Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड नियन्त्रणमा तीनै तहका सरकारको उत्तिकै दायित्व’

कोभिड नियन्त्रणमा तीनै तहका सरकारको उत्तिकै दायित्व’


काठमाडौं, भदौ १८
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड–१९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै उनले कोभिड–१९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताएका हुन् ।

जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्नेमा उनले विशेष जोड दिए । कोभिड–१९ को अहिलेसम्म कुनै खोपको विकास नभैसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहयोग गर्न तयार रहेको भन्दै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई कोभिडको अवस्था रहेसम्म जोखिम भत्ता र बीमा जारी रहने बताए ।

प्राविधिक कारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाए पनि कोभिड–१९ को लडाइँमा काम गरेका मान्छेले भत्ताबाट विमुख हुन नपर्ने उनको भनाइ छ । साथै उनले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८ हजार पाँच सय जनाको नमूना परीक्षण गर्नसक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्र रिपोर्ट आउने व्यवस्था मिलाइने बताए । अहिलेको परिस्थितिमा समय तोकेर नै नमूना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको उनको भनाइ थियो ।

आइसोलेसन निर्माणका लागि मात्र संघीय सरकारले ३८ करोड बजेट प्रदेश सरकारमार्फत स्थानीय तहमा पठाएको स्मरण गर्दै उनले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भइरहेको बताए । मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी पनि दिए ।

भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन मंगोल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी भएका थिए ।

प्रदेश १ का सामाजिक विकासमन्त्री कोरोना पोजेटिभ भएर आइसोलेसनमा रहेको र प्रदेश २ का सामाजिक विकासमन्त्रीले समयको व्यवस्थापन गर्न नभ्याएकोले बुधबारको भर्चुअल बैठकमा सहभागी भएका थिएनन् । सामाजिक विकासमन्त्रीहरुले कोभिड–१९ व्यवस्थापनका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x