Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोजगारदाता र विद्युत् प्राधिकरणको द्वन्द्वका कारण श्रमिक मारमा

रोजगारदाता र विद्युत् प्राधिकरणको द्वन्द्वका कारण श्रमिक मारमा


काठमाडौं । रोजगारदाता र नेपाल विद्युत् प्राधिकरणको द्वन्द्वका कारण हजारौँ श्रमिक मारमा परेको नेपाल धागो उत्पादक संघले जनाएको छ । ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादका कारण प्राधिकरणले उद्योगहरूको बिजुलीको लाइन काटेर हजारौँ मजदुरको पेटमा लात हानेको संघको आरोप छ ।

संघका अनुसार नेपालका स्पिनिङ मिलमध्ये दुई स्पिनिङ मिल्सको प्राधिकरणले विद्युत्को लाइन काटिदिएको छ । आफू कार्यरत उद्योगमा प्राधिकरणले बिजुलीको लाइन काटिदिएर उद्योग बन्द भएपछि श्रमिकहरू आन्दोलनमा उत्रिएका छन् । रोजगारदाता र प्राधिकरणको द्वन्द्वका कारण श्रमिकलाई मारमा पार्न नहुने भन्दै उनीहरूले तत्काल श्रमिकको रोजगारीको ग्यारेन्टी गर्न माग गरेका छन् । सरकारको निर्देशनमा उद्योगमा कार्यरत मजदुरको ख्यालै नगरी प्राधिकरणले बिजुलीको लाइन काट्दा करिब छ हजार श्रमिककको रोजगारी गुमेको उनीहरूको आरोप छ ।

सरकारले पुस ६ गतेबाट स्पिनिङ मिल्सको लाइन काटेको थियो । नेपाल धागो उत्पादक संघले एक विज्ञप्ति जारी गरी बिजुलीको लाइन काट्दा उद्योगी र श्रमिक दुवै मारमा परेकाले तत्काल उद्योग सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । सरकारले बिजुलीको लाइन काटिदिएपछि तत्काल उद्योग चल्ने -नचल्ने टुङ्गो छैन । संघका अनुसार उद्योगहरूले दूरदराजका गाउँ–गाउँबाट पिछडिएका वर्गलाई छ महिना तालिम दिएर दक्ष जनशक्ति तयार पारेका थिए । उद्योग बन्द भएपछि कतिपय श्रमिक अलपत्र परेका छन् भने एक हजारले जागिर नै छाडिसकेका छन् । यसको असर श्रमिकसँगै उनीहरू आश्रित परिवारको चुलोसम्म नै पुगेको संघले जनाएको छ ।

यस्तै, संघले हाल जागिर छाडेर गएका एक हजार दक्ष जनशक्ति तयार पार्न अर्को छ महिना लाग्ने र १० करोड रुपैयाँ खर्च हुने उल्लेख गरेको छ । सो अवधिमा उत्पादन पनि न्यून हुने संघले जनाएको छ । संघका अनुसार दैनिक छ करोडको धागो उत्पादन तथा निर्यात हुँदै आएकोमा विद्युत् लाइन काटिएपछि विदेशबाट उद्योगका अर्डरहरू धमाधम क्यान्सिल हुन थालेका छन् । अब उद्योग सञ्चालनमा आए पनि यस वर्ष पाँच अर्ब रुपैयाँको पनि धागो निर्यात नहुने अवस्था सिर्जना भएको संघको दाबी छ ।

छलफलबाट टुङ्ग्याउन सकिने ट्रंक र डेडिकेटेड लाइनको महसुल विवाद निकालेर सरकारले हजारौँ मजदुरको पेटमा लात हानेको संघको आरोप छ । आन्दोलनमा उत्रिएका कर्मचारीलाई काममा फर्काउने वातावरण मिलाउन तत्काल उद्योग खोल्न सरकारले वातारण मिलाउनुपर्ने संघको माग छ । सरकारले उद्योगको विद्युत् लाइन काटिदिँदा मजदुरको रोजीरोटीसँगै दैनिक ७८ लाख रुपैयाँ बराबरको राजस्व समेत गुमेको संघको भनाइ छ । यस्तै, नेपालमा सञ्चालित ढाका, होजियारी, टेक्सटायल उद्योगहरूमा समेत धागोको अभाव सिर्जना भएको छ । उद्योग बन्द नेपाली बजारमा विदेशी धागोको मूल्य समेत वृद्धि भएको संघले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया