Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशमा कोरोनाबाट थप तीन जना नेपालीको मृत्यु

विदेशमा कोरोनाबाट थप तीन जना नेपालीको मृत्यु


काठमाडौं, भदौ १५
विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा गत साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र एक सय ९५ जना नेपालीहरूको मृत्यु भएको हो । समितिका अनुसार गत साता बेलायतमा १ जना र यूएईमा २ जनाको ज्यान गएको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ  ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेब (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रूपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १७ देशमा रहेका नेपालीहरूको ज्यान गएको हो । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सार्वजनिकस्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सीमित संख्या र सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

डा. सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गरे । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सतर्कता अपनाउनु आग्रह गरेका हुन् । मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसङ्गीत सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गरे ।

’कोभिड–१९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलब्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरे । कोरोना भाइरसविरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्डलगायतका देशमा तीव्र गतिमा उत्पादन र परीक्षणको प्रक्रिया अघि बढेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया