Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेश जान तालिम लिनेको भीड

विदेश जान तालिम लिनेको भीड


काठमाडौँ ।

सिन्धुपाल्चोककी २० वर्षीया सुनिता तामाङ रोजगारीको लागि जोर्डन जाने तयारीमा छिन् । वैदेशिक रोजगारीमा जानुअघि सीप अति नै आवश्यक भएको कुरा सुनेसँगै उनी हाल ललितपुर, नख्खु ४ मा रहेको सुवर्ण मल्टिपल तालिम केन्द्रमा गार्मेन्टको तलिम लिइरहेकी छिन् ।घर परिवारको हौसला र साथीभाइमार्फत विदेश जानुअघि तालिमको महत्व बुझेर केन्द्रमा आएको बताउँदै उनले भनिन्, ‘तालिममा सहभागी भएपछि विदेशमा गएर काम गर्नसक्ने आत्मविश्वास बढेको छ ।’

‘मैले गार्मेन्ट अर्थात् सिलाइ बुनाइको लागि केन्द्रमा चलाएको मेसिन यसअघि देखेको थिइन्’, तामाङले भनिन्, ‘मैले साधारण मेसिन मात्र देखेको थिएँ, यहाँ आएर नयाँ (आधुनिक) मेसिन चलाए र विदेशमा पनि सोही मेसिनबाट काम गर्नुपर्छ भनेपछि अब म विदेशमा गएर पनि ढुक्कका साथ काम गर्नसक्छु ।’केन्द्रमा नआएको भए यस्ता आधुनिक मेसिनको अनुभव नहुँदा विदेशमा काम गर्न नसक्ने उनको भनाइ छ ।

केन्द्रमा आएपछि भने विदेशमा के काम गर्ने र कसरी गर्ने भन्ने विषयमा आफू विश्वस्त रहेकोले विदेश जानुअघि तालिम अनिवार्य रहेछ भन्ने बुझेको उनले बताइन् ।केन्द्रकी प्रशिक्षक अमिसा मिश्र विदेश जाने युवा÷युवतीहरुको लागि तालिम अत्यन्त आवश्यक रहेको बताउँछिन् । ‘हामी प्रविधिमा कमजोर छ भने नेपालीहरु कामका लागि जाने मुलुकहरुमा नयाँ प्रविधि अपनाएको पाइन्छ, त्यसैले त्यहाँका प्रविधि अर्थात् मेसिनहरुसँग जानकार नभएमा हामी काम गर्न नसक्ने अवस्था हुन्छ’, प्रशिक्षक मिश्रले भनिन्, ‘त्यसैले रोजगारदाताको आवश्यकताअनुरुप आफूहरु दक्ष भएर गएमा सहजै काम गर्नसक्ने तथा सेवा सुविधा पनि राम्रो पाउन सक्छौँ ।’

जोर्डनमा लामो समय काम गरेर फर्केकी उनले सीप सिकेर नजाँदा भारत, श्रीलंका, बंगलादेशलगायतका मुलुकबाट जाने युवाहरुभन्दा आफूहरु कमजोर हुने तथा आफूले चाहेको काम समेत गर्नु नपाउने अवस्था समेत सिर्जना हुने गरेको अनुभव साटिन् । जोर्डनमा काम गरेको अनुभव सुनाउँदै प्रशिक्षक मिश्रले गार्मेन्टको सीप नहुँदा भारतलगायत अन्य मुलुकबाट जाने युवाहरुले यति सानो काम पनि आउँदैन ?

भनेर प्रश्न गर्दा मनोवैज्ञानिक असर पर्ने तथा निराश हुनुपर्नेे बताइन् । ‘आफूहरुसँग सीप छैन जसले गर्दा भनेको काम नपाउने ठूलो समस्या रहेको हुन्छ भने अर्कातर्फ सेवा सुविधामा समेत वृद्धि हुँदैन, जसले गर्दा कम्पनीले जति रकम उपलब्ध गराउँछ, त्यसमै चित्त बुझाएर बस्नुपर्ने हुन्छ’, प्रशिक्षक मिश्रले भनिन्, ‘सीप भएमा दैनिक कामका साथै ओभरटाइम काम गरेर राम्रो कमाइ गर्न समेत सकिन्छ ।’

यस्तै सीप भएमा विदेशमा मात्र नभई स्वदेशमै रोजगारी पाउने मलेसिया बसेर फर्केका खोटाङ, तुवाचुङका ३२ वर्षीय गंगाबहादुर कार्कीले बताए । ‘गाउँमा रहँदा टिनको छानो राख्ने कामदार नपाउँदा आफैँले काम सिकेर छानो राखेको थिएँ’, उनले भने, ‘सीप भएमा विदेश जानुपर्छ भन्ने छैन स्वदेशमै पनि खपत हुन सकिन्छ तर केही राम्रो कमाइ होला कि भनेर तालिम लिएर विदेश जानलागेको छु ।

पारिवारिक माहोल विदेश नजाऊ भन्ने भए पनि सीप भने सिकिरहेको छु ।’मलेसियामा सेक्युरिटीको काम गरेर २०१४ मा नेपाल फर्किएका कार्की हाल निखिल मल्टिसर्भिसेस तलिम केन्द्रमा फर्मा लगाउने तालिम लिइरहेका छन् । मलेसियामा राम्रो तलब हुँदाहुँदै पनि स्वास्थ्य समस्याका कारण स्वदेश फर्किएका उनी पुनः विदेश जाने सोचमा छन् तर विदेश जाँदा सीप सिकेर जाँदा राम्रो आम्दानी हुने र आफूले भनेको काम गर्न पाउने हुँदा उनी तालिम लिनआएको बताउँछन् ।

कतार र साउदी अरबमा क्रमशः लेबर र वेटरको काम गरेर आएका गुल्मी मालिका ३ का रेशम बहादुर थापा पनि केन्द्रमा फर्मा लगाउने तालिम लिइरहेका छन् । नेपालभन्दा भिन्न किसिमले काम गर्नुपर्ने हुँदा तालिम लिएर विदेश जानलागेको उनले बताए । ‘सीप नहुँदा लेभरमा काम गरे अर्थात् कम्पनीले जे काम दिन्छ, सोही काम गर्नुप¥यो’, उनले भने, ‘अब तालिम लिइसकेपछि भने काम र पैसा ताकेर मात्र जाने निश्चित गरेको छु । यस्तो आत्मविश्वास आउनुको पछाडि भने तालिम नै मुख्य कुरा रहेको हो ।’

‘तालिम लिएपछि नै मैले विदेशमा के काम गर्ने, कसरी काम गर्ने विषयमा म स्वदेशमै तयारी भइसकेको छु’, थापाले भने, ‘त्यसैले गर्दा अब विदेशमा पुगेपछि आफूले के काम गर्ने कति पारिश्रमिक लिने भन्ने विषयमा अन्योल रहनेछैन ।’निखिलका प्रशिक्षक तथा मेकानिकल इन्जिनियर नारायण प्रधानले केन्द्रबाट हालसम्म करिब तीन सय जनाले तालिम लिइसकेको बताए ।

‘कोरोना महामारीको कारण तालिम प्रभावित बने पनि फागुनदेखि भने निरन्तर तािलम सञ्चालन भएको छ भने यहाँबाट तालिम लिएर विदेश जाने युवाहरुले भनेको काम र कसैबाट काम गर्न नसक्ने भनेर अमानवीय व्यवहार खेप्नुपरेको छैन’, मेकानिकल इन्जिनियर प्रधानले भने, ‘यसो हुनमा हामीले विदेशमा जसरी काम गरिन्छ । सोहीअनुरुप तालिम दिन सक्नु हो । तालिम दिएपछि हामीले परीक्षा पनि लिने गरेको हुँदा उत्कृष्ट उत्पादन समेत गर्नसकेका छौँ ।’

निखिलले फर्मा लगाउने र प्लम्बिङको दैनिक आठ घण्टाको दरले छ महिने निःशुल्क तालिम दिने गरेको छ भने तालिम लिने युवाहरुको लागि खाने, बस्ने समेतको व्यवस्था गरेको छ । संस्थाहरुले तालिमका लागि भने उमेर तथा शिक्षाको हदबन्दी समेत तोकेको छ । यस्तै सुवर्णले पनि खाना, बस्नसहित निःशुल्क तालिमको व्यवस्था गरेको छ भने पहिलो प्राथमिकतामा भने दुवै केन्द्रले विदेशबाट फर्केका युवाहरुलाई राखेको छ । २०७० मा स्थापना भएको सुवर्णले भने गार्मेन्टका साथै क्लिनरको समेत तालिम दिने गरेको छ ।

निखिलमा खाडीलगायतका मुलुकबाट रोजगारदाता आएर नै नेपाली कामदार लैजाने गरेको छ भने सुवर्णमा पनि विदेशी रोजगारदाताले नै नेपाली कामदारको माग गरेको छ भने दुवै संस्थाले तािलम दिएका युवाहरुलाई वैदेशिक रोजगारीमा जानको लागि सहजीकरण गरेका छन् ।

तालिम लिनका लागि संस्थामा विभिन्न जिल्लाबाट भने आप्रवासी स्रोत केन्द्र (एमआरसी)मार्फत आउने गरेको पाइन्छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा वैदेशिक रोजगारी नेपालीहरुको लागि उपयुक्त विकल्प बनेको छ । वर्षेनी लाखौँ युवाहरु विदेशिँदा दक्ष युवाहरु भने कमै मात्रै अर्थात् करिब दुई प्रतिशत विदेशिने गरेको पाइन्छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी)ले दुवै तालिम केन्द्रहरुको नेतृत्व लिएको पाइन्छ । सामीले मुलुकको आप्रवासन तथा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यका साथ युवाहरुलाई तालिम दिने कार्य गर्दै आएको पाइन्छ । सरकारले दक्ष कामदारको विषयमा यथोचित ध्यान नदिँदा सामीजस्तो संस्थाले वैदेशिक रोजगारीको क्षेत्रमा पु¥याएको योगदानलाई महत्वपूर्ण रुपमा लिन सकिने सामीका अधिकारीहरु बताउँछन् ।

सामी नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रत्रालय र ३९ वटा जिल्लाका एक सय ५६ स्थानीय सरकारहरुको नेतृत्वमा सञ्चालित छ भने परियोजनाको लागि प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया