Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशमा मृत्यु भएकामध्ये १ सय २६ नेपालीको उतै अन्त्येष्टि

विदेशमा मृत्यु भएकामध्ये १ सय २६ नेपालीको उतै अन्त्येष्टि


काठमाडौं, असार १४
वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएकामध्ये केहीको उतै अन्त्येष्टि गरिएको छ भने केहीको शव नेपाल ल्याइएको छ । कोभिड १९ का कारण सिर्जना भएको पछिल्लो अवस्थाको कारण सरकारले शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टिको लागि आफन्तसँग अनुमति लिएर एक सय २६ जनाको शव विदेशमा नै अन्त्येष्टि गरेको हो । त्यस्तै ८७ जनाको शव स्वदेश ल्याइएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार १५ महिला र तीन सय १८ गरी जम्मा तीन सय ३३ जनाको शव विदेशमा छ । सोमध्ये पछिल्लो समय ८७ जनाको शव स्वदेश ल्याएको तथा एक सय २० जनाको शव स्वदेश ल्याउन बाँकी छ । मलेसियाबाट ३१, साउदी अरब र कतारबाट क्रमशः २०÷२०, संयुक्त अरब इमिरेट्स (यूएई)बाट ५, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट एक जनाको शव स्वदेश ल्याइएको छ ।

त्यसैगरी मलेसियाबाट २३, साउदी अरब ५९, कतारबाट ११, संयुक्त अरब इमिरट्स (युएई)बाट १४, कुवेतबाट ५, बहराइनबाट १ र अन्य अर्थात् जापान, सेसेल्स, टर्कीलगायतका मुलुकबाट ७ वटा शव ल्याउन बाँकी रहेको बोर्डले जनाएको छ ।

असुरक्षित कार्यस्थल, सुरक्षा सामग्रीको अभाव, स्वास्थ्य समस्या, झैँझगडा, आराममा कमी, स्वास्थ्य समस्यालगायतका कारण विदेशमा नेपालीहरुले ज्यान गुमाउने गरेका छन् । त्रिभुवन विमानस्थलका अनुसार चार्टर्ड उडानबाट शव स्वदेश ल्याइएको हो भने यसका लागि नेपाल एयरलायन्स, कतार एयरलायन्स, जजिरा एयरलगायतका विमान प्रयोग गरिएको थियो ।

कोरोना संक्रमणका कारण मृत्यु भएका शव स्वदेश ल्याइएको र त्रिभुवन विमानस्थलबाट नै आफन्तलाई शव प्रदान गरिएको मन्त्रालयका अधिकारीको भनाइ छ । ‘विमानस्थलमा आउनेको हकमा विमानस्थलबाट नै शव आफन्तको जिम्मा लगाइएको छ’, अधिकारीले भने, ‘अन्यको हकमा भने सम्बन्धित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ ।’ वैदेशिक रोजगार बोर्डले शव व्यवस्थापन गर्ने हुँदा सम्बन्धित क्षेत्रमा पु-याउने काम बोर्डमार्फत गरिएको छ ।

वैदेशिक रोजगारीको क्रममा चालू आर्थिका वर्षको वैशाखसम्म आठ सय चार जनाले विदेशमा ज्यान गुमाएका छन् । फागुनसम्म पाँच सय ८१ पुरुष र १६ महिला गरी पाँच सय ९७ जनाले ज्यान गुमाएका थिए । गत आवमा भने वैदेशिक रोजगारीमा गएकाहरुमध्ये सात सय ५४ जनाले विदेशमा ज्यान गुमाएका थिए । सरोकारवालाहरुका अनुसार वैदेशिक रोजगारी असुरक्षित हुँदा विदेश पुगेका नेपालीहरुले अकालमै ज्यान गुमाउनुपरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया