Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशीको अवैध गतिविधि बढ्दै निष्काशनको दर

विदेशीको अवैध गतिविधि बढ्दै निष्काशनको दर


काठमाडौँ, पुस २४
सुन तस्करीमा संलग्न चिनियाँ नागरिक माओ विङ र माफु निङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले साउन १२ गते आवश्यक जरिवाना तिराएर उनीहरुलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्काशन गरियो । चोरीमा संलग्न चीनकै वाङ सीलाई साउन पहिलो साता एक वर्षसम्म नेपाल आउन नपाउने गरी निष्काशन गरियो । बुधबारमात्रै १ सय २२ जना चिनियाँ नागरिकलाई पर्यटक भिसामा आएर अवैध क्रियाकलाप गरेको भन्दै सरकारले निष्काशन गरेर चीन फर्काएको छ । उनीहरु अब चार वर्ष नेपाल आउन पाउनेछैनन् ।

चालू आर्थिक वर्षमा मात्रै विभिन्न आपराधिक घटनामा जोडिएका पाँच र बुधबार समेत गरेर १ सय २७ जना चिनियाँ नागरिक निष्काशनमा परेका छन् । बैंकिङ प्रणालीलाई नै चुनौती दिनेगरी गत भदौ १४ गते एटिएमको स्विच ह्याक प्रकरणमा छ जना चिनियाँ नागरिक काठमाडौँबाट पक्राउ परे । पक्राउ परेका झू लियाङ्याङ, लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन छु लुई लीले बैंकिङ कसुरमा मुद्दा खेपिरहेका छन् ।

जापानका ताकेनाका मिकुलाई लागुऔषध मुद्दामा गत असार ६ गतेको गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले १० वर्ष नेपाल प्रवेशमा रोक लगाउने गरी निष्काशन गरिएको छ । निष्काशनमा परेकाहरु नक्कली भिसा, जाली पासपोर्ट, ठगी, चोरी, सुन तस्करी र लागुऔषधमा संलग्न भएकाहरु छन् । कतिपय नेपाललाई ट्रन्जिट बनाएर युरोप अमेरिका जान प्रयास गर्नेहरुसमेत पक्राउ परी निष्काशन गरिएको अध्यागनन विभागका अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मी बताउँछन् ।

विगत तीन वर्षदेखिको विवरणमा विदेशीहरु निष्काशन हुने क्रम बढेको देखिन्छ । पर्यटन भिसामा आएर त्यसको दुरुपयोग गरी आपराधिक क्रियाकलापमा लाग्ने र भिसा सकिएर पनि बढी समय बस्ने दुवै प्रकृतिका घटनामा निष्काशन गरिएको दर वृद्धि भएको विभागको अभिलेखबाट पुष्टि हुन्छ । यसरी निष्काशन हुनु भनेको आपराधिक क्रियाकलापमा समेत विदेशीको संलग्नता बढ्नु पनि हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल निष्काशनको दर बढ्नु पनि एक किसिमले आपराधिक क्रियाकलाप बढेको भन्न सकिने भए पनि त्यो नै पर्याप्त आधार भने नभएको जिकिर गर्छन् ।

आपराधिक गतिविधि गर्ने विदेशी व्यक्तिहरु प्रवेश पाएका र त्यस्ता घटनामा संलग्न व्यक्तिहरु पटकपटक पक्राउ पर्नुले विदेशी व्यक्तिको चलखेल बढेकामा भने नकार्न नसकिने उनको भनाइ छ । विदेशीबाट हुने अपराध रोक्न चुस्त अभिलेखीकरण गरेर विदेशी व्यक्तिका गतिविधिको निगरानी गर्ने संयन्त्र निर्माण गर्नुपर्ने पोखरेल बताउँछन् । नेपालमा प्रवेश पाएपछि विदेशीहरुले केके गरिरहेका छन् भन्ने अनुगमन गर्ने संयन्त्र नेपालमा छैन । पछिल्लो समयमा केही सुधार भए पनि संयन्त्र प्रभावकारी बन्न सकिरहेको देखिँदैन । अध्यागमन विभागको अभिलेखमा आब २०७३/७४ मा कुल ४ सय जना विदेशीलाई निष्काशन गरिएको थियो । आव २०७४/७५ मा ६ सयभन्दा बढी निष्काशनमा परे । गत आर्थिक वर्षमा ६ सय ६८ जनालाई सरकारले निष्काशन गरेको छ । चालु आर्थिक वर्षमा मात्रै ४४६ जना निष्काशन भइसकेका छन् ।

प्राप्त विवरणमा यसरी निष्काशन हुने मध्य आपराधिक क्रियाकलापमा संलग्न विदेशीको सङ्ख्या पनि क्रमशः बढ्दो छ । विभागले दिएको जानकरीअनुसार आव २०७३/७४ मा विभिन्न आपराधिक गतिविधिमा संलग्न ८७ विदेशीलाई निष्काशन गरिएको थियो । आव २०७४/७५ मा बढेर ९९ पुग्यो । गत आर्थिक वर्षमा १२७ जना विदेशीलाई आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएपछि जरिवाना तिराएर निश्चित समय नेपाल प्रवेश गर्न नपाउने गरी निष्काशन गरिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १२२ चिनियाँ नागरिकबाहेक मात्रै ४९ जना विदेशी निष्काशनमा परिसके ।

उनीहरु नक्कली भिसा, जाली पासपोर्ट, ठगी, चोरी, सुन तस्करी, लागुऔषध, हातहतियार ओसारपसार, यौन दुराचार, अभद्र व्यवहार कल बाइपास, सङ्गठित अपराध जस्ता घटनामा संलग्न थिए । उनीहरु अदालतको कारवाही झेलेर अध्यागमन हुँदै निष्काशनमा परेका व्यक्ति हुन् । निष्काशनमा परकामध्ये सबैभन्दा धेरै प्रवेशाज्ञामा तोकेकोभन्दा बढी समय बस्नेहरु रहेका विभागका निर्देशक रामचन्द्र तिवारी बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया