा थपिँदा व्यवस्थापन गर्नु साँच्चै चुनौतीपूर्ण हुनेछ । नेपालमा अहिले नै उच्च बेरोजगारी र श्रमको अल्प उपयोगको अवस्था छ । त्यसमाथि कोरोना संकटले आन्तरिक रोजगारी गम्भीर रूपमा प्रभावित भई लाखौंको रोजगारी संकटमा परिरहेको छ ।

वैदेशिक रोजगार व्यवसाय संकटमा पर्दा यसमा संलग्न रहेको जनशक्ति र आन्तरिक रोजगारीमा समेत असर पर्ने हुन्छ । यस महामारीले १५ प्रतिशत मात्र बेरोजगार थप गरेमा पनि झण्डै १२ देखि १३ लाखसम्म बेरोजगार नेपालमै निस्किन्छन् । यस्तो अवस्थामा स्वदेशमा रोजगारी गुमाउने र विदेशमा रोजगारी गुमाई फर्किनेलाई काम दिन विशेष योजना बनाई रोजगारी सिर्जना गर्नुपर्ने अध्ययनले देखाएको छ ।

अध्ययनले बढ्दो बेरोजगारी अन्त्यका लागि सर्वप्रथम त हाल कार्यान्वयनमै रहेका राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको तीव्र गतिमा काम अघि बढाउनुपर्ने तथा वर्षौंदेखि सम्पन्न हुन नसकेका परियोजनाहरु मेलम्ची खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, सिक्टा सिँचाइ योजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थललगायतका राष्ट्रिय गौरवका आयोजनालाई द्रुतगतिमा अघि बढाई रोजगार दिनसकिने समेत बताएको छ ।

यस्तै होटल रेस्टुरेन्ट, यातायात व्यवसाय र अन्य सेवा व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने, विद्युत्, पानी, सडकलगायतका पूर्वाधारका कामहरु गरी रोजगारी सिर्जनामा जोड दिने, कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने तथा कृषक, पशुपालक, वैदेशिक रोजगार व्यवसायी, सेवा क्षेत्रमा संलग्न व्यवसायी, विदेशबाट फर्केर आफ्नो पेशा व्यवसाय गर्ने व्यवसायी (स्वरोजगार)हरुलाई कर छुट दिने, ब्याजमा सहुलियत दिने, ऋण तिर्न नसक्ने व्यवसायीको ऋण नवीकरण गर्नेलगायतका कामहरु गरी रोजगारी वृद्धि गर्न सकिने जनाएको छ ।

यस्तै केही समयअघि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले गरेको अध्ययनमा कोरोना भाइरसका कारण विश्वभर सवा एक अर्ब श्रमिकले रोजगारी गुमाउने आँकलन गरेको थियो । चैतको अन्तिम साता सार्वजनिक गरेको कोरोना भाइरससम्बन्धी आफ्नो दोस्रो प्रतिवेदनमा आईएलओले कोरोना भाइरसको कारण विश्वभरको रोजगार क्षेत्रमा एक करोड २५ लाख श्रमिकले रोजगारी गुमाउनसक्ने आँकलन गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया