Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजदूत डेप्रेज र परिसंघ पदाधिकारीबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल

राजदूत डेप्रेज र परिसंघ पदाधिकारीबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल


काठमाडौं ।
नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच छलफल भएको छ । परिसंघका अनुसार द्विपक्षीय सम्बन्ध र व्यापार प्रवर्द्धनका विषयमा राजदूतसँग छलफल भएको हो । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापारघाटा बढ्दै गएको बताए ।

यसैलाई मध्यनजर गरी परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई अगाडि बढाएको राजदूत डेप्रेजलाई बताए । अध्यक्ष मोरले विगतमा युरोपियन युनियन र परिसंघको सहकार्यमा अगाडि बढाइएका कार्यक्रम र परियोजनाहरूको बारेमा प्रकाश पारे । आगामी दिनमा परिसंघले युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउँदै हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाइ उड्डयनलाई लगाएको प्रतिबन्ध हटाउनु पर्ने धारणा व्यक्त गरेका छन् । अध्यक्ष मोरले नेपालको हवाइ उड्डयन क्षेत्रले सुरक्षामा विशेष ध्यान पु-याइरहेकोले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गरे  ।

त्यसैगरी भारतसँग भएको व्यापार सम्झौताअनुसार शुल्कमुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ त्यसतर्फ सहयोग पु-याउन राजदूत डेप्रेजलाई अनुरोध गरेका छन् । सीप विकासबाट नै उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले प्राविधिक सीप विकासमा सहयोग पु-याउन आग्रह गरेका छन् ।

परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कम विकसित राष्ट्रबाट माथि जाँदै गर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधाहरू स्वतः हट्ने भएकोले युरोपका मुलुकमा भएको व्यापार १० प्रतिशतले घट्नेतर्फ संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताएका छन् । उनले नेपाल र युरोपियन युनियनको सम्बन्धमाथि प्रकाश पार्दै नेपालमा औद्योगिक सर्भे नभएको र भएका सर्भेहरू पनि सम्बन्धित संस्थाको सीमित प्रयोजनका लागि भएकाले परिसंघले औद्योगिक सर्भे नियमितरूपमा प्रकाशन गर्दै जाने बताए ।

परिसंघ उत्पादनमूलक उद्योगमा केन्द्रित भएकोले सरकारसँग सहकार्य गरिरहेको बताउँदै परिसंघले कृषिजन्य र विटुमिनलगायतका कम्तीमा आठवटा उद्योगसँग सम्बन्धित वस्तुको आयात प्रतिस्थापन गर्नेतर्फ परिसंघ अगाडि बढेको बताए ।

परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरहरूको साझा मञ्चको रूपमा युनियन अफ एसियन चेम्बर गठन गर्न लागेको बताउँदै युरोपका चेम्बरहरूसँग सम्भावित व्यापार साझेदारको लागि समन्वय गरिदिन अनुरोध गरे । त्यसैगरी युरोपियन युनियनले युरोपका कम्पनीहरूसँग प्राविधिक सहकार्य गर्न र सीप विकासको लागि सहयोग गर्न अनुरोध गरे । युरोपियन लगानीमा रहेको ईआईडीसी पूर्वाधार विकासमा केन्द्रित भएकोले त्यसमार्फत नेपालमा लगानी बढाउन अनुरोध गरे ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले युरोपियन युनियनको आर्थिक सहयोग र दक्षतासँगको सहकार्यमा निजी क्षेत्रको आवश्यकताअनुरूप युवा जनशक्तिको सीप विकास गर्नको लागि निजी क्षेत्रको सहभागितामा श्रमबजार सूचनासम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्न ईएलएमएस परियोजना अगाडि बढाइरहेको बताए ।

राजदूत डेप्रेजले युरोपियन युनियले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भ उल्लेख गर्दै नीतिनिर्माणमा सहयोग पु¥याउन इच्छुक रहेको बताए । स्वस्थ व्यक्ति, स्वस्थ पृथ्वीको अवधारणा अगाडि सार्दै मानव गतिविधिको कारण वातावरणमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न ग्रीन टेक्नोनोजीलाई प्रवर्द्धन, प्रविधिहरूको विकास, वातावरणसँग सम्बन्धित मापदण्डलाई आत्मसात् गरी कार्बन उत्सर्जन कम गर्नको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने उनको धारण थियो ।

राजदूत डेप्रेजले वैदेशिक लगानीको लागि नियामक निकायबाट सहज नभएको तर्क राख्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राखिन् । नेपाल एलडीसीबाट ग्र्याजुएट भएपछि प्रतिस्पर्धी क्षमता विकास गरी युरोपियन बजारबाट लाभ लिन सकिने बताइन् । त्यसैगरी नेपालबाट युरोपियन युनियनमा आबद्ध देशहरूमा निर्यात हुँदै आएको वस्तुहरू निर्यात गर्न सहयोग गर्ने, पर्यटन प्रवद्र्धनको लागि सहयोग पु-याउने र हवाइ उड्यनका सम्बन्धमा देखिएको समस्यालाई समाधान गर्नको लागि पहल गर्ने बताइन । छलफलमा इयू चेम्बर अफ कमर्सका अध्यक्ष नारायण बजाजलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया