Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुप्तेश्वर महादेव गुफाद्वारा शिक्षामा २५ करोड लगानी

गुप्तेश्वर महादेव गुफाद्वारा शिक्षामा २५ करोड लगानी


पोखरा । पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटनस्थित पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफाले शिक्षा क्षेत्रमा २५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । गुफा अवलोकन गर्न आउने पर्यटकबाट सङ्कलित रकमबाट २५ करोडभन्दा बढी शिक्षा क्षेत्रमा लगानी भएको हो ।

गुफाको आम्दानीले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र वेद विज्ञान पाठशाला सञ्चालन हुँदै आएको छ । क्याम्पसमा विभिन्न विषयमा नौ सय २९ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७३ प्रतिशत छात्रा छन् ।

आगामी आर्थिक वर्षमा पनि क्याम्पस सञ्चालनका लागि ७० लाख रुपैयाँ र वेद विज्ञान गुरुकुल सञ्चालनका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको गुफा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष युवराज लामिछाने (युवक)ले जानकारी दिए ।

उनका अनुसार गुरुकुलमा एक सय विद्यार्थी अध्ययनरत छन् । गुफाले पोखरा–१७ र आसपासका वडाका सामुदायिक विद्यालयमा समेत अक्षयकोष स्थापनाका लागि पाँच लाख रुपैयाँ छुट्याएको छ । गुफाले नै खरिद गरेको छ रोपनी जग्गामा २४ कक्षा कोठा, होटल व्यवस्थापन प्रयोगात्मक कक्ष (हल) पाँच वटा, आइटी ल्याब दुई, पुस्तकालय एक, सभाहल दुई, कार्यालय कक्ष ११, शौचालय १६ वटा रहेको उक्त भवन तीन तल्लाको छ । केही आम्दानीबाट गुफाको संरक्षण एवम् सौदर्यकरणमा खर्च भएको उनले बताए ।

गुफा व्यवस्थापन समितिका सचिव हरिप्रसाद लम्सालका अनुसारआर्थिक वर्ष २०७९/८० मा नेपाली पर्यटक दुई लाख ९३ हजार दुई सय ४९, विदेशी दुई लाख ७९ हजार पाँच सय ५० र नेपाली विद्यार्थी एक लाख २५ हजार एक सय ८६ ले गुफाको अवलोकन गरेका थिए । ती व्यक्तिबाट चार करोड २८ लाख ५८ हजार चार सय ८० रुपैयाँ आम्दानी भएको थियो ।

त्यस्तै, गुफाले कामधेनु गाईबाट चार लाख ६२ हजार आठ सय ६०, दान पात्रबाट २७ लाख ४६ हजार नौ, सहयोग रसिदबाट ५१ लाख २७ हजार सात सय ५१, सटर कबलबाट आठ लाख ६८ हजार ९५ रुपैयाँ आम्दानी गरेको थियो । चालु आवको मङ्सिर मसान्तसम्म ७२ हजार नेपाली, ७६ हजार ९३ विदेशी पर्यटकसहित कूल एक लाख ६८ हजार सात सय ४० जनाले टिकट काटेर अवलोकन गरेका छन् ।

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार गुफा अवलोकनका लागि आधुनिक बारकोड स्क्यानर गेटसमेत राखिएको छ । उनका अनुसार टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण सङ्कलन गर्न सहज भएको छ । सुरक्षाका दृष्टिकोणले पनि यो प्रविधि प्रभावकारी देखिएको उनले बताए ।

गुफा अवलोकनमा क्रमिक रुपमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका जनाउँदै विशेष गरी बिदाका दिनमा बढी भिड लाग्ने गरेको बताए । उनका अनुसार प्रवेशका लागि विदेशी एक सय, नेपालीलाई ५० र विद्यार्थीलाई ३५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।

ऐतिहासिक, पुरातात्तिवक एवम् धार्मिक महत्व बोकेको गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया