Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमतपत्र छपाइको लागि मेसिन तयारी राख्न निर्देशन

मतपत्र छपाइको लागि मेसिन तयारी राख्न निर्देशन


काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा समग्री केन्द्र संस्थान लिमिटेडलाई मतपत्र छपाइको लागि मेसिन तयारी हालतमा राख्न निर्देशन दिएका छन् । मंगलबार केन्द्रको निरीक्षण गर्न पुगेका उनले निर्वाचन गर्ने समय आएको भन्दै मतमत्र छाप्ने तयारी थाल्न निर्देशन दिएका हुन् । निर्वाचन आयोगमा रहेका मेसिनहरू पनि तत्काल केन्द्रमा ल्याउने व्यवस्था मिलाउन उनले निर्देशन दिए ।

यस्तै मन्त्री श्रेष्ठले नजिकिँदै गएको शैक्षिक सत्रको लागि समयमै पाठ्यपुस्तक छपाई गरी सम्बन्धित क्षेत्रमा पु-याउन समेत निर्देशन दिए । हरेक वर्ष पाठ्यपुस्तक अभाव भएको समाचार आउने गरेको भन्दै उनले यसवर्ष समयमै पाठ्यपुस्तक पु-याउने विषयमा ध्यान दिन आग्रह गरे । उनले भने, ‘आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक नपुगेको सुन्न पाइने छैन ।’ पहिला दुर्गममा पुस्तक पु-याएपछि मात्रै सुगममा पुस्तक पु-याउने व्यवस्था गर्न पनि उनले आग्रह गरे । कक्षा ६ को पाठ्यपुस्तको प्रिन्ट रेडी कपी (पीआरसी) तत्काल ल्याएर छपाइ गर्ने व्यवस्था गर्न समेत उनले निर्देशन दिए । केन्द्रले कक्षा १ देखि १२ सम्मको पुस्तक छपाइ जिम्मा पाएको छ । केन्द्रले आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ११ सम्मको १ करोड ४७ लाख १३ हजार नौ सय ९९ थान पुस्तक छपाइ गरिसकेको जनाएको छ ।

यस्तै उनले आन्तरिक राजस्व विभागको स्टिकर, कक्षा १० र १२ को प्रश्नपत्र र उत्तरपुस्तिका, सीर्टईभीटीको उत्तरपुस्तिका छपाइको अवस्थाबारे जानकारी लिँदै यस्ता महत्वपूर्ण कामलाई तीव्रता दिन आग्रह गरे । शिक्षा मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया आगामी शैक्षिकसत्रमा पाठ्पुस्तकको अभाव हुन नदिने दाबी गरे । यस्तै संस्थाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने बचनबद्धता व्यक्त गरे । उनले केन्द्रले सुरक्षण मुद्रणालयमा थप मेसिन ल्याएर थप नयाँ नयाँ काम अघि बढाउने, ऋणमा रहेकाको संस्थालाई ऋणमुक्त गराउने र संस्थाको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया