Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘अर्थतन्त्रमा सुधार छैन’

‘अर्थतन्त्रमा सुधार छैन’

निजी क्षेत्रको सर्वेक्षण सार्वजनिक


काठमाडौं । करिब दुई वर्ष मन्दीमा रहेको अर्थतन्त्रमा केही महिनायता सुधार आएको सरकारी तथ्यांकहरूबाट देखिन्छ । मूल्यवृद्धि, शोधनान्तर खाता, रेमिट्यान्स, विदेशी विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको छ । सरकारले पनि अर्थतन्त्रमा सुधार हुँदै गएको बताउँदै आएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गर्दै आएका छन् । गतसाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको प्रगति सुनाउँदै अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको दाबी गरेका थिए । सरकारबाट प्रस्तुत भएका तथ्यांकले आर्थतन्त्रमा सुधार आएको भनिए पनि नागरिकले अनुभूति गर्न भने पाएका छैनन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको एक सर्वेक्षणले पनि अर्थतन्त्रबारे सरकारी सूचकलाई गलत देखाएको छ । परिसंघले आफ्ना करिब एक सय सदस्यमा गरेको सर्वेक्षणको नतिजा सोमबार सार्वजनिक गर्दै अझै पनि बजारमा माग नभएको देखाएको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले सकारात्मक सूचक मात्रै सार्वजनिक गरेर अर्थतन्त्रमा सुधार भएको दाबी गरिरहेको आरोप लगाए । उनले सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को त्रैमासिक तथ्यांक सार्वजनिक नगरी अर्थतन्त्रमा सुधार आएकोे भन्न नपाउने बताए । सीएनआईको सर्वेक्षणले बजारमा समग्र माग ३६ दशमलव ९३ प्रतिशतले घटेको देखाएको । माग घट्नु भनेको उपभोग घट्नु हो । जसले उत्पादन प्रभावित हुन्छ र कुल गार्हस्थ्य उत्पादनमा असर पर्छ । बजारमा मागमा संकुचन आएपछि ५४ प्रतिशित उद्योगी व्यवसायीले व्यवसाय विस्तारको योजना त्यागेको परिसंघको सर्वेक्षणले देखाएको छ ।

परिसंघले आर्थिक वर्ष २०७९/८० मा पनि यस्तै सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको दोस्रो संस्करणका रूपमा यस वर्ष पनि पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो । सर्वेक्षणले कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको, आयातमा गिरावट आएको देखाएको छ । औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८ दशमलव २८ प्रतिशतले ह्रास आएकोमा भने चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा थप १२ दशमलव शून्य छ प्रतिशतले गिरावट आएको देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६ दशमलव ९३ प्रतिशतले संकुचन आएको छ । यसैगरी उद्योगहरूको कारोबार रकम गतवर्ष २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालू आर्थिक वर्षको समान अवधिमा थप सात दशमलव ४६ प्रतिशतले घटेको देखाएकोे छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा उद्योगहरूको कारोबार ३० दशमलव ५४ प्रतिशतले खुम्चिएको छ ।

अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी–व्यवसायीको मनोबल कमजोर बनेको थियो, जुन चालू आर्थिक वर्ष समेत यथावत् रहेको देखिएको छ । सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको बताएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको देखिन्छ ।

क्षेत्रगतरूपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाएअनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप सात दशमलव ३६ प्रतिशतले संकुचन आएको छ । गतवर्षको सोही समयमा यो ४० दशमलव १७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कुल ४४ दशमलव ५७ प्रतिशतले गिरावट आएको देखिन्छ ।

सिमेन्ट उद्योगको कारोबार रकममा गतवर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा थप नौ दशमलव ५४ प्रतिशतले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कुल ४४ दशमलव ८२ प्रतिशतले संकुचन आएको देखिएको छ ।

परिसंघको सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा ८३ दशमलव ३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ दशमलव ५ प्रतिशतले लगानी योजना स्थगित गरेका छन् ।

निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६ दशमलव २ प्रतिशले घटेको जनाएका छन् । गतवर्ष सोही अवधिमा यो ४३ दशमलव ४३ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२ दशमलव ५९ प्रतिशतले संकुचन आएको पाइएको छ । यस क्षेत्रका उद्योगहरूको कारोबार रकम गतवर्ष ४३ दशमलव ७१ प्रतिशतले घटेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा थप २० दशमलव ८ प्रतिशतले घटेको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कुल ५५ दशमलव ४२ प्रतिशतले संकुचन आएको देखिएको छ । यस्तै यस क्षेत्रका उद्योगीहरूले ३३ दशमलव ३३ प्रतिशतले लगानी स्थगित गरेका छन् । गतवर्ष ५३ दशमलव ८५ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए ।

गतवर्षको पहिलो त्रैमासमा एफएमसीजी क्षेत्रको माग दुई दशमलव ५ प्रतिशतले बढेको थियो । तर, यस वर्ष १७ दशमलव ७ प्रतिशतले गिरावट आएको देखिएको सर्वेक्षणले देखाएको छ । यसरी अघिल्लो वर्ष सकारात्मक रहेको यो क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५ दशमलव ६४ प्रतिशतले संकुचन आएको देखिएको छ । यस क्षेत्रको कारोबार गतवर्ष १२ दशमलव २५ प्रतिशतले बढेकोमा यस वर्षको पहिलो तीन महिनामा १८ दशमलव ५ प्रतिशतले घटेको देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा आठ दशमलव ५२ प्रतिशतले संकुचन आएको छ । सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाशमा ४१ दशमलव ६७ प्रतिशत यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा यस क्षेत्रमा ५० प्रतिशत व्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएका छन् । परिसंघले एक सयवटा उद्योगमा गरिएको सर्वेक्षणका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया