Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबुटवल उपमहानगरलाई हस्तान्तरण हुँदै जितगढी किल्ला

बुटवल उपमहानगरलाई हस्तान्तरण हुँदै जितगढी किल्ला


लुम्बिनी । बुटवलको ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउँदै छन् ।

राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

ऐतिहासिक महत्वको भएर पनि दशकौंसम्म संरक्षणको अभावमा खण्डहर बनेको किल्लाको संरक्षणको लागि २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन् गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो ।

बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउने जनाइएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले सो कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । किल्लाको संरक्षण र पुनःनिर्माणपश्चात् सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताए ।

गरुड दलका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले किल्ला क्षेत्रमा सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया