Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजापान रोजगारीका लागि मार्चमा भाषा र सीप परीक्षा

जापान रोजगारीका लागि मार्चमा भाषा र सीप परीक्षा


प्रवीन राउत
काठमाडौं, पुस १८
जापान रोजागारीको लागि आउँदो मार्चमा भाषा र सीप परीक्षा हुने भएको छ । भाषा र सीप परीक्षामा १३ सय परीक्षार्थी सहभागी हुन पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसअघि पहिलो चरणमा भएको परीक्षामा एक हजार जना परीक्षार्थी सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । हालको लागि सो संख्यामा वृद्धि गरी १३ सय परीक्षार्थी सहभागी हुन पाउने व्यवस्था गरिएको मन्त्रालयका उपसचिव दिपक ढकालले बताए । ‘नेपाली प्रतिनिधि र जापानी पक्षको सहमतिअनुरुप परीक्षार्थीको संख्या वृद्धि गरिएको हो’, उनले भने, ‘यसले गर्दा रोजागारीको लागि आकर्षण बनेको जापान जाने युवाको संख्यामा वृद्धि हुनेछ ।’

जापान फाउन्डेसनले लिने भाषा परीक्षाको लागि लाग्ने खर्च भने रोजगारदाताले नै व्यहोर्ने मन्त्रालयले जनाएको छ । यस्तै भाषा र सीप परीक्षा पहिलो चरणअन्तर्गत भन्दा केही परिमार्जन गरी सहजता अपनाउन समेत आग्रह गरेको उनले बताए । जापानले दोस्रो चरणअन्तर्गत पनि नेपालबाट केयर गिभर (नर्सिङ केयर)का लागि युवाहरु लैजाने तयारी गरेको छ । मन्त्रालयले अन्य क्षेत्रको लागि पहल गरे पनि हालसम्म कुनै लिखित जवाफ नआएको जनाएको छ ।

भाषा र सीप परीक्षामा भने कुनै परिमार्जन नभएको उपसचिव ढकालले बताए । पहिलो चरणमा भएजस्तै दोस्रो पटकको परीक्षामा पनि ६० मिनेटको भाषा परीक्षा र २० मिनेटको सीप परीक्षा हुने उनले जानकारी दिए । जापानले विभिन्न मुलुकबाट लाने श्रमिकका लागि १४ क्षेत्रमा रोजगारी खुला गरेको छ । नेपालसहित अन्य मुलुकबाट जापानले कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान इच्छुक रहेको बताउँदै आएको छ ।

योसँगै फाउन्डेसनले जापान जानका लागि नेपाली महिला र पुरुष संलग्न हुने परीक्षा दोस्रोपटक लिन लागेको हो । नेपाली कामदार लैजाने विषयमा भने सरकारको केही प्रतिशत दायित्व मात्र हुने मन्त्रालयका एक अधिकारीले बताए । ‘युवाहरुलाई जापान पठाउने विषयमा सरकारको केही प्रतिशत भूमिका हुन्छ भने अन्य भूमिका निजी क्षेत्र वा जापानी पक्षको हुन्छ’, ती अधिकारीले भने ।

यसअघिको गत कात्तिकमा फाउन्डेसनले पहिलो चरणअन्तर्गत भाषा र सीप परीक्षा सञ्चालन गरेको थियो । सो समयमा हजार जनाको लागि परीक्षा आवदेन माग गरे पनि हजारौं आवेदन परेको थियो भने भाषा र सीप दुवै परीक्षा पास गर्ने भने एक जना मात्र रहेका थिए । सीप वा सम्बन्धित क्षेत्रमा अनुभव भएका श्रमिक एक पटक प्रवेश पाएपछि बढीमा पाँच वर्ष बस्न पाउनेछन् । दोस्रो वर्गको श्रमिकको लागि उच्च तहको सीप आवश्यक पर्छ भने सो श्रमिकहरुको भने समय थप हुने समेत अर्थात् पाँच वर्ष पछि पनि बस्नसक्ने व्यवस्था गरेको छ । उनीहरुले परिवारलाई समेत जापान लैजान पाउँछन् ।

जापानले आगामी पाँच वर्षभित्र नेपालसहित नौ मुलुकबाट श्रमिक लैजाने तयारी गरेको छ । तीन लाखभन्दा बढी श्रमिक लाग्ने तयारीमा रहेको जापानले नेपालको साथै चीन, थाइल्याण्ड, इण्डोनेसिया, म्यान्मार, फिलिपिन्स, कम्बोडिया, मंगोलिया र भियतनामबाट श्रमिक लानेछ । जापानले यसअघि फिलिपिन्ससँग समझदारी गरिसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया