Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द

बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द

अख्तियार, शिक्षा मन्त्रालय र महानगरको रहस्यमय मौनता


काठमाडौं । नेपाल बाल संगठनले बृहस्पति विद्या सदनलाई ८२ वर्षका लागि बाल मन्दिरको २९ रोपनी चार आना जग्गा लिजमा दिने आफ्नै सम्झौता खारेज गरेको छ ।

संगठनको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विसं २१३१ सालसम्म सस्तो भाडादरमा दिनेगरी भएको सम्झौता खारेज गरेको हो ।

अपारदर्शी लेनदेनकै लागि मिलेमतोमा सस्तोमा जग्गा भाडामा दिएको समाचारहरू आइरहँदा समेत छानबिन गर्नुपर्ने निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं महानगरपालिका र संघीय शिक्षा मन्त्रालयको रहस्यमय मौनता रहनु अर्थपूर्ण मानिँदै आएको छ ।

सेटिङमा भएको आरोप लागेको जग्गा भाडाको विषयमा सरकारले कुनै एक निकायमार्फत मात्र पनि छानबिन गरेको भए यसले जग्गा सस्तोमा दिएको सम्झौता गरेर महँगो पैसा उठाइरहेकाहरूको समेत छानबिन हुनेथियो तर विशाल गु्रपको संलग्नता रहेको यस बृहस्पति विद्या सदनको विषयमा कुनै पनि निकायमार्फत छानबिन नहुँदा संगठनले भ्रष्टाचार र छानबिनबाट उम्कन अन्ततः आफूले गरेको सम्झौता आफैँले खारेज गरेको हो ।

संगठनमा रितासिंह वैद्य अध्यक्ष भएपछि संदिग्धरूपमा बृहस्पतिलाई लिजमा छिराइएको थियो भने त्यसपछि विभिन्न मितिमा जग्गा बृहस्पतिलाई सुम्पिने क्रम जारी राखेकोमा २०७२ मा उनै वैद्यले बृहस्पतिलाई दिएको जग्गाको परिमाण २९ रोपनी ४ आना पुर्याएकी थिइन् भने सोको सम्झौता सुरुदेखि गणना हुँदा ९० वर्ष रहने गरी २१३१ सम्म कायम राख्ने निर्णय गरेकी थिइन् ।

वैद्यसहितका पदाधिकारी तथा स्वार्थ समूहको मिलेमतोमा २९ रोपनी जग्गा वार्षिक ९० लाख रुपैयाँ भाडा बुझाउने गरी विनाप्रतिस्पर्धा बृहस्पतिले लिजमा पाएपछि एउटै व्यवस्थापनबाट सञ्चालन हुनेगरी भारतीय शिक्षा बोर्डअन्तर्गत सञ्चालित राय स्कुललाई भित्र्याएर पाँच रोपनी जग्गा ६० लाखमा सबलिजमा लगाएको थियो ।

अन्य आयस्रोतको विकल्प नहुँदा सम्झौता खारेज गर्न नसकिएकोमा अहिले काठमाडौं महानगरपालिकालगायतका निकायहरूले आर्थिक सहयोगको प्रतिबद्धता दिएपछि विवादास्पद लिज सम्झौता खारेज गरिएको संगठनले जनाएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेरकी पत्नी सीताका नामबाट बनाइएको दरबार २०२१ मंसिर १७ मा अधिग्रहण गरी असहाय बालबालिकाको हकहित र उनीहरूको रेखदेख गर्न केन्द्रीय बालकल्याण समितिको स्वामित्वमा राखिएको थियो । राणाकालमा ‘टंगाल दरबार’ भनिने ‘सीता भवन’ अहिले बाल मन्दिरका रूपमा चिनिन्छ । गृह मन्त्रालयको अभिलेखअनुसार सीता भवनको एक सय १९ रोपनी १२ आना तीन पैसा जग्गा अधिग्रहण गरी बाल संगठनका नाममा राखिएको थियो ।

त्यसमध्ये पाँच रोपनी जग्गा केन्द्रीय बहिरा माध्यमिक विद्यालय, दुई रोपनी अख्तियारको सवारी पार्किङ, महानगरीय प्रहरी वृत्त कमलपोखरीको पाँच रोपनी र ५० रोपनीभन्दा बढी जग्गा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई भोगाधिकार दिइएको छ । कित्ता नम्बर ७६० अन्तर्गतको चार रोपनी दुई आना जग्गा शिक्षा मन्त्रालयद्वारा सञ्चालित पौष्टिक आहार कार्यक्रमले निःशुल्क प्रयोग गरिरहेको छ ।

त्यसबाहेक ५१ रोपनी तीन आना १३ पैसा बाल संगठनका नाममा छ भने त्यहीमध्येको २९ रोपनी चार आना जग्गा बृहस्पति विद्या सदनले भोगचलन गरिरहेको हो । बृहस्पतिले पछिल्लो पटक बाल मन्दिरको मूलद्वारभित्रबाट पर्खालसमेत भत्काएर बाटो विस्तार गरेको छ ।

विशाल ग्रुपद्वारा सञ्चालित बृहस्पति विद्या सदनले जल्ला लिजमा लिँदा बाल संगठनको लागि नयाँ भवन समेत बनाइदिने बताए पनि सो समेत नगरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया