Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशभारतले हटायो नेपाली प्लाइउड निकासीको अवरोध

भारतले हटायो नेपाली प्लाइउड निकासीको अवरोध


विराटनगर । भारत सरकारले नेपाली प्लाइउड निकासीको अवरोध हटाएको छ । भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्दै अवरोध हटाएको जानकारी दिएको छ ।

आगामी एक वर्षसम्म नेपालबाट निर्यात हुने प्लाइउडका सामग्रीमा बीआईएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) आदेश जारी नहुने राजपत्रमा उल्लेख छ । अब नेपाली प्लाइउड निकासीको अवरोध अन्त्य भएसँगै सुुनसरी मोरंग औद्योगिक करिडोरका प्लाइउड उद्योगीहरू हर्षित भएका छन् । भारतीय उद्योग तथा वाणिज्य मन्त्रालयको राजपत्रअनुसार ठूला उद्योगका नाममा सन् २०२५ फेब्रुअरी २८ देखि मात्र गुणस्तर चिह्नसम्बन्धी आदेश लागू हुनेछ । यसैगरी साना तथा मझौला उद्योगका हकमा २०२५ को मई २८ र लघु उद्योगका नाममा २०२५ को अगस्त २८ देखि यस्तो आदेश लागू हुनेछ । सो व्यवस्थासँगै नेपाल र भारतबीच प्लाइउडको व्यावसायिक कारोबार निर्वाधरूपमा चल्ने करिडोरका उद्योगीको भनाइ छ ।

यहाँका प्लाइउड उद्योगीका अनुुसार नेपालवाट भारततर्फ प्लाइउड, प्लाइबोर्ड र प्लाइका ढोका निकासी हुँदै आएको छ । अब यी तीनवटै वस्तुको निकासीमा अवरोध नहुुने जानकारी पनि भारतीय उद्योग तथा वाणिज्य मन्त्रालयले दिएको छ । नेपालबाट ६० प्रतिशत प्लाइउड, २०–२० प्रतिशत बोर्ड र ढोका भारततर्फ निकासी हुँदै आएको छ । भारतीय केन्द्रीय सरकारले जारी गरेको राजपत्र भारतीय भन्सारमा आइपुगेपछि अवरुद्ध निकासीले सुचारु पाउने नेपाली उद्योगीको विश्वास छ ।

नेपाल र भारतबीच सन् २००१ मा भएको व्यापारिक सन्धिबमोजिम नेपालबाट भारततर्फ निर्यात हुने प्लाइउडलाई भारतीय पक्षले रोक्न मिल्दैन । सन्धिमा नेपालका लघु, साना तथा मझौला उद्योगलाई भारतले पनि लघु, साना तथा मझौला उद्योगका रूपमा मान्यता दिने उल्लेख गरिएको छ । पछिल्लो समय भारतीय भन्सारका कर्मचारीले सन्धिको मर्मलाई नबुझ्दा प्लाइउड निकासी तीन सातासम्म अवरुद्ध भएको थियो तर अब सुरु हुने उद्योगीहरूको विश्वास छ ।

करिब ७० प्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित नेपालमा ७५ वटा प्लाइ उद्योग सञ्चालनमा छन् । तीमध्ये कोशी प्रदेशमा ३४ वटा छन् । ३४ वटा उद्योगले चालू वर्षको माघसम्ममा साढे चार अर्ब मूल्य बराबरको प्लाइउड निकासी गरेको विराटनगर भन्सार स्रोतले बताएको छ । गत वर्ष यही अवधिमा दुई अर्ब १६ करोडको प्लाइउड निकासी भएको थियो । गत आर्थिक वर्षमा चार अर्ब ७० करोड ५२ लाख मूल्य बराबरको प्लाइउड निकासी भएको पनि भन्सार स्रोतले बताएको छ । भारतले अवरोध नगरे यस वर्ष आठ अर्ब मूल्य बराबरको प्लाइउड निकासी गर्ने लक्ष्य भन्सार विभागले लिएको छ ।

काठको पत्ता (भेनियर) बाट तयार पारिने प्लाइउड खासगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउन प्रयोग गरिन्छ । यो नरम प्रजातिका र छिटो वृद्धि हुने कुकाठ, उत्तीस, कदम, आँपलगायतका प्रजातिका रुखबाट उत्पादन गरिन्छ । यहाँ उत्पादित प्लाइउड भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशलगायतका जिल्लामा धेरै खपत हुने गरेको भनाइ सुुनसरी मोरंग औद्योगिक कोरिडोरका प्लाइउड उद्योगीको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया