Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिलालाई कोरोना

६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिलालाई कोरोना


काठमाडौं ।
नेपालमा ६१ दशमलव १२ प्रतिशत पुरुष र करिब ३९ प्रतिशत अर्थात् ३८ दशमलव ८८ प्रतिशत महिलामा कोरोना संक्रमण भएको छ । पुरुषको तुलनामा धेरै कम मात्र महिलालाई कोरोना देखिएको सरकारी तथ्यांकले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार कुल संक्रमितमध्ये तीन लाख ५९ हजार चार सय ३९ जना पुरुष र दुई लाख २८ हजार छ सय ८५ महिला गरी पाँच लाख ८८ हजार एक सय २४ जनामा कोरोना देखिएको पुष्टि भएको छ ।

उक्त संख्यामध्ये चार लाख ९१ हजार नौ जना निको भएका छन् भने ९७ हजार एक सय १५ जना अझै सक्रिय संक्रमित छन् । आइतबार गरिएको परीक्षणमा तीन हजार चार सय ७९ जनामा कोरोना देखिएको छ भने सोही दिन छ हजार छ सय ३६ जनालाई कोरोना निको भएको छ । आइतबार कोरोनाबाट देशभर ९९ जनाको मृत्यु भएको छ । आइतबारसम्म देशभर कोरोनाबाट सात हजार आठ सय ९८ जनाको मृत्यु भइसकेको छ । आइतबार दश हजार चार सय ७१ जनाको पीसीआर विधिबाट र तीन हजार दुई सय ६२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

आइतबारको तथ्यांकअनुसार कोरोना निको हुनेको दर ८३ दशमलव ५ प्रतिशत देखिएको छ । यद्यपि सरकारले पहिलो पटक कोरोना पोजेटिभ देखिएको ११ दिनपछि उक्त बिरामीले परीक्षण नगरे पनि निको भएको मानेर निको हुनेको संख्या घोषणा गर्ने गरेको छ । तर, सबैलाई ११ दिनमा कोरोनाको रिपोर्ट नेगेटिभ आउँदैन । तर, पनि स्वास्थ्य मन्त्रालयले पोजिटिभ देखिएको ११ दिनपछि पुनः परीक्षण गर्न नपर्ने बताउँदै आएको छ ।

आइतबारसम्म कोरोनाबाट ६० वर्षभन्दा माथिका चार हजार दुई सय १६ जना ५० देखि ५९ वर्षका एक हजार पाँच सय ६४ जना, ४० देखि ४९ उमेर समूहका एक हजार एक सय ६१ जना, ३० देखि ३९ वर्ष उमेर समूहका छ सय ५९ जना, २० देखि २९ वर्ष उमेर समूहका दुई सय २६ जना, १० देखि १९ वर्ष उमेर समूहका ३७ जना र नौं वर्षसम्मका ३५ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

आइतबारसम्म पनि नेपालका काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । त्यसमा पनि काठमाडौं जिल्लामा सबैभन्दा धेरै छन् । आइतबार काठमाडौं जिल्लामा सात सय ३१ जनामा कोरोना पुष्टि भएको थियो । आइतबारसम्म काठमाडौंमा १२ हजार छ सय ७२ जना, भक्तपुरमा तीन हजार आठ सय १२ जना र ललितपुरमा चार हजार नौ सय ४३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

परीक्षण गरिएकोमध्ये पीसीआर विधिबाट परीक्षण गरिएकोमध्ये १८ दशमलव सात प्रतिशतमा कोरोना पुष्टि भएको छ । संक्रमितको संख्यामा कमी आए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । दैनिक सरदर एक सयभन्दा बढीको मृत्यु भइरहेको देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया