Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल

नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल


काठमाडौँ । तेस्रो लगानी सम्मेलनको आइतबारदेखि सुरुभएको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीका सम्भावना रहेको र नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए । लगानी सम्मेलनको सह–आयोजक समेत रहेको नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै महासङ्घ अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतकाबीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने धारणा राखे ।

उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको र नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरे । हालै नेपाल सरकारले लगानीका लागि बाधक ठानिएका केही कानून संशोधन गरेको पनि बताए ।

अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्याउने बताए । उनले महासङ्घसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।

उनले भने “महासङ्घको पहलमा द्विपक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ ।”

उनले नेपाल उद्योग वाणिज्य महासङ्घले मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन निरन्तर पहल गरिरहेको पनि उल्लेख गरे । महासङ्को अगुवाईमा केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा ‘विजनेस समिट’को आयोजना गरेको उल्लेख गरे । उनले महासङ्घ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया