Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहोटल र रिसोर्टको बोर्डमा नेपालको निशानछाप राख्नैपर्ने

होटल र रिसोर्टको बोर्डमा नेपालको निशानछाप राख्नैपर्ने

१२ किसिमका होटललाई संकेत चिह्न


काठमाडौं ।
सरकारले देशभर सञ्चालित १२ किसिमका होटललाई अनिवार्य रुपमा संकेत चिह्न राख्नैपर्ने व्यवस्था गरेको छ । एकदेखि पाँचतारे होटलसम्मले तारा मात्र राख्न पाउनेछन् भने त्यसभन्दा माथिका होटलले चिह्नको साथै शब्दसमेत राखेर आफ्नो होटलको स्तर बाहिरबाटै सर्वसाधारणले नै पत्तो पाउने गरी साइनबोर्ड (संकेत चिह्न) राख्नुपर्नेछ । त्यस्तो बोर्डको साइज भने सम्बन्धित स्थानीय तहले तोकेअनुसारको साइज हुनुपर्नेछ । सबै होटलहरूले प्रवेशद्वारमै संकेत र अक्षर भएको बोर्ड राख्नुपर्नेछ ।

सरकारी निर्णयअनुसार साधारण रिसोर्टले तीन तारा र स्ट्यान्डर्ड रिसोर्ट शब्द बोर्डमा राख्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले जनाएको छ । त्यस्तै, डिलक्स रिसोर्टले चारतारा र डिलक्स रिसोर्ट शब्द र लक्जरी रिसोर्टले पाँचतारा र लक्जरी रिसोर्टको शब्द बोर्डमा राख्नुपर्नेछ ।

लक्जरी हेरिटेज बुटिक होटलले पाँचतारा र लक्जरी हेरिटेज बुटिक शब्द तथा डिलक्स हेरिटेज बुटिक होटलले चारतारा र डिलक्स हेरिटेज बुटिक लेखेर बोर्ड राख्नुपर्नेछ । यस्तै, पाँचतारा डिलक्सस्तरको होटलले पाँचतारा र डिलक्स शब्द बोर्डमा राख्नैपर्नेछ । तर, एकदेखि पाँचतारा स्तरका होटलले कुनै पनि शब्द नराखी बोर्डमा होटलको नाम र एक, दुई, तीन, चार र पाँच तारा राख्नुपर्नेछ ।

पर्यटन विभागका अनुसार साबिकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटकस्तरको होटलमा स्तरवर्गीकरण भएका होटलले भने गोलाकार रेखाभित्र रातो रंगमा टीएस अंग्रेजी अक्षर होटलको बोर्डमा लेख्नुपर्नेछ । १२ किसिमका होटलहरूले आफ्नो बोर्डमा नेपालका निशानछाप राख्नैपर्ने व्यवस्था पनि पर्यटन विभागले गरेको छ । विभागका अनुसार सबै होटलहरूले साइनबोर्डको माथिल्लो भागमा नेपालको रंगीन निशानछाप राख्नुपर्नेछ । निशानछापको ठीक मुनितिर कालो रंगको तेर्सो धर्का र सोही धर्काको मुनिमात्र होटल र रिसोर्टको नाम लेख्नुपर्नेछ ।

होटल र रिसोर्टको नामको मुनितिर फेरि अर्को कालो रंगकै तेर्सो धर्का राख्नुपर्नेछ । होटल एसोसिएसन नेपाल वा होटल व्यवसायीहरूको साझा संस्थाका सदस्य रहेका होटल÷रिसोर्टले उक्त संस्थाको प्रतीक चिह्नसमेत राख्न पाउनेछन् । यस्तो प्रतीक चिह्न राख्नुपर्दा नेपालको निशानछापको एक चौथाइ कम आकारमा रहने गरी होटल÷रिसोर्टको नाम लेखिएको स्थानबाट दायाँतर्फ राख्नुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया