Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा करिब १५ हजार वर्षअघि योग सुरु

नेपालमा करिब १५ हजार वर्षअघि योग सुरु


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा करिब १५ हजार वर्ष अघिदेखि योग सुरु भएको बताएका छन् । राष्ट्रिय योग दिवस अवसरमा आयोजित कार्यक्रममा उनले मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको बताए । साथै उनले आदी योगको भूमीको रूपमा रहेको नेपाललाई योगमय बनाउन योगगुरुहरूको महत्वपूर्ण भूमिका रहेको बताए । ‘मानव, जीव, अन्यजीव र प्रकृतिसँग जोडिएको शब्द योग हो, हरेक नेपालीले स्वथ्य रहन हरेक दिन योग गर्न आवश्यक छ’, उनले भने ।

जीवनलाई कसरी मानव जीवन बनाउने भन्ने विषय योगसँग जोडिएको उल्लेख गर्दै उनले योगकै कारण अधिकांश नेपाली स्वथ्य भएको बताए । हरेक वर्षको जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै उनले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघबाट पारित गरेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए । ‘सूर्य दक्षिणायनमा पुग्ने समयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनु हाम्रो गौरवको विषय हो, विश्वभर योग दिवन मनाउनुपर्छ भन्ने प्रस्ताव नेपाल र भारत दुवै देशको हो’, प्रम ओलीले भने । उनले अब नेपालले ध्यान दिवस बनाउने विषयमा छलफल सुरु गर्नपर्ने बताए । साथै उनले करिब १० मिनेट योग अभ्यास समेत गरेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृण्णगोपाल श्रेष्ठले योग शिक्षा र अभ्यासलाई सबै नेपालीले ग्रहण गर्नुपर्ने बताए । अधिकांश नेपालीले योग गर्ने संस्कार सुरु गरेको बताउँदै उनले पनि योगकै कारण अन्य मुलुकको तुलनामा नेपाली जनता स्वथ्य रहेको दाबी गरे । योगलाई व्यापक गर्न सरकारले पाठ्यपुस्तकमै योग विषय समेटेको उनको भनाई थियो । सरकारले यो वर्ष ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्य तय गरेको थियो ।

योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठको संयोजकत्वको राष्ट्रिय योग दिवस मूल समारोह समिति गठन गरिएको थियो । कार्यक्रममा मन्त्रीहरू, चारै सुरक्षा निकायका प्रमुख, विघटित प्रनिनिधिसभाका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए । उनले अब योग दिवस मात्र नभई ध्यान दिवस मनाउने विषयमा सरकारले पहल गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय ध्यान दिवस बनाउने विषयमा सरकारले जोडदार पहल गर्नुपर्ने बताए । अधिकांश योग गुरुले बुद्ध जयन्तीको दिनलाई ध्यान दिवस मनाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । यो छैटौँ योग दिवस हो । सरकारले यो दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भएको छ । कार्यक्रममा शिक्षा सचिव गोपी मैनालीले योगको महत्वको बारेमा जानकारी दिएका थिए । कार्यक्रमममा योग गुरु यतिराज भट्टराईलाई प्रधानमन्त्री ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले २५ हजार नगदसहित सम्मान गरेका थिए । त्यस्तै प्रम ओली, मन्त्री श्रेष्ठ र योग गुरु आनन्द अरुण, क्षितिज बराकोटीले पातञ्जल योग बुलेटिन बिमोचन समेत गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया