Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एसियामै पहिलो

देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एसियामै पहिलो


काठमाडौँ ।

नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । दक्षिण एसियाका अन्य देशहरुमा पनि यो प्रविधिमा माटोको नक्सा तयार गरिए पनि ती सीमित क्षेत्रमा छन् । तर नेपालमा भने देशैभरको माटोको नक्सा तयार भएको छ ।

माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जीपीएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । उक्त नक्साको बुधबार कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेरबदल नआउने जिकिर गरेका थिए । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको बताए । उनले आफू जस्तोसुकै परिस्थितिमा पनि दृढताका साथ यो देश बनाई छोड्ने अभियानमा रहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले माटोको डिजिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको दाबी गरे । ‘नक्साले माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, प्रधानमन्त्री ओलीले भने ।

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्न सक्नेछन् । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

देशमा पर्याप्त उत्पादन भए पनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनुपर्ने भनाइ थियो । ‘हामीसँग प्रशस्त खाद्यबाली छ । तर हामीलाई लामा सिता भएका पातलो चामल चाहिन्छ । खाने होइन ज्यूनार गरेजस्तो लाग्ने, भात होइन भुजाजस्तो लाग्ने’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो त्यही मोटो चामललाई पेलेर लामो, पातलो बनाइएको नक्कली चामल हो । कुनै धान देख्नुभएको छ १ इञ्च लामो ? त्यो सब धोका हो । पेलेर लामो बनाइएका हुन् । सब नक्कली हुन् ।’

देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै प्रतिशतको तुलना अलि नमिलेको बताए । यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धिमा जानुपर्ने पनि प्रधानमन्त्रीले बताए । ‘ठूलो मात्रामा उत्पादन गरेमा हामीले निर्यात गर्न बजार पाउँछौँ । तर त्यसका लागि गुणस्तर, सहज मूल्य र समयमै आपूर्ति गर्नसक्ने क्षमता आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने, ‘कृषिमा दिइने अनुदानलाई दुरुपयोग नहुने गरी परिवर्तन गरिएको छ । अब कृषिमा युवाहरुलाई आकर्षित गरिनुपर्नेछ ।’

सानो स्केलको उत्पादनले अब विकास नहुने भन्दै प्रधानमन्त्री ओलीले ठूलो स्केलको उत्पादनमा जानुपर्ने बताए । ‘एक डोको भिण्डी, एक डोको करेला फलाएर बजार पाएन भन्नु बेकार हो । अब हामी ठूलो मात्राको उत्पादनमा जानुपर्छ । ठूलो मात्राको उत्पादन गर्नुस् सरकारले बजारको व्यवस्था गर्छ’, प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताइन् । माटोको विद्युतीय नक्सांकनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्नेजस्ता जानकारी सहजै लिनसक्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया