Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकतार रोजगारीमा सरकारको उपस्थिति भए प्रतिवाद गर्ने मेनपावर व्यवसायीको धम्की

कतार रोजगारीमा सरकारको उपस्थिति भए प्रतिवाद गर्ने मेनपावर व्यवसायीको धम्की


काठमाडौं ।
ठगीका कारण वैदेशिक रोजगारी बदनाम रहेको छ । सरकार स्वयंको उपस्थितिमा विदेश जाने युवाहरुलाई पठाउनसकेको छैन भने निजी क्षेत्र अर्थात् मेनपावरले गुणस्तरीय सेवा प्रदान नगर्दा विदेशीको रोजगारी आलोचित र समस्याले भरिपूर्ण रहेको छ । यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउँदा सरकार–सरकारबीच (जीटुजी)मार्फत पठाउने जनाएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा श्रममन्त्री गौरीशंकर चौधरीले जापान र कतार रोजगारीमा सरकारको प्रत्यक्ष संलग्न हुने बताए । ‘रोजगारीका लागि युवाहरुलाई जापान पठाउनको लागि मन्त्रालयले कार्यविधि तयार गर्दै छ भने कतार पठाउने विषयमा भने दुई मुलुकका सरकार अर्थात् जीटुजी मोडेलमा काम गर्ने विषयमा दुई पक्षबीच छलफल भएको छ’, उनले भने, ‘जापानको हकमा भने मन्त्रालयले जीटुजी मोडेलमा कार्यविधि निर्माण गर्दै छ भने कतारको हकमा भने राजदुतसँग छलफल चलिरहेको छ ।’

यस्तै श्रममन्त्री चौधरीले मेनपावरले विदेश जाने युवाहरुलाई ठगी गरेको समेत बताएका छन् । ‘विदेश पठाउने भन्दै युवाहरुलाई मेनपावरले ठगी गरेका छन्’, उनले भने, ‘विदेश पठाउने भन्दै मेनपावरहरुले युवाहरुबाट लाखौँ रुपैयाँ लिने तर रसिद भने १० हजार रुपैयाँको बनाउने गरेका छन् । ठगिएका युवाहरु सरकारी कार्यालयमा आफ्नो समस्या सुनाउन जाँदा रसिदमा न्यून रकम र ठगिएको रकम धेरै हुँदा सरकारी अधिकारीहरुलाई कारबाही प्रक्रिया अघि बढाउन कठिन हुने गरेको छ ।’

यसैबीच श्रममन्त्री चौधरीको सो अभिव्यक्ति बाहिर आउनेबित्तिकै निजी क्षेत्र अर्थात् मेनपावर व्यवसायी (नेपाल वैदेशिक रोजगारी व्यवसायी संघ) भने सशंकित हुनपुगेका छन् । संघले विज्ञप्ति नै जारी गर्दै कतार रोजगारीमा सरकार स्वयंको उपस्थिति भए विरोध गर्ने जनाएको छ । संघका अध्यक्ष विष्णु प्रसाद गैरेले कतार सरकारसँग जीटुजी सम्झौता गरिएकोमा संघले सशक्त विरोध गर्ने बताए । यस्तै मेनपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै सरकारले लाखौं रुपैयाँ लिएको तर निजी क्षेत्रले रकम लिँदा भने सरकारले अवरोध गरेको भन्दै सरकारप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

सरकारले कोरिया, इजरायल पठाउँदा लाखौँ रुपैयाँ लिने तर व्यवसायीलाई शून्य लागतमा पठाउनुपर्छ भन्ने र व्यवसायीले गरेको करोडौंको लगानीबाट आफूले नाफा लिने प्रवृत्तिको विरोध गर्दै कतार सरकारसँग जीटुजी सम्झौता भएमा सशक्त विरोध गर्ने संघको भनाइ छ । यसैबीच मेनपावर व्यवसायीले वैदेशिक रोजगारीमा ठगी, प्रलोभनलगायतका विसंगति रहेको विषयलाई भने स्वीकार गरेको छ । संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विकृति, विसंगति र समस्याहरु हरेक क्षेत्र पेशा व्यवसायमा हुन्छन्, छन् । वैदेशिक रोजगारीको व्यवसायमा पनि केही विकृति विसंगति होलान् र यी विकृति, विसंगति र समस्यालाई समाधान गर्न संघले पहल गरिरहेको छ र समस्या समाधानका लागि सरकारसँग सहकार्य गरिरहेको छ ।’

यता विज्ञ तथा सरोकारवालाहरु भने निजी क्षेत्रलाई लगानी गर्ने ठाउँ प्रशस्त रहेको हुँदा कतार पठाउने विषयमा सरकारको उपस्थितिमा आपत्ति जनाउन नपर्ने बताएका छन् । निजी क्षेत्रका लागि लगानी गर्न कृषि, सेवा, पर्यटन लगायतका विभिन्न क्षेत्र छन् भने कतार रोजगारीलाई सरकारले व्यवस्थित बनाउन खोज्छु भन्दैमा व्यवसायीहरु आत्तिहाल्नुपर्ने स्थिति नरहेको उनीहरुको भनाइ छ ।

जीटुजी मोडेलबाट जापान पठाउने विषय भने अन्योल नै छ । जापान सरकारले यस मोडेलबाट नेपाली कामदार जापान लैजाने विषयमा छलफल अघि नबढाएसँगै जापान रोजगारीमा अन्योल छाएको हो । २०१९ मार्चमा दुई मुलुकबीच कामदार लैजाने विषयमा सहकार्य गर्ने समझदारी (एमओसी) हस्ताक्षर भएको थियो । यता पछिल्लो समय कतारको हकमा (कोरोना महामारीको समयबाहेक) भने मेनपावरले नियमित रुपमा कामदार पठाएका छन् ।

यस्तै मन्त्री चौधरीले दक्षिण कोरियाको हकमा भने रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत आउने कामदारको माग संख्या घटाएर आएको बताए । ‘ईपीएसअन्तर्गत कामदारको माग संख्यामा कमी आएको छ’, मन्त्री चौधरीले भने, ‘कोटा बढाउनको लागि नेपालस्थित कोरियाली राजदूतसँग छलफल चलाएका छौं तथा छ महिना थप गर्न आग्रह गरेका छौँ, प्रक्रिया पूरा गर्दा छ महिना लाग्छ होला ।’

जापानले विभिन्न मुलुकबाट लाने श्रमिकका लागि १४ क्षेत्रमा रोजगारी खुला गरेकोमा नेपालीलाई भने नर्सिङ केयर गिभरमा लैजानलागेको हो । यस्तै नेपालसहित अन्य मुलुकबाट जापानी पक्षले कृषि, नर्सिङ केयर, होटेल, सुरक्षा, अटोमोबाइल, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान इच्छुक रहेको बताउँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया