Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व अनुसन्धानले पुरानो मुद्दाको फाइल झिक्दै

राजस्व अनुसन्धानले पुरानो मुद्दाको फाइल झिक्दै


विराटनगर, मंसिर २९
विराटनगर भन्सारमा कार्यरत भन्सार एजेन्टहरुलाई राजस्व अनुसन्धान कार्यलय इटहरी सुनसरीबाट चार वर्षअगाडि गरिएको पत्राचार प्रकरण अहिले आएर राजस्व अनुसन्धान विभागबाट पुनः ब्युँतिने भएपछि यसबेला विराटनगर भन्सार परिसरमा भन्सार एजेन्टका बीचमा हल्लीखल्ली मच्चिन थालेको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीबाट करिब चार वर्षअगाडि विराटनगर भन्सारका भन्सार एजेन्ट एवं सुरेस क्लियरिङ एण्ड फरवार्डिङका सुरेस बोहोरासहित भन्सार एजेन्ट प्रविन जोशी, चेतनाथ पौडेल, किशोर शाही र कमल सुब्बाका नाममा आवश्यक अनुसन्धान गर्न भनी आ–आफ्नो कारोबारको विवरणसहित उपस्थित हुन गरेको पत्राचार प्रकरण सेलाएको करिब चार वर्षपछि आएर फेरि राजस्व अनुसन्धान विभागबाट फायल सम्पत्ति शुद्धीकरणमार्फत छानबिन थाल्ने भएको छ । जसले गर्दा अहिले विराटनगर भन्सारका एजेन्टका बीचमा नै एक अर्काप्रति पोल खोलाखोल गर्ने काम सुरु भएको छ ।

माथि उल्लिखित भन्सार एजेन्टमा सुरेस क्लियरिङ एण्ड फरवार्डिङका सञ्चालक सुरेश बोहोरा दुई वर्षअगाडि विराटनगर भन्सारमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सुख्खा बन्दरगाहा शाखामा भन्सार राजस्व अपचलन मुद्दामा परेपछि उनको भन्सार एजेन्ट नै खारेजीमा परेको छ । बाँकी भन्सार एजेन्टहरु अहिले पनि विराटनगर भन्सारमा नै एजेन्टको रुपमा कार्यरत रहेको हुँदा यो भन्सार एजेन्टको सम्पत्ति छानबिनको मुद्दा राजस्व अनुसन्धान विभागलाई थप पेचिलो बन्नसक्ने अनुमान अहिले गर्न थालिएको छ ।

समाचार स्रोतका अनुसार त्यस बेला पनि सम्पत्ति शुद्धीकरणको निर्देशनमा राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान सुरु गरेपछि त्यस बेला शक्ति केन्द्रको दबाबमा विराटनगर भन्सारका भन्सार एजेन्टलाई सफाइ दिएर क्लिनचिट दिइएको रहस्य अहिले आएर खुल्न पुगेको छ । राजश्व अनुसन्धान विभागले पुनः अहिले विराटनगर भन्सारमा भन्सार एजेन्ट रही काम गरिहेकाहरुको सम्पत्ति शुद्धीकरणमार्फत छानबिन थाल्ने भएको चर्चासँगै एजेन्ट एजेन्टका बीच आरोप/प्रत्यारोप समेत चल्न थालेको बताइएको छ ।

भन्सार एजेन्ट भन्सार ठगीको आरोपमा विराटनगर भन्सारबाट पटक–पटक कारबाहीमा परे पनि पैसाको भरमा सेटिङ्ग मिलाउँदै निर्बाध रुपले आफ्नो काम सञ्चालन गर्ने र शक्तिकेन्द्रको आडमा आफू चोखिने गरेको आरोप भन्सार एजेन्टकै सार्वजनिक भएपछि अबको राजस्व अनुसन्धान विभागको सिफारिसमा सम्पत्ति शुद्घीकरणले गर्ने छानबिन कुन मोडमा पुग्ने हो भन्दै भन्सार एजेन्टका बीचमा बहस नै चल्न थालेको छ । पछिल्लो समय राजनीतिले समेत कोल्टे फेरेपछि यिनै भन्सार एजेन्टलाई बचाउनको लागि राजस्व अनुसन्धान विभागकै जिम्मेवार उच्चतहमा आसीन व्यक्तिदेखि अर्थ मन्त्रालय र भन्सार विभागका उच्चतहमा आसीन कर्मचारी समेत मुद्दालाई प्रभावित पार्ने तरिकाले सक्रिय रहेको स्रोतले दाबी गरेको छ ।

विराटनगर भन्सारमा रहेका भन्सार एजेन्ट छोटो समयमा नै अकूत सम्पत्ति आर्जन गरी करोडपतिको सूचीमा पर्दा समेत राज्यलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणमार्फत छानबिन प्रक्रिया अगाडि बढाउन समेत निर्देशन गरिसकेको स्रोतले बताएको छ । यसबेला भन्सार एजेन्टहरु सम्पत्तिको स्रोत भन्सार एजेन्ट नभएर आफूले सेयर कारोबारको दलालीबाट आर्जन गरेको सम्पत्ति भन्दै शक्तिकेन्द्रमा सफाइ दिनथालेको कुरा विराटनगर भन्सारकै उच्च स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया