Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थमन्त्री खतिवडाद्वारा भन्सारको चुहावट रोक्न निर्देशन

अर्थमन्त्री खतिवडाद्वारा भन्सारको चुहावट रोक्न निर्देशन


जीएम यादव
बाँके, पुस २१
नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले पश्चिम नेपालका मुख्य भन्सार नाका र आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन् । बाँके, बर्दिया र कैलालीका भन्सार र कर कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले राजस्व चुहावट रोक्न प्रभावकारी कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारी आफ्नै धुनमा व्यस्त रहँदा अचानक अर्थमन्त्री खतिवडासहितको उच्चस्तरीय सरकारी टोली नेपालगञ्ज भन्सार कार्यालय अनुगमनका लागि पुग्दा त्यहाँका कर्मचारी अचम्म परेका थिए ।

अचानक अनुगमनमा पुगेका अर्थमन्त्री खतिवडाले नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूलाई राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नछाड्न निर्देशन दिँदै भन्सार र राजस्वको भौतिक पूर्वाधारका विषयमा पनि गम्भीरतापूर्वक चासो राखेका थिए । अनुगमनका बेला अर्थमन्त्री डा. खतिवडासँगै भन्सार विभागका महा–निर्देशक सुमन दाहाल र आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुवरसमेत सहभागी रहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिएका छन् ।

अनुगमन टोलीले पारदर्शीरूपमा कार्य गरी भन्सार प्रशासनमा स्वच्छता कायम गर्न निर्देशन दिएको नेपालगञ्ज भन्सार कार्यालय बाँकेका प्रमुख निरौलाले बताए । राजस्व संकलनको लक्ष्य पूरा गर्न सुझाव दिँदै मन्त्री खतिवडाले लक्ष्य हासिल गर्नका लागि आवश्यक परेमा मन्त्रालय जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा जानकारी गराउँदै सकारात्मक कार्य गर्ने कर्मचारीलाई आफूले संरक्षण र सम्मान गर्ने बताएका थिए । मन्त्री खतिवडाले मुलुक संघीयतामा गएसँगै स्रोत साधनको माग अत्यधिक रहेकोले भन्सारका क्रियाकलापहरूमा सुधार ल्याई आगामी दिनमा अपेक्षित राजस्व संकलन गर्न कडाइका साथ लाग्न कर्मचारीलाई निर्देशन दिएका थिए । चोरी पैठारी र अवैधानिक निकासीले राजस्व संकलनमा ठूलो असर गर्ने बताउँदै चोरी पैठारी र निकासीलाई रोक्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा मन्त्री खतिवडाले जोड दिएका थिए ।

भन्सार कार्यालयको भौतिक पूर्वाधार र कार्यालय व्यवस्थापनमा समेत सुधार गर्न अनुगमन टोलीले सुझाव दिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख निरौलाले बताए । अर्थमन्त्रीसहितको टोलीले नेपालगञ्ज भन्सार कार्यालयको साथै आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको समेत निरीक्षण गरेको थियो । कार्यालय निरीक्षणको क्रममा कार्यालयको भौतिक पूर्वाधारको साथै राजस्व संकलनको अवस्था, चुनौती र समस्याको बारेमा निरीक्षण गरेको आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।

कार्यालय निरीक्षणको क्रममा लक्ष अनुसारको राजस्व संकलन गर्न निर्देशन दिएको आचार्यले बताए । टोलीले कार्यालयको वस्तुस्थिति, कामकारबाही, राजस्व संकलनको प्रक्रिया र अवस्था सबै बुझेर कर्मचारीलाई बफादार भई कार्य गर्न समेत निर्देशन दिएर गएको उनले जानकारी दिए । यसैबीच भन्सार कर्मचारीहरू आफ्नै योजना र धुनमा रहेको बेला त्यो पनि शनिबारको दिन एक्कासी खबर आएर अर्थमन्त्री डा. युवराज खतिवडासहितको उच्चस्तरीय सरकारी टोली नेपालगञ्ज भन्सार कार्यालय अनुगमनका लागि पुग्दा कर्मचारीहरू अलमलमा परेका थिए । राजस्व उच्च अधिकारीहरूको टोलीसहित एक्कासी भन्सार पुगेका अर्थमन्त्री डा. खतिवडाले कार्यालयको मात्र अनुगमन गरेनन, नेपाल–भारत सीमास्थित भन्सार पोष्टसमेत पुगे ।

अर्थमन्त्री नेपाल–भारत सीमास्थित भन्सार पोष्ट पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइरहँदा नजिकै दशगजाबाट लहरै केही मानिसहरू सरसमान लिएर नाका पार भइरहेको बारे समेत चासो राखे । दशगजाबाट लहरै केही मानिसहरू सरसमान लिएर नाका पार गरिरहेको देखे अर्थमन्त्री डा. खतिवडाले नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलालाई देखाएर त्यस्तो किन भइरहेको सोध्दा सँगै रहेका उच्च अधिकारीहरू मुखामुख गर्दै रातोपिरो भए ।

अर्थमन्त्री डा. खतिवडाकै अगाडि एक हुल व्यापारी सामान लिएर मूल नाकाभन्दा सय मिटर परबाट दशगजा हुँदै नेपाल पस्दै थिए । ‘यो रोक्ने जिम्मेवारी प्रहरीको हो’, भन्सार अधिकारी यत्ति के भन्दै थिए डा. खतिवडाले प्रतिक्रिया दिन नभ्याउँदै प्रहरीले उनीहरूलाई सामानसहित नियन्त्रणमा लिएको थियोे । अधिकांश तरकारी र किराना पसलका लागि भन्सार छलेर लगिँदै गरेको सामान प्रहरी र भन्सार कर्मचारीले देखिने दूरीबाट गैरहेकाले ‘सेटिङ’ हो भन्ने कुरा बुझ्न अर्थमन्त्रीलाई समय लागेन ।

आफ्नै आँखाअगाडि आफैँले तस्करीको नयाँ रूप देखेको अनुगमनपछि अर्थमन्त्री डा. खतिवडाले भन्सार कडाइ गर्न नेपालगञ्ज भन्सार कार्यालयलाई निर्देशन दिएका छन् । उनले नियमितरूपमा भन्सारको अनुगमन गरी चोरी पैठारी नियन्त्रण गर्दै राजस्व असुलीमा सक्रिय रहन भन्सार कार्यालयका कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । मन्त्रीसहितको टोली नेपालगञ्ज आएको अवसरमा शनिबार भन्सार नाकामा अन्य दिनको तुलनामा कडाइ गरिएको थियो । अन्य दिनहरूमा केही खुकुलो हुने भन्सार चेकजाँचमा शनिबार कडाइ गरिएको उपभोक्ताहरूले बताए । अरु दिन सामान्य चेकजाँच गरेर पठाउने सामानहरूको समेत भन्सार तिर्न लगाइएको उपभोक्ताहरू बताउँछन् ।

भारतीय बजार रूपैडियाबाट घरयासी उपभोगका लागि ल्याइएको २५ केजीको १ बोरा चामलको समेत भन्सार तिर्न लगाएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने बिक्की काँदुले बताए । अरु दिन २ बोरासम्म ल्याउँदा समेत भन्सार तिर्नु नपरेको बताउँदै काँदुले भने, ‘मन्त्री आएकाले भन्सार कडाइ गरिएको भन्दै १ बोरा चामलको १०० रूपैया राजस्व तिर्न बाध्य बनाइयो ।’ शनिवारको दिन सामान खरिद गर्न रूपैडिया जानेहरूको अरु दिनको तुलनामा निकै भीड लाग्ने गर्छ । त्यसैमा मन्त्रीसहितको टोली आएको भन्दै देखावटीरूपमा भन्सार कडाइ गरिएपछि नागरिकहरूले सास्ती भोग्नुपरेको उपभोक्ताहरूको भनाइ छ ।

भन्सारमा कडाइ गरिएपछि कतिपयले भन्सार तिरेर सामान ल्याएर आएका थिए भने कतिपयले १ बोरा चामलमा भन्सार तिर्न भनेपछि फिर्ता गरेका थिए । नेपालगञ्ज वडा नं. ७ का रमेश के.सी.ले अरु दिनहरूमा घरयासी प्रयोजनका सामानहरूको भन्सार तिर्न नपरेको भए पनि शनिबार १ बोरा चामलसम्म भन्सार नतिरेर ल्याउन नदिएको बताए । नेपालगञ्ज भन्सार कार्यालयमा तीन करोड ४० लाख राजस्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयले जानकारी दिएको थियो । शनिबारको दिन आधा दिन मात्रै कार्यालय खुल्ने र राजस्व संकलन गरिने भए पनि भन्सार कडाइका कारण अन्य दिनकै संख्यामा राजस्व संकलन

भएको छ । सधैँ यस्तैगरी भन्सारमा कडाइ गरिनुले राजस्व संकलनमा टेवा पुग्ने भए पनि विशेष व्यक्तिहरू आएको समयमा मात्रै देखावटीरूपमा गरिने कडाइको कुनै अर्थ नभएको नेपालगञ्जका व्यवसायीहरू बताउँछन् । नेपालगञ्ज आएलगत्तै अर्थमन्त्री खतिवडाले उद्योगी, व्यवसायीसँग समेत भेटघाट गरेका थिए । राँझा विमानस्थलमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले अर्थमन्त्री खतिवडासँग भेटघाट गरे । उक्त अवसरमा नेपालगञ्जको उद्योगी, व्यवसायीको समस्याका बारेमा छलफल भएको छ । एकीकृत भन्सार जाँच चौकी, नेपालगञ्ज–दिल्ली उडान, घिउ निकासीको अवरोध, नौवस्ता औद्योगिक क्षेत्र, मुगुवा विशेष आर्थिक क्षेत्रका विषयमा अर्थमन्त्रीका ध्यानार्कषण गराएको अध्यक्ष वैश्यले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया