Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता

निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता


काठमाडौं ।
नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्धदर्शनको विस्तारमा सहयोग गर्ने सम्झौता भएको छ । बुधबार निगमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उप कुलपति प्राडा हृदय रत्न बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास गरिनेछ । लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ट क्षेत्रहरुमा पर्यटन विकासमा दुवै संस्थाले प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछन् । नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवर्द्धनमा संयुक्त प्रयास गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

पर्यटन र बुद्ध दर्शनसँग सम्बन्धित विशेष कार्यक्रम बनाउन र त्यसलाई कार्यान्वयन गर्नेबारे पारस्परिक समझदारी र सहयोगको आधारमा गरिनेछ । उड्डयन र पर्यटनको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारी पत्रमा उल्लेख छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पर्यटनसँग सम्बन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्वविद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ ।

सम्झौताअनुसार लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ । यो सम्झौता हाललाई चार वर्षको लागि गरिएको र पछि नवीकरण गर्न सकिने बताईएको छ । कार्यक्रममा महाप्रबन्धक पौडेलले नेपाल वायुसेवा निगमले बुद्धिष्ट बाहुल्य भएका मुलुकहरुमा उडान सञ्चालन गर्ने अवधारणा राखेको बताए । त्यस्तै प्रा.डा. बज्राचार्यले बुद्ध धर्म मात्र नभएर यसले दर्शनको महत्व बोकेको कारण विश्वविद्यालयले त्यसैअनुसार कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया