Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोजगारी र अध्ययनका लागि विदेश जान पाइने

रोजगारी र अध्ययनका लागि विदेश जान पाइने


प्रवीण राउत
काठमाडौं, असार ७
सरकारले वैदेशिक रोजगारी र उच्च शिक्षा प्राप्ति गर्नेहरुका लागि विदेश जान दिने भएको छ । कोभिड १९ व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)निर्देशक समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेको संयोजकत्वमा शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जान चाहने सदस्यहरुलाई कोभिड १९ को रिपोर्ट चाहिने भएमा जनस्वास्थ्य प्रोटोकल पालन गरी आवतजावत दिने निर्णय गरेको हो । सरकारले करिब गत फागुनको तेस्रो सातामा श्रम स्वीकृति स्थगन तथा विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) दिनको लागि रोक लगाएको थियो ।

वैदेशिक रोजगारीमा रही विदामा नेपाल आएका र नयाँ रोजगारीको लागि विदेश जाने श्रमिकहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा कोभिड १९ को रिपोर्ट चाहिने भएमा सो जाँच गर्दा लाग्ने खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने गरी प्रचलित जनस्वास्थ्य प्रोटोकल पालन गरी आवतजावत अनुमति दिने निर्णय केन्द्रले गरेको छ । त्यसैगरी विदेशस्थित नेपाली कूटनीतिक नियोगमा रहेका कर्मचारी तथा स्वदेशबाट जान चाहने कर्मचारीलाई समेत खुल्ला गरिएको छ ।

केन्द्रले विदेशस्थित नेपाली कूटनीतिक नियोगमा कार्यकाल समाप्त गरी स्वदेश फर्किने तथा नयाँ जिम्मेवारी सम्हाल्न जाने नियोग प्रमुखलगायत अन्य कर्मचारी र परिवारका निकट सदस्यहरु एवं नेपालमा सञ्चालित आयोजनामा खटिएका विदेशी नागरिकलाई परराष्ट्र मन्त्रालयको सिफारिसमा विदेश जान/आउन दिने भएको छ । उनीहरुले विदेश जान÷आउनको लागि भने कोभिड १९ को रिपोर्ट आवश्यक परेमा आफ्नै खर्चमा स्वास्थ्य जाँच गर्नुपर्ने बताइएको छ । शुक्रबारकै निर्णयमा वैदेशिक रोजगारीमा मृत्यु भएका शवको व्यवस्थापन समेत श्रम मन्त्रालयले गर्ने बताइएको छ ।

विदेशबाट ल्याइएका शवको व्यवस्थापनसम्बन्धी आवश्यक कार्य सरोकारावालाहरुको समन्वयमा श्रम मन्त्रालयले गर्नेछ भने कोभिड १९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन भने सम्बन्धित पक्षले पूर्वनिर्णयानुसार गर्ने भएको छ  । शव व्यवस्थापनको लागि सदरमुकामबाट टाढा रहेका स्थानमा जिल्लास्थित सीसीएमसी र स्थानीय तह सीसीएमसीसँगको समन्वय तथा सुरक्षा निकायको सहयोगमा सम्पन्न गर्ने बताइएको छ ।

यस्तै रकम अभावमा विदेशमा अलपत्र परेकालाई सरकारले स्वदेश ल्याउने भएको छ भने यसको जिम्मेवारी समेत श्रम मन्त्रालयलाई दिएको छ । सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीबाट खर्च नव्यहोर्ने अवस्था भई आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थामा परेका नेपाली नागरिकहरुको उद्धारको लागि सरोकारवालाहरुको समन्वयमा श्रम मन्त्रालयले तत्काल कार्यविधि बनाई कार्यान्वयन गर्ने केन्द्रले निर्देशन दिएको छ । श्रम मन्त्रालयले पछिल्लो समय विदेशमा रहेका नेपाली स्वदेश फिर्ता तथा शव समेत ल्याउने काम गरिरहेको छ । शुक्रबार मात्र कतारबाट २० जना, कुवेतबाट दुई जना, साउदी अरब र संयुक्त अरब इमिरेटस (युएई)बाट क्रमशः एक/एक जना गरी २४ जनाको शव नेपाल ल्याइएको थियो ।

केन्द्रले कोभिड १९ को संक्रमणको हालको अवस्था तथा संक्रमण दर र विदेशबाट आउने व्यक्तिको संख्या समेतलाई मध्यनजर गरी क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोेगशालाको क्षमता विस्तारका लागि समेत तत्कालका लागि कोरोना, रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड प्रदेश सरकारमार्फत सम्बन्धित पालिकालाई निकासा दिने समेत निर्णय गरेको छ । केन्द्रले बन्दाबन्दीलाई क्रमशः खुकुलो गर्दै जनजीवनलाई सहज बनाउँदै लगिएको र अर्कोतिर संक्रमण तीव्र रुपमा बढिरहेको भन्दै नागरिकहरुलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन, बाहिर निस्किनुपर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्न, भीडभाड नगर्न र भौतिक दूरी कायम गर्न समेत पुनः आह्वान गरेको छ ।

छ देशबाट ११ सय नेपाली स्वदेश फर्किए : खाडी, दक्षिण कोरिया र जापानलगायत छवटा मुलुकमा समस्यामा परेका ११ सयभन्दा धेरै नेपाली शनिबार स्वदेश फर्किएका छन् । एसियाली मुलुकहरु बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेटस (युएई), कुवेत, दक्षिण कोरिया र जापानमा रहेका एक हजार एक सय ९७ जना नेपाली फर्किएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जानकारी दिएको छ । त्यसैगरी मलेसिया र कुवेतबाट शनिबार नै क्रमशः ११ र दुई जनाको शव समेत ल्याइएको छ ।

केन्द्रका अनुसार स्वदेश फर्किनेमा सबैभन्दा बढी जापान र सबैभन्दा कम बंगलादेशबाट रहेका छन् । जापानबाट दुई सय ५० जना तथा बंगलादेशबाट एक सय ५५ जना, कोरियाबाट दुई सय २८ जना, कुवेतबाट एक सय ५० जना, युएईबाट एक सय ६९ जना र मलेसियाबाट दुई सय ४५ शनिबार स्वदेश फर्किएका हुन् । दक्षिण कोरिया, कुवेत र बंगलादेशमा रहेका सातवटै प्रदेशका नागरिकहरु स्वदेश फर्किएको केन्द्रले जनाएको छ ।

प्रदेश नम्बर १ का ५१ जना, प्रदेश नम्बर २ का २४ जना, वाग्मती प्रदेशका ६९ जना, प्रदेश ५ नम्बरका ३६ जना, कर्णाली प्रदेशका तीन जना, सुदूरपश्चिम प्रदेशका १० जना गरी दुई सय २८ जना नागरिक दक्षिण कोरियाबाट फर्किएका हुन् भने कुवेत र बंगलादेशबाट प्रदेश नं १ का क्रमशः ५०/२३ जना, प्रदेश नं २ का ८/४४ जना, वाग्मती ४३/५३ जना, गण्डकीका ७/११ जना, प्रदेश नं ५ का ३३/१५ जना, कर्णालीका ७/३ जना, सुदुरपश्चिमका ४÷६ जना गरी क्रमशः एक सय ५०/एक सय ५५ जना नागरिक स्वदेश फर्किएका हुन् ।

विदेशस्थित नियोगहरुले कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितिका कारण स्वदेश फर्किनैपर्ने नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७ मा तोकिएको प्रावधानअनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजनाअनुरुप नागरिकहरु स्वदेश ल्याएको हो । यस्तै वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका ४० शव स्वदेश ल्याइएको बताएको छ । कतारबाट २०, कुवेतबाट ६, साउदी अरब, युएई, ओमानबाट क्रमशः एक/एक वटा शव ल्याई परिवारलाई बुझाइएको जनाएको छ भने अझै एक सय ६४ वटा शव ल्याउन बाँकी रहेको बोर्डको भनाइ छ ।

उनीहरु कोरियन एयरको विमान केई र नेपाल एयरलायन्सलगायतको विमानबाट स्वदेश फर्किएको नागरिक उड्डयान प्राधिकरणले जनाएको छ । यस्तै कोरियामा समस्या परेका नेपालीलाई स्वदेश ल्याएको कोरियन एयरको विमान केइले नेपाली कामदारलाई कोरिया समेत लगेको गैरआवासीय नेपाल संघ कोरियाले जनाएको छ । विशेष गरी कोरियामा काम गर्दै आएका र पछिल्लो समय नेपाल आएका युवाहरु सो विमानमार्फत कोरिया गएका हुन् । कोरियाले नेपालबाट कामदार लैजान खोजे पनि हवाइ उडान बन्द हुँदा सम्भव हुनसकेको छैन । करिब सात हजार युवा कामको लागि कोरिया जान पाएका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया