Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजारको पुँजी ३० खर्ब ७९ अर्ब ९४ करोड

सेयरबजारको पुँजी ३० खर्ब ७९ अर्ब ९४ करोड


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डमा चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा एक खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी छ महिनाको प्रतिवेदनअनुसार यस अवधिमा एक खर्ब ५० अर्बबराबरको विकास ऋणपत्र, १३ अर्ब ८३ करोडबराबरको साधारण सेयर, सात अर्ब २६ करोडबराबरको बोनस सेयर, सात अर्बबराबरको डिबेन्चर, दुई अर्ब ५० करोडबराबरको हकप्रद सेयर र ६५ करोडबराबरको म्युचुअल फण्ड गरी कुल एक खर्ब ८१ अर्ब २५ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

यस अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ४६ करोडबराबरको साधारण सेयर, छ अर्ब ६४ करोडबराबरको डिबेन्चर, एक अर्ब ९६ करोडबराबरको हकप्रद सेयर र एक अर्ब ५० करोडबराबरको म्युचुअल फण्ड गरी कुल २० अर्ब ५६ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा १२ सय ६३ दशमलव चार अंकमा रहेको नेप्से सूचकांक २०७७ पुस मसान्तमा २२ सय ८६ दशमलव छ अंकमा पुगेको छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा यस्तो सूचकांक १३ सय ६२ दशमलव चार अंकमा रहेको थियो । २०७७ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण भने २०७७ असार मसान्तमा १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७७ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार/चार होटल तथा व्यापारिक संस्था र छ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१ दशमलव नौ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा छ दशमलव चार प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव सात प्रतिशत, होटेलको हिस्सा शून्य दशमलव आठ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव पाँच प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १५ दशमलव सात प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ पुससम्ममा सूचीकृत पाँच अर्ब ३५ करोड सेयरको चुक्ता मूल्य पाँच खर्ब २५ अर्ब ७९ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया