Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसरी–मोरङ कोरिडोरका साना व्यवसायीको राजस्व छली धन्दा

सुनसरी–मोरङ कोरिडोरका साना व्यवसायीको राजस्व छली धन्दा


विराटनगर । औद्योगिक सहर विराटनगरमा राजस्व छलीको विषय पछिल्लो समय सामान्यजस्तै बनेको छ । यहाँका सानाठूला सबै व्यापारिक घरानाका व्यक्तिबाट सरकारलाई बुझाउने राजस्वमा व्यापक छली हुने गरेको छ ।

सुनसरी–मोरङ औद्योगिक कोरिडोरअन्तर्गत विराटनगर महानगरपालिकाभित्रै सञ्चालित श्री गणेश फुड प्रोडक्टकले पनि राजस्व छली गरेको खुलेको छ । सो कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको कारोबारको विवरण बुझाएपछि राजस्व छली गरेको खुलेको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट, आयकर र अन्तःशुल्क समेतमा दर्ता भएर सो कम्पनीले ठूलो रकममा राजस्व छली गरेको बताइएको छ । उक्त कम्पनीले २०७३ सालमा नै ६०५४६२७४२ मा भ्याट नम्बर प्राप्त गरी निर्वाधरूपमा आफ्ना उत्पादनहरू बिक्री वितरण गर्दै आएको छ । उद्योगले नुडल्स, पास्ता, सेवई, सुजीलगायतका खाद्यान्न उत्पादन तथा बिक्री/वितरण गर्दै आएको छ । खाद्यान्न उत्पादन गर्दै आएको सो कम्पनीको उत्पादन र बिक्री/वितरणमा कोभिडलगायत आर्थिक मन्दीको असर अत्यन्त न्यून हुुँदाहुुँदै पनि कारोबार विवरण भने न्यून बुझाएको छ । कोभिड र आर्थिक मन्दीको बहानामा कम्पनीले न्यून विवरण बुझाएर पूर्णरूपमा राजस्व छली गरेको स्रोतको दाबी छ ।

उद्योगको मुख्य सञ्चालकमा घनश्याम अग्रवाल रहेका छन् । पुस मसान्त आउनैलाग्दा अग्रवालको दौडधुप समेत व्यापक हुन थालेको छ । लामो समयदेखि राजस्व छलीमा तल्लीन रहेका उनीहरू हाल भने राजस्व अनुसन्धान विभागको निगरानीमा परेका छन् । निगरानीमा परेसँगै उनको दौडधुप बढेको उनी निकटका व्यवसायीले बताएका छन् । स्रोतका अनुसार उनै अग्रवालले विराटनगरको गुद्री बजारमा बुबा मुरारीलाल अग्रवालको नाममा पनि गणेश किराना भनी खाद्यान्नकै खुद्रा तथा होलसेलको व्यावसायिक कारोबार गर्ने गरेका छन् । गणेश किरानाको नाममा पनि आन्तरिक राजस्व कार्यालयबाट ३०१०२६५८५ मा मूल्य अभिवृद्धि करमा दर्ता कायम रहेको छ । तर उक्त व्यवसायलाई घनश्याम अग्रवालले मूअकर र आयकरमा मात्रै कारोबार विवरण बुझाउँदै आएका छन् ।

उक्त कारोबारमा पनि अग्रवालले दुई करोडको मात्रै वार्षिक कारोबार देखाएर अत्यन्तै न्यून राजस्व बुझाउँदै आएको पाइएको छ । विराटनगरमा ठूला उद्योगीभन्दा साना व्यवसायीबाट व्यापक राजस्व छली हुुँदै आएको निष्कर्ष आन्तरिक राजस्व कार्यालयको छ । सोही निष्कर्षअनुसार नै चालू आर्थिक वर्षको पुस मसान्तलाई ध्यानमा राखी पछिल्लो समय आराका राजस्व छली र कारोबार विवरण लुकाउने माथि कठोर निर्णय गर्ने मनस्थितिमा पुगेको राजस्व स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया