Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारीले ठग्यो पूर्वउपराष्ट्रपतिदेखि पूर्वसचिवसम्मलाई

सहकारीले ठग्यो पूर्वउपराष्ट्रपतिदेखि पूर्वसचिवसम्मलाई


काठमाडौं । काठमाडौंको धुम्वाराही आनन्दनगरमा रहेको आनन्द नगर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र केही कर्मचारीको मिलेमतोमा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनालीसहित उच्च अधिकारीहरू नै ठगिएको पाइएको छ । पूर्वउपराष्ट्रपति झा र पूर्वसचिव मैनालीलगायत करिब १६ सयभन्दा बढी सर्वसाधारण सेयरधनी तथा बचतकर्ताको ५० करोडभन्दा बढी रकम हिनामिना भएको छ ।

ठगी गर्ने पूर्वसञ्चालक र व्यवस्थापकलाई दिएको रकम फिर्ता गर्न पटक–पटक अनुरोध गरी समय दिन्दा समेत भुक्तानी नगरेपछि सहकारी पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका छन् । २०६५ सालमा स्थापना भएको भएको सहकारीमा पूर्वउपराष्ट्रपति परमानन्द झा र पूर्वसचिव श्याम मैनाली समेतले बचत गरेका थिए ।

सहकारीमा भीभीआईपीको समेत बचत खाता रहेको भन्दै सहकारीले अन्य सर्वसाधारणबाट पनि करोडौँ बचत संकलन गरिएको थियो । त्यसपछि सञ्चालक र व्यवस्थापनको मिलेमतोमा ठगी भएको एक पीडितले बताए । ठगी भएको रकम कसको कति भन्ने खुलेको छैन । ‘टोलका स्थानीय मिलेर २०६५ सालमा सहकारी स्थापना गरिएको सहकारीले २०६८ सालबाट सहकारीको नेतृत्वमा रहेका सञ्चालक समिति र व्यवस्थापकले ठगी गर्ने नियतले गलत अडिट रिपोर्ट तयार गरेर मुनाफा बढी देखाउन सुरु गरेका थिए भने धेरै बचत संकलन गरेर ठगी गर्ने नियत राखेका थिए’, एक पीडितले भने । ‘सचिवज्यू र उपराष्ट्रपतिले पनि बचत गर्नुभएको छ । तपाईँहरु पनि पैसा राख्नुस् भनेपछि विश्वास गरेर सहकारीमा बचत ग-यौँ । तर २०७६ मा सहकारीमा बचत फिर्ता माग्न जाँदा सहकारीले विभिन्न बहानामा बचत फिर्ता गर्न आलटाल ग-यो सहकारी’, ती पीडितले भने ।

पूर्वउपराष्ट्रपति झा, पूर्वसचिव मैनाली, मानवअधिकारवादी, अधिवक्तालगायत नौ सय ९९ जना बचतकर्ता र छ सय ७९ जनाको सेयरधनीको ५० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा उजुरी हालेको उनले बताए । २०७६ देखि बचत फिर्ता नदिएको सहकारीको व्यवस्थापक फरार भई भारतमा पुगेका बेला पक्रेर लेराउँदा २०६८/०६९ बाट नै सञ्चालकहरु समेतको मिलेमतोमा ठगी गर्ने उद्देश्यले गलत अडिट रिपोर्ट बनाएर बढी मुनाफा कमाएको विवरण सेयरधनीलाई देखाउँदै लाभांश बाँड्दै आएको खुलेको पूर्वसचिव मैनालीले बताए । सञ्चालकहरुले माघ महिनाभित्र रकम फिर्ता गर्ने भनेर माइन्युट समेत गरेर पनि पैसा फिर्ता नगरेपछि सेयरधनीहरुले महानगरिय प्रहरी अपराध महाशाखामा उजुरी दिएर कानुनी प्रक्रिया सुरु गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया