Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाजाका कम्तीमा आधा भवनहरूमा क्षति पुगेको वा ध्वस्त भएको देखाउने नयाँ विश्लेषण

गाजाका कम्तीमा आधा भवनहरूमा क्षति पुगेको वा ध्वस्त भएको देखाउने नयाँ विश्लेषण


काठमाडौं,बीबीसी भेरिफाईले हेरेको एउटा नयाँ विश्लेषणबाट हमासले अक्टोबर ७ मा गरेको आक्रमणयता इजरेलको जबाफी हमलाका क्रममा गाजामा आधाभन्दा बढी भवनहरू क्षतिग्रस्त भएको वा ध्वस्त भएको देखिएको छ।

हमलाअघि र पछिका विस्तृत तस्बिरहरूले डिसेम्बरको सुरु यता कसरी दक्षिणी र मध्य गाजामा बमबारी चर्किएको छ भनेर देखाउँछ। इजरेलको सैन्य कारबाहीले खान यूनिस सहरको धेरैजसो भागमा क्षति पुर्‍याएको छ।

इजरेलले गाजाका मानिसहरूलाई उनीहरूकै सुरक्षाका लागि भन्दै बारम्बार दक्षिणतिर जानका लागि भनेको छ।

गाजाभरि नै आवासीय क्षत्र भताभुङ्ग पारिएको छ। विगतमा व्यस्त बजार रहेको क्षेत्र भग्नावशेषमा परिणत भएको छ, विश्वविद्यालय ध्वस्त पारिएको छ, खेतीयोग्य जमिनमा क्षति पुर्‍याइएको छ, दक्षिणी सीमामा बन्दै गएका पालका सहर घरबारविहीन बन्न पुगेका मानिसहरूका आश्रयस्थल बनिरहेका छन्।
गाजाको जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढी करिब १७ लाख मानिसहरू विस्थापित भएका छन् र संयुक्त राष्ट्रसङ्घका अनुसार तीमध्ये करिब आधा मानिसको भिड गाजाको दक्षिणी भागमा रहेको छ।

बीबीसी भेरिफाईले गरेको थप विश्लेषणले खेतीयोग्य जमिनमा पुगेको क्षति कुन मात्रामा भएको छ भन्ने खुलासा गरेको छ र त्यसले थुप्रै क्षेत्रमा गरेको वृहत् क्षतिको पनि पहिचान गरेको छ।

इजरेलको रक्षा बल अर्थात् इजरेल डिफेन्स फोर्सेस(आइडीएफ)ले क्षतिको मात्राबारे प्रश्न सोध्दा उसले हमासका लडाकु र “आतङ्कवादी भौतिक संरचना” दुवैलाई निशाना बनाएको छ।

बीबीसीले प्राप्त गरेको भूउपग्रहको तथ्याङ्क विश्लेषणले क्षति कुन हदसम्म भएको छ भन्ने यथार्थ चित्रण गरेको छ। उक्त विश्लेषण अनुसार पूरै गाजा क्षेत्रमा १४४,००० देखि १७५,००० भवनहरूमा क्षति पुगेको छ वा ध्वस्त भएका छन्। त्यो भनेको गाजामा भएका भवनहरूको ५० देखि ६१ प्रतिशत हो।

सिटी युनिभर्सिटी अफ न्यू योर्कका कोरी स्केर र ओरेगन स्टेट युनिभर्सिटीका जामोन भान डेन होकले स्याटेलाइट तथ्याङ्कको विश्लेषण गरेका हुन्। उक्त विश्लेषणमा भवनको संरचना र उचाइमा आएको परिवर्तनो तुलना गरिएको छ जसले क्षतिको सङ्केत गर्छन्।
क्षति दक्षिणतर्फ सर्दै
विश्लेषणका अनुसार हालैका सातामा खासगरी दक्षिणी सहर खान यूनिसमा नराम्ररी क्षति पुगेको छ।

त्यहाँ ३८,००० अर्थात् ४६ प्रतिशतभन्दा बढी भवनहरूमा क्षति पुगेको छ वा ध्वस्त भएका छन्। विगत १५ दिनमा त्यहाँ १,५०० भन्दा बढी भवनहरूमा क्षति पुगेको छ वा ध्वस्त भएका छन्।

सहरको केन्द्रमा रहेको उक्त क्षेत्रकै सबैभन्दा अग्लो १६ तले आवासीय भवन अल-फरा टावर ज्यानुअरी ९ मा ध्वस्त भयो र गर्ल्यामगुर्लुम ढल्यो। उक्त भवनको अघि र पछिको तस्बिरमा ध्वस्त भएको देख्न सकिन्छ।

उक्त भवन ढलेको छिमेकका धेरै स्थानमा डिसेम्बरको महिनाको अन्त्यतिर देखि यता गरिएका हमलाले अन्य भवनहरू पनि ध्वस्त भएका छन्।
“इजरेली फौजहरूले खासगरी खान यूनिसको सहरी भेगका आवासीय भवनहरूलाई लक्षित गरेका छन्,” एक २० बर्षे बासिन्दा रवान कदाहले भनिन्। उनी विस्थापित भएकी छन् र उनको परिवारसँगको सम्पर्क पनि टुटेको छ।

क्षति पुगेका धेरै भवनहरूमध्ये विद्यालयहरू पनि रहेको उनले बताइन्। तीमध्ये केही विद्यालयहरू अहिले विस्थापित मानिसलाई अस्थायी रूपमा राख्न प्रयोग गरिएको छ।
उक्त क्षेत्रमा कुन तहको क्षति पुगेको छ भन्ने त्यहीँ सडकको तहबाट स्पष्ट देख्न सकिन्छ। कुनै बेलाको व्यस्त सडक अहिले क्षतिग्रस्त छ वा परित्यक्त जस्तै छ।

यी तस्बिरहरूले इजरेलको आक्रमण अगाडि शवर्मा सनाबेल रेस्टुराँको सामुन्नेको भाग कस्तो थियो र कसरी त्यही रेस्टुराँ रहेको ठाउँ ज्यानुअरीमा उक्त क्षेत्रमा भएको आक्रामक बमबारीपछि कस्तो बन्न पुग्यो भन्ने देखाउँछ।

खान यूनिसमा क्षति पुगेको भवन
आइडीएफले हमासले जानाजान आफूलाई सर्वसाधारणहरू रहेको क्षेत्रमा कारबाहीहरू गर्न उक्साएको भन्दै आफ्नो बचाउ गरेको छ र लडाकुहरूलाई लक्षित गर्दा भवनहरूमा क्षति पुगेको जनाएको छ। तर आइडीएफकै नियन्त्रणमा रहेको क्षेत्रमा रहेको भवनहरूमा पनि क्षति पुगेकोबारे प्रश्नहरू गरिएका छन्।

एउटा उदाहरण भनेको उत्तरी गाजामा रहेको इस्रा विश्वविद्यालय हो जसमा सुरुमा नराम्ररी क्षति पुगेको थियो र पछि एउटा ठूलो र नियन्त्रित जस्तो देखिने विस्फोटनमा पूर्ण रूपमा ध्वस्त भयो। उक्त विश्वविद्यालय ध्वस्त भएको भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा शेअर गरिएको थियो र आइडीएफले विस्फोटनका लागि दिइएको स्वीकृति प्रक्रियाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

गाजामा ७ औँ शताब्दीमा बनेको अल-ओमारी मस्जिदलगायत थुप्रै ऐतिहासिक क्षेत्रमा पनि व्यापक क्षति पुगेको छ।

गाजामा भएको क्षतिबारे अध्ययन गरेका एक प्राज्ञ श्केयरले अन्य युद्ध क्षेत्रको तुलनामा गाजाको क्षति निकै फरक रहेको विश्लेषण गरेका छन्।

“हामीले युक्रेनबारे, अलेपो र अन्य सहरबारे काम गरेका छौँ तर यहाँ क्षतिको गति र मात्रा उल्लेख्य छ। मैले यति छिटै यति धेरै क्षति भएको कहिल्यै देखेको थिइनँ।”

गाजाका खेतमा क्षति
बीबीसी भेरिफाइले गरेको थप विश्लेषणमा गाजाभरि विगतमा खेती लगाइएका जमिनको ठूलो हिस्सामा धेरै क्षति पुगेको देखिएको छ।

तपाईँले भूउपग्रहबाट खिचिएका तस्बिरमा इजरेलले गरेको बमबारीको असरहरू देख्न सक्नुहुन्छ।
युद्ध सुरु हुनुभन्दा अगाडिदेखि नै गाजा आयातमा निर्भर भए पनि धेरैजसो खाद्यान्न गाजाभित्रै हुने खेती र उत्पादनबाट आउँथ्यो। सहायता निकायहरूले गाजाको आधा जनसङ्ख्याले अहिले भोकमरीको सामना गरिरहेको बताएका छन्।

बीबीसी अरेबिकले एक जना किसान साइदसँग कुरा गरेको छ जो नोभेम्बरको मध्यतिर उत्तरी क्षेत्रबाट दक्षिणतर्फ भागेर गएका थिए।

३३ वर्षीय उनले अम्बा, अञ्जीर, कागती, सुन्तला, पुदिना र तुलसी फलाउँथे र वर्षको करिब ६,००० डलर कमाउँथे। त्यो नै उनको, उनकी बहिनी र उनका पिताको एक्लो आम्दानीको स्रोत थियो।

उनी आफ्ना हजुरबा हजुरआमाबाट प्राप्त उक्त खेतमा १५ वर्षदेखि कार्यरत थिए।

तर उनका आफन्तले उनलाई बताए अनुसार उनी दक्षिणतर्फ भागेको केही दिनपछि उक्त खेती र छिमेकमा रहेका पाँचजना नातेदारको घर आइडीएफले ध्वस्त पारिदिएको छ।

युद्धअगाडि धेरै कृषिकार्य हुने गाजाको केन्द्र र उत्तरका धेरै जमिनमा क्षति पुगेको छ।

कैयौँ स्थानमा इजरेली सुरक्षाकर्मीका लागि निर्माण गरिएका संरचना, बख्तरबन्द बाहनको रक्षाका लागि बनाइएका संरचना र वरिपरिका जमिन खाली गराइएको देखिन्छ।
गाजाको डेर अल-बालाका किसान मोहमद अल-मेसाद्दर युद्ध सुरु भएयता केवल एक पटकमात्रै आफ्नो खेतमा जान सकेका छन्।

नोभेम्बरमा युद्ध विरामका बेला उनी पुग्दा सुन्तलाहरू खेतभरि छरिएका र बिग्रिएका थिए।

“सुन्तला टिप्ने र युद्ध सुरु हुने बेला एकै पटक पर्‍यो। कसैले पनि त्यहाँ पुग्ने हिम्मत गरेनन्।”

उनले आफूले आफ्नो ९० प्रतिशतभन्दा बढी सुन्तला गुमाएको बताए।

सडकमा लगाइएको बुलडोजर र भवनमा पुगेको क्षतिबाहेक जानाजान क्षति पुर्‍याएको आरोप पनि आइडीएफलाई लगाइएको छ।
नोभेम्बर ४ तारिखमा अनलाइनमा पोस्ट गरिएको भिडिओमा सिभिल एडमिनिस्ट्रेसनका उपप्रमुख कर्नेल योगेभ बार-शेस्टले अन्तर्वार्तामा भने: “जो पनि यहाँ फर्किन्छ, यहाँ पछि फर्किन्छ भने पनि उसले डढेको माटो भेट्छ। कुनै घर, कृषि केही रहने छैन। उनीहरूको भविष्य छैन।”

आइडीएफले हामीलाई उसले हमासको सुरुङ प्रवेशद्वारहरू र रकेट प्रहार गर्ने क्षेत्रहरू कैयौँ कृषियोग्य क्षेत्रहरूमा भेटेको बताएको छ। आइडीएफले थप भनेको छ, “यस्ता क्षेत्रहरूमा हमला हुन वा ध्वस्त हुन आवश्यक छ।”

“लडाइँ र हमलाको परिणामस्वरूप वातावरणमा क्षति पुग्न सक्नेछ।”

गाजाको कृषियोग्य क्षेत्रमा पुगेको क्षति दिगो हुनसक्ने भन्दै सहायता विज्ञहरूले त्रास व्यक्त गरेका छन्।

सिरिया र युक्रेनमा भएका विगतका द्वन्द्वले जमिन पुनर्स्थापना कति कठिन हुन्छ भन्ने देखाएका छन्।

विस्फोटन नभएका हतियारहरूका कारण किसानहरू काममा फर्कन पनि खतराजन्य भएको छ।

प्रदूषित जमिन सफा गर्ने चुनौती पनि रहेको छ। पानी, ऊर्जा र यातायात प्रणालीको पुनर्निर्माणको चुनौती पनि छ।

पालको सहर देखा पर्दै
गाजामा आकाशबाट देखिने अर्को परिवर्तन भनेको पाल र अन्य अस्थायी संरचनाको वृद्धि हो जुन मानिसहरू विस्थापित भएर दक्षिणमा गएसँगै बढेको छ।

डिसेम्बरको सुरु र ज्यानुअरीको मध्यसम्ममा इजिप्टसँगको सीमा नजिकै नयाँ पालहरू हालिएका क्षेत्र धेरै देखिएका छन् जसले करिब साढे तीन वर्ग किलोमिटर बराबरको क्षेत्र ‌ओगटेको छ। त्यो भनेको करिब ५०० वटा प्रिमियर लीग खेल्न पुग्ने मैदान बराबर हो।

डिसेम्बर ३ र ज्यानुअरी १४ मा लिइएका भूउपग्रहका तस्बिरले नाटकीय परिवर्तन देखाउँछन्। उत्तर पश्चिम रफाहस्थित कुनै काम भइनसकेको जमिन विस्थापित मानिसहरूका लागि शरण दिने ठाउँ बनेको छ।

हमासविरुद्धको कारबाहीका क्रममा इजरेलले प्यालेस्टिनीलाई उनीहरूकै सुरक्षाका लागि भन्दै गाजाको उत्तर र केन्द्र भागबाट दक्षिणतर्फ जानका लागि भनेका थिए।

धेरै मानिस रफाहमै बसेका छन् र उनका सामुन्ने अनिश्चित भविष्य छ।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया