Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगैरआवासीय नेपाली संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

गैरआवासीय नेपाली संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने


काठमाडौं ।
गैरआवासीय नेपाली संघले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय सभाको संयुक्त बैठकले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन पनि संघले अपिल गरेको छ । साथै संघले हवाइ उडान सहजीकरण गर्न पनि सरकारसंग आग्रह गरेको छ ।

पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरराष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न संघले अनुरोध गरेको हो । विदेशबाट नेपाल फर्कँदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायत विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिन समेत संघले सरकारसँग अनुरोध गरेको छ ।

यस्तै बैठकले लामो समयदेखि नै गैरआवासीय नेपाली संघले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि सरकारलाई अनुरोध गरेको छ ।

पछिल्लो दुई सातामा ४१ को निधन : विश्वव्यापीरूपमा फैलिएको कारोना भाइरसका कारण गत दुई सातामा विदेशमा थप ४१ नेपालीको निधन भएको छ । संघका अनुसार भारतमा २९, कतारमा आठ, फ्रान्समा एक, माल्दिम्समा एक, बेल्जियममा एक र प्रोर्चुगलमा एक जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांकअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका चार सय २३ जना नेपालीको कोभिड–१९ का कारणले निधन भएको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा एक लाख सात हजार ८६ नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ९९ हजार दुई सय ५७ जना कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

संघले डा सापकोटाको संयोजकत्वमा डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा रूपक श्री (माल्दिभ्स)लगायत विश्वभर २०० चिकित्सक परिचालन गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया