Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऔद्योगिक क्षेत्रका ५१ प्रतिशत उद्योग सञ्चालन

औद्योगिक क्षेत्रका ५१ प्रतिशत उद्योग सञ्चालन


प्रवीन राउत
काठमाडौँ, जेठ ९
सरकारले मुलुकभर ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने भने पनि त्यो सम्भव हुनसकेको छैन । स्थानीयले उद्योग सञ्चालन गर्दा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै अवरोध सिर्जना गरेसँगै सरकराले उद्योगहरु सञ्चालन गर्न नसकेको हो । योसँगै औद्योगिक क्षेत्र भित्र र बाहिर रहेका उद्योगहरु सञ्चालन हुनसकेका छैनन् भने औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुमध्ये ५१ प्रतिशत उद्योगहरु मात्र सञ्चालनमा ल्याएको बताइएको छ ।

सरकारले उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको सिफारिसमा गत वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ४२ प्रकारको उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो भने कोरोना भाइरसको जोखिमका कारण स्थानीयको अवरोधसँगै उद्योगहरु सञ्चालनमा आउन नसकेको मन्त्रालयले जानकारी दिएको छ  ।

हाल मुलुकमा रहेका ११ वटा औद्योगिक क्षेत्रभित्र रहेका तीन सय ४९ वटा उद्योगहरु मात्र सञ्चालनमा रहेको मन्त्रालयकी सूचना अधिकारी उर्मिला केसीले आर्थिक दैनिकलाई बताइन् । मन्त्रालयले लकडाउनको समयमा अति आवश्यक उद्योगहरुचाहिँ शतप्रतिशत क्षमतामा सञ्चालन गर्न खोजेको छ भने अन्य उद्योगहरु भने सम्भव भएसम्म सञ्चालन गर्ने योजनामा रहेको जनाएको छ । अक्सिजन प्लान्ट, औषधि, पानी, खाद्यान्नलगायतका उद्योगहरु सकेसम्म शतप्रतिशत सञ्चालन गर्ने बताउँदै उनले भनिन्, ‘लत्ताकपडा, भाडा लगायतका उद्योगहरु भने आवश्यकताअनुसार सञ्चालन गरिनेछ ।’

औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुमध्ये अक्सिजन प्लान्ट, एलपीजी ग्यास उद्योग भने शतप्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् भने खानेपानी ७० प्रतिशत क्षमता, खाद्यान्न प्रशोधन उद्योग, दुग्ध प्रशोधन उद्योग, खाने तेल तथा घ्यू उद्योग, धान चामल र चिउरा उद्योग, ६५ प्रतिशत क्षमता, औषधिजन्य तथा स्वास्थ्य सामग्री उद्योग, चाउचाउ उद्योग , पाउरोटी बिस्कुट स्न्याक्स उद्योग क्रमशः ६० प्रतिशत क्षमता र डेरी उद्योग ५५ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् भने चिनी भने करिब ५०/५५ मेट्रिक टन मौज्दात रहेको छ ।

यस्तै चिया ५० प्रतिशत क्षमता, ह्याचरी तथा दाना ४० प्रतिशत क्षमता र इँट्टा उद्योग २० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । यता सिमेन्ट उद्योग, फलाम तथा स्टिल उद्योग विद्युतीय उद्योग, प्लाइउड र भेनिर उद्योग, खनिजजन्य उद्योग, आल्मुनियम उद्योग, ग्रिल उद्योग, आल्मुनियम उद्योग, ढुवानी उद्योग तथा लघु तथा घरेलु उद्योगलगायतका उद्योगहरु भने सञ्चालनमा आउन नसकेको मन्त्रालयले जनाएको छ । एलपीजी ग्यास भने प्रशोधन गरी बजारमा लैजाने हुँदा शतप्रतिशत रुपमा सञ्चालन भएको बताउँदै उनले औद्योगिक क्षेत्रमा सामान्य अवस्थामा कार्यरत मजदुरहरु समेत नरहेको बताइन् ।

लकडाउनका कारण औद्योगिक क्षेत्रमा आठ हजार दुई सय २० जना मजदुरहरु कार्यरत रहे पनि हाल भने तीन हजार पाँच सय १६ जना मजुदरले मात्र काम गरिरहेका छन् । ‘करिब एक चौथाइ मजदुर कार्यरत रहँदा शतप्रतिशत उद्योग सञ्चालन हुन नसकेको स्पष्ट देखिन्छ’, उनले भनिन्, ‘त्यसैले गर्दा औद्योगिक क्षेत्र पूर्ण सञ्चालनमा आउन कति समय लाग्छ भन्ने विषय अन्योल नै रहेको छ ।’

वैशाख २५ गते उद्योगी, प्रशासन र सुरक्षा निकायबीच भएको बैठकमा उद्योगहरु नियमित रुपमा सञ्चालन गर्दै अघि बढ्ने बताएका थिए । तर लकडाउनका कारण उत्पन्न समस्या कारण उद्योगीहरुले उद्योग सञ्चालन गर्न सकेका छैनन् भने निजी क्षेत्रका उद्योगीहरुले लकडाउनमा कच्चा पदार्थको अभाव, ढुवानी समस्या, कामदारको अभावलगायतका कारणले गर्दा उद्योग सञ्चालन गर्न नसक्ने बताउँदै आएका छन् । जेठको सुरुदेखि उद्योगहरु सञ्चालनमा ल्याउने भन्दै उद्योगी र स्थानीय निकायबीच छलफल गरे पनि त्यसले पूर्णता प्राप्त गर्नसकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया