Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरमा फरार पक्राउ

बैंकिङ कसुरमा फरार पक्राउ

ह्वाट्स एप र फेसबुकबाट ४१ लाख ठगी गर्नेहरू प्रहरीको फन्दामा


काठमाडौं ।
महानगरीय अपराध महाशाखा मीनभवनले बैैंकिङ कसुर मुद्दाका फरार अभियुुक्त श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । महाशाखाका सूचना अधिकरी प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार बैंकिङ कसुरजन्य कार्य गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

‘काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरस्थित समानान्तर निर्माण सेवा प्रालिका निरोज कुमार थपलियाको बैंकिङ कसुरसम्बन्धी जाहेरीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन्’, महाशाखाका प्रहरी उपरीक्षक कार्कीले भने । प्रहरी उपरीक्षक कार्कीका अनुसार काठमाडौं का.जि.का.म.न.पा. वडा नं ९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रा.लि का सञ्चालक श्रेष्ठलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार १ बजे काठमाडौंको सीतापाइलाबाट पक्राउ गरेको हो ।

पक्राउलगत्तै थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ । श्रेष्ठले काठमाडौंको नागार्जुन नपास्थित सीतापाइला सडक खण्डमा एसफल्ट पाभिङ वर्क कार्य सम्पन्न गरेबापतको रकम दिनुपर्नेमा ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको एक करोड ३६ लाख १० हजार दुई सय ८८ रुपैयाँ बराबरको चेक दिएका थिए । उक्त चेकमा पर्याप्त रकम नभई बैंकिङ कसुरजन्य अपराध गरेकोमा उनी पक्राउ परेका प्रहरी उपरीक्षक कार्कीले बताए ।

यसैबीच महाशाखाले सामाजिक सञ्जालको प्रयोग गरी लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना व्यक्तिहरूलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पूर्वी रुकुम घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका २२ वर्षीय सन्तोष श्रेष्ठ र पूर्वी रुकम नै घर भई काठमाडौंको कीर्तिपुुर बस्दै आएकी १९ वर्षीया आशा श्रेष्ठ रहेकी छिन् ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार श्रेष्ठद्वयले सामाजिक सञ्जाल ह्वाट्स एप र फेसबुुकको प्रयोग गरी फेवुरल वेलफ्रिड नामको आईडी प्रयोग गर्ने व्यक्तिले आफूलाई नेदरल्याण्डको नागरिक बताई पीडितहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाई साथी बनी कुराकानी गर्दै जाने क्रममा पीडितहरूसँग ह्वाट्स एपमा समेत सम्पर्क गरी विभिन्न बहाना बनाई आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरू आईफोन सुनका गरगहना तथा डलर समेत पठाइदिने भनी प्रलोभनमा पारेका थिए ।

सोही आधारमा विश्वास दिलाई पीडितहरूलाई दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको नामको बैंक खातामा र आईएमई समेतबाट ४१ लाख ९८ हजार चार सय ५० रुपैयाँ पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कार्कीले बताए । ‘यसरी रकम पठाउन लगाई ठगी गरेको घटनाको अनुसन्धानको सिलसिलामा उक्त ठगीमा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा महाशाखाबाट खटिएको टोलीले सोमबार अपराह्न काठमाडौंको सुन्धाराबाट सन्तोष श्रेष्ठ र आशा श्रेष्ठलाई पक्राउ गरेको हो’, प्रहरी उपरीक्षक कार्कीले भने । पक्राउ परेका श्रेष्ठद्वयलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया