Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलम्चीको पानी काठमाडौं झारियो

मेलम्चीको पानी काठमाडौं झारियो


काठमाडौँ । नेपालको इतिहासकै सर्वाधिक चर्चित र बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आयोजना सुरु गरिएको करिब २० वर्षपछि शनिबार साँझ काठमाडौंको सुन्दरीजलमा खसालिएको छ ।संसदीय दलको बैठकपछि बालुवाटरबाट सिधै सांसद र मन्त्रीसहित सुन्दरीजल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको स्विच थिचेर मेलम्चीको पानी सुन्दरीजलबाट वाग्मती नदीमा खसालेका हुन् ।

उक्त सुरुङमा मेलम्ची खोलाको मुहानबाट यही फागुन १० गते सोमबार पानी हालिएको थियो । पानी भरिन शनिबारसम्म लागेको हो । साढे २६ किलोमिटर लामो उक्त सुरुङमा निर्माणको क्रममा रहेका फोहोर बगाउनुपर्ने भएको कारण मेलम्चीको पानी सुन्दरीजलबाट वाग्मती नदीमा बगाइएको हो । करिब एक सातासम्म मेलम्चीको पानी वाग्मती नदीमा बग्नेछ । यसले वाग्मती नदीलाई पनि सफा बनाउन सहयोग गर्नेछ ।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ । त्यसपछि मेलम्ची खोलामा याङ्ग्री र लार्के खोलाको क्रमशः १७÷१७ करोड लिटर पानी हालेर सोही सुरुङमार्फत काठमाडौंमा दैनिक ५१ करोड लिटर पानी ल्याइनेछ । याङ्ग्री र लार्केको पानी ल्याउनको लागि भने अर्को आर्थिक वर्षमा ठेक्का लाग्ने बताइएको छ ।

आर्थिक वर्ष २०५८÷०५९ बाट आयोजना सुरु गर्दा आर्थिक वर्ष २०६४÷०६५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । विक्रम सम्वत् २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौंबाट चुनाव उठेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफूले निर्वाचन जिते काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेका थिए ।

२०५७ सालमा एसियाली विकास बैंक (एडीबी) लगायतका दातृनिकायसँग ऋण सम्झौता भएपछि सरकारले आर्थिक वर्ष २०५८÷०५९ मा उक्त आयोजना सुरु गरेको थियो । यद्यपि २०५२ सालमै मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो । आयोजना आर्थिक वर्ष २०६४÷०६५ मा सम्पन्न गर्ने भने पनि दातृनिकायसँगको मतभेदका कारण निर्माण नै तोकिएको मितिमा थाल्न सकिएको थिएन ।

त्यसपछि आयोजना सुरु भएपछि ठेकेदार र आयोजनाबीच विवाद हुँदा २०६९ सालमा सुरुङ खन्ने ठेक्का तोडिएको थियो । पहिलो ठेक्का चिनियाँ कम्पनीले पाएको थियो । त्यसपछि २०७० सालमा इटालियन ठेकेदार सीएमसीलाई सुरुङको ठेक्का दिए पनि भूकम्प र नाकाबन्दीको बहाना बनाउँदै काम गरेन । २०७५ सालमा आइपुग्दा उक्त कम्पनी नै टाट उल्टिएपछि २०७६ साल असोजमा चीनको अर्को कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएपछि काम सकेर मेलम्चीमा पानी खसालिएको हो । अहिले मेलम्चीमा अस्थायी प्रकृतिको बाँधबाट पानी ल्याइएको छ । त्यहाँ स्थायी प्रकृतिको बाँध बनाउने काम जारी छ ।

मेलम्चीको पानी काठमाडौंमा आए पनि उपभोक्ताको धारामा पनी आउन भने अझै दुई साताभन्दा बढी समय कुर्नुपर्नेछ । घर–घरमा पानी लैजान बिछ्याइएको पाइपको परीक्षण गरेर मात्र विभिन्न पोखरीमार्फत पानी पठाइनेछ । अझै करिब १० किलोमिटर क्षेत्रमा वितरण पाईप बिछ्याउन बाँकी छ । पहिलो चरणमा सरकारले एक हजार एक सय किलोमिटर पाईप बिछ्याएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया