Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटर्कीको इलिट कम्पनीमा लैजाने भन्दै ठगी

टर्कीको इलिट कम्पनीमा लैजाने भन्दै ठगी


काठमाडौं ।
टर्कीको इलिट टुरिजम इन्भेष्टमेन्ट कम्पनीमा कामदारको रुपमा लैजाने भन्दै ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले इलिटमा नेपाली कामदार लैजाने भन्दै ठगी गर्ने तथा टर्कीमा पुगेपछि समेत सो कम्पनीले काम तथा सेवा सुविधा समेत नदिई कामदारहरुलाई अप्ठ्यारोमा पारेको भन्दै विभागसमक्ष उजुरी आएको जनाएको छ ।

यस्तै विभागले उक्त कम्पनीविरुद्ध कति उजुरी आयो कति ठगी गरे भन्ने विषयमा भने कुनै जानकारी दिन चाहेको छैन भने यसैबीच स्वयं विभागले नै इलिटमा कामदारको रुपमा जान चाहने, जान लागेकाहरु चनाखो भई सो कम्पनीबारे राम्रोसँग बुझेर मात्र काम गर्न जान आग्रह गरेको समेत पाइएको छ । विभागले टर्की मात्र नभई गन्तव्य मुलुक जाँदा पनि आवश्यक जानकारीहरु प्राप्त गरी आवश्यक वैधानिक प्रक्रिया अपनाई सम्भाव्य ठगी हुनुबाट बच्न युवाहरुलाई आग्रह गरेको छ ।

टर्की मात्र नभई गन्तव्य मुलुक लैजाने भन्दै व्यक्ति तथा संस्था (मेनपावर)ले चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) को अवधिमा २७ करोड ८७ लाख रुपैयाँ ठगी गरेको छ । विभागका अनुसार सात महिनाको अवधिमा व्यक्तिगततर्फ १९ करोड ६९ लाख रुपैयाँ र संस्थागततर्फ आठ करोड १८ लाख रुपैयाँ ठगी भएको भन्दै पीडितहरुले विभागसमक्ष उजुरी दिएका छन् ।
विभागका प्रवक्ता टिकामणि नेउपानेले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको भन्दै प्रशस्त युवाहरु उजुरी लिएर आएको भन्दै विदेश जाने युवाहरुलाई सचेत रहन आग्रह गरे ।

विभागको वेबसाइट छ विभिन्न सरकारी निकायहरु छ, ती ठाउँमा गई युवाहरुले गन्तव्य मुलुकको बारेमा जानकारी लिँदा विदेश पठाउने नाममा हुने ठगीबाट युवाहरु जोगिनसक्ने उनको भनाइ छ । तर, विभिन्न निकाय, सञ्चारमाध्यम, सूचना सम्प्रेषणलगायतका वैदेशिक रोजगारीको जानकारी दिए पनि युवाहरुले त्यसलाई बेवास्ता गर्दा ठगीमा पर्ने गरेका छन् भने ठगिएपछि मात्र सचेत हुँदै सरोकारावाला निकायमा जाने उनीहरुको प्रवृत्तिले गर्दा ठगिनुबाट जोगिन नसकेको सरोकारावालाहरुको भनाइ छ ।

विभागका अनुसार विदेश जाने नाममा ठगीमा परेसँगै युवाहरु तथा पीडितहरुले चालू आवको सात महिनाको अवधिमा व्यक्तिगततर्फ दुई सय २४ वटा उजुरी विभागमा दर्ता गराएका छन् । प्रवक्ता नेउपानेका अनुसार हामीले व्यक्तिगततर्फको उजुरीको विषयमा विभागले सामान्यरुपमा मेलमेलाप तथा बिगो भराउने काम गर्छ भने सो विषयमा सहमति हुन नसकेमा वैदेशिक रोजगार न्यायाधिकरण पठाउने गर्छ । सोही कारण हाल व्यक्तिगतर्फको ६४ वटा मुद्दा अदालतमा रहेको बताइएको छ । युवाहरुले अदालतसमक्ष ११ करोड ४८ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेका हुन् ।

यस्तै साउनदेखि माघसम्मको समयमा मेनपावरले ठगी गरेको भन्दै युवाहरुले दुई सय ५८ वटा उजुरी विभागमा परेको छ भने छ करोड ८८ लाख रुपैयाँ बिगो दाबी समेत गरिएको छ । युवाहरुलाई विदेश पठाउने नाममा रकम लिएर पनि विदेश नपठाउने, भनेअनुसार रोजगारी नदिलाउने, विदेशमा अलपत्र पार्नेलगायतका गतिविधि गरी उनीहरुलाई व्यक्ति तथा मेनपावरले ठगी गरेको पाइन्छ ।

यस्तै पछिल्लो समयमा भने विभागले संस्थागततर्फको समस्या समाधानको लागि निरन्तर प्रयासरत रहेको पाइन्छ भने सोही क्रममा सात महिनाको अवधिमा पीडितहरुलाई ५० लाख रुपैयाँ मेनपावरमार्फत असुलउपर गरी क्षतिपूर्ति समेत भराएको छ । ठगी भएकामध्ये थोरै रकम भए पनि पीडितहरुलाई दिलाएर विभागले राम्रो काम गरेको छ ।

यसैबीच करोडौं ठगिएको उजुरी आए पनि बिगो न्यून भराउँदा विभागको कारबाही प्रक्रिया सन्तोषजनक छ भन्न सकिने अवस्था भने छैन । विभागका अधिकारी, विज्ञ तथा सरोकारावालाहरु भने वैदेशिक रोजगारीको नाममा ठगीबाट बच्नको लागि सर्वप्रथम युवा आफैँ सचेत हुनुपर्ने बताउँछन् । उनीहरु विदेश जाने भने सँगै जोसुकैलाई विश्वास गर्ने र आवश्यक जानकारी लिने प्रयास नगर्दा युवाहरु ठगिन पुगेका बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया