Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगहरूको विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयनमा

उद्योगहरूको विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयनमा


काठमाडौं ।
कोभिड १९ का कारण प्रभावित बनेका उत्पादनमूलक उद्योगहरूको लकडाउन अवधिभरको विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयनमा आएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको आइतबार बसको बैठकले आज सोमबारदेखि विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री पौडेलले निर्णय कार्यान्वयनबाट उद्योगहरू लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने बताए । बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत् डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमेरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया