Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको जोखिम अझै उच्च

कोरोनाको जोखिम अझै उच्च

थप ४०३मा कोरोना पुष्टि


काठमाडौं ।
नेपालमा पछिल्लो समय भीडभाड बढ्न जाँदा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । परीक्षणको संख्या घट्दा कोरोना संक्रमितको संख्या घटे पनि वास्तविक रुपमा कोरोना लाग्नेको संख्या पहिलाको जस्तै देखिएको छ । विभिन्न राजनीतिक दलहरुले काठमाडौंलगायत देशका विभिन्न सहर र गाउँ तथा नगरपालिका केन्द्रमा राजनीतिक भीड जम्मा गर्दा कोरोना फैलिने जोखिम बढेको हो ।

नेपालमा अझै पनि कोरोनाको भ्याक्सिन नआएको कारण समुदायमा फैलिनासाथ नियन्त्रण गर्न सकिने अवस्था छैन । तर, राजनीतिक दलहरुले भीडभाड बढाउने कार्य जारी राखेका छन् । ‘चिसो मौसममा काठमाडौंमा अरु बेला पनि रोग बढ्ने गरेको थियो’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले दलहरुले भीडभाड जम्मा गरेर कार्यक्रम गरिराखेको कारण कोरोनालगायतका रोग बढ्ने प्रबल सम्भावना छ ।’ अझ प्रधानमन्त्री नै यस्तो भीड जम्मा गर्ने काममा लागेपछि अरुले भीड जम्मा गर्ने होड नै चलेको छ ।

यसैबीच, देशभर सोमबार थप चार सय तीन जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४ सय १ जनाको स्वास्थ्य परीक्षण गर्दा १ सय ५९ महिला र २ सय ४४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोमबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६२ हजार २ सय ६२ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५ सय ९४ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५५ हजार ८८ (९७.३ प्रतिशत) रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर पाँच हजार २ सय ८९ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ३ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् भने अन्य आइसोलेसनमा छन् । हालसम्म १९ लाख ५२ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८२ महिला र १ सय ३ पुरुष गरी १ सय ८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८ सय ८५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार नाघेको छ । प्रदेशमा पछिल्लो २४ घण्टाको १६ जना सङ्क्रमित थपसँगै अहिलेसम्म जम्मा सङ्ख्या २९ हजार ८ सय ५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १३ हजार १ सय १२, सुनसरीमा आठ हजार ९ सय ४७, झापामा चार हजार ६ सय ४६, उदयपुरमा ४ सय ९४, इलाममा ४ सय ७२, सङ्खुवासभामा ३ सय ४१, धनकुटामा २ सय ७, पाँचथरमा १ सय ४५, ताप्लेजुङमा १ सय २०, तेह्रथुममा १ सय १९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गामा ४७, सोलुखुम्बुमा ३७ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेशमा सोमबार ८१ जना सङ्क्रमित निको भएसँगै २८ हजार ७ सय ३७ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार अहिले होम आइसोलेसनमा ६ सय ५८ सङ्क्रमित रहेका छन् । प्रदेशमा अहिलेसम्म दुई लाख नौ हजार ९ सय ४९ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया