Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई जना प्रहरीको हत्या गरेको अभियोगमा सात जना पक्राउ

दुई जना प्रहरीको हत्या गरेको अभियोगमा सात जना पक्राउ


कैलाली ।
अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका १० बस्ने ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राज कुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र सोही उपमहानगरपालिका ११ बस्ने २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति करिब साढे १० बजे उक्त पोष्टबाटसीमा क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रणका लागि नियमित गस्तीमा खटिएको अवस्थामा दुवै जना सम्पर्कमा नआएपश्चात् उनीहरुको खोजी गर्ने क्रममा हत्या गरी धनगढी उपमहानगरपालिका १० स्थित मोहना नदीमा फालेको अवस्थामा प्रहरी सहायक निरीक्षक विकको आइतबार र प्रहरी जवान साउदको मंगलबार शव फेला परेको थियो ।

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उक्त नदीबाट करिब चार सय मिटर टाढा सीमामा अवैध सामानहरुको तस्करी गरिरहेका तस्करहरुको समूहलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले योजनाबद्ध रुपमा धारिलो हतियार प्रहार गरी दुवै जनाको हत्या गरेपश्चात् करिब ४ सय मिटर टाढा मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले शव फाली उनीहरु फरार भएको अनुसन्धानबाट खुल्न जानकारी समेत प्रहरीले दिएको छ । उनीहरुउपर ज्यान कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया