Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१२ खर्ब ५४ अर्बको सामान आयात हुुँदा एक खर्ब आठ अर्बको निर्यात

१२ खर्ब ५४ अर्बको सामान आयात हुुँदा एक खर्ब आठ अर्बको निर्यात

राष्ट्र बैंकले भन्यो– १० महिनामा ११ खर्ब ४५ अर्बको वैदेशिक व्यापारघाटा


काठमाडौं ।
पछिल्लो समय मुलुकको निर्यात व्यापारमा सामान्य अंकले सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी १० महिनाको प्रतिवेदनअनुसार कुल वस्तु निर्यात ३२ दशमलव दुई प्रतिशतले बढेर भई एक खर्ब आठ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात चार दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तु आयात भने २२ दशमलव तीन प्रतिशतले बढेर १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । ‘सोही आधारमा चालू आवको दश महिनामा कुल वस्तु व्यापारघाटा २१ दशमलव पाँच प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ’, प्रतिवेदनमा भनिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४ दशमलव दुई प्रतिशतले घटेको थियो ।

प्रतिवेदनअनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५ दशमलव आठ प्रतिशत र २५ दशमलव तीन प्रतिशतले निर्यात बढे पनि चीनतर्पmको निर्यातमा भने १८ दशमलव चार प्रतिशतले गिरावट आएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, जुटका सामान, धागो, ऊनी गलैँचालगायतका वस्तुको निर्यात बढ्दा पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी वस्तु आयात गरिने मुलुकका आधारमा भने भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९ दशमलव आठ प्रतिशत, १७ दशमलव दुई प्रतिशत र छ दशमलव दुई प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढे पनि हवाइजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदीलगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ भने तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७८ वैशाख महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलव ४७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक सात दशमलव एक प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार २०७७ वैशाख महिनामा एक दशमलव तीन प्रतिशतले बढेको व्यापारको शर्त २०७८ वैशाख महिनामा दुई दशमलव तीन प्रतिशतले घटेको छ । समीक्षा अवधिमा खुद सेवा आय ५४ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७८ करोड ८२ लाखले बचतमा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८९ दशमलव दुई प्रतिशतले कमी आई छ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५७ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४२ दशमलव तीन प्रतिशतले कमी आई २९ अर्ब ४९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २२ अर्ब ५१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब सात करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ८२ करोेड रहेको थियो ।

चालू खाता दुई खर्ब ४७ अर्ब रुपैैयाँले घाटामा : चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी १० महिनाको प्रतिवेदनअनुसार चालू आवको १० महिनाामा चालू खाता दुई खर्ब ४७ अर्ब आठ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा दुई अर्ब ११ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९ दशमलव दुई प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रहेको थियो ।

शोधनान्तर स्थिति सात अर्ब ७५ करोड रुपैयाँले बचतमा : चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा शोधनान्तर स्थिति सात अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब एक करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको छ ।

रेमिट्यान्स १९ दशमलव दुई प्रतिशतले बढेर आठ खर्ब नौ अर्ब ८९ करोड पुग्यो 

Open Photo

वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्स रकममा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनााको अवधिमा रेमिट्यान्स १९ दशमलव दुई प्रतिशतले बढेर आठ खर्ब नौ अर्ब ८९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम छ दशमलव तीन प्रतिशतले घटेकोे थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव एक प्रतिशतले वृद्धि भई छ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव छ प्रतिशतले घटेकोे थियोे ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६० दशमलव तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई दशमलव सात प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४ दशमलव छ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले वृद्धि भई नौ खर्ब सात अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ दशमलव नौ प्रतिशतले घटेकोे थियो ।

विदेशी मुद्रा सञ्चिति घट्यो, वैशाख मसान्तसम्म १३ खर्ब ९० अर्बको विदेशी मुद्रा सञ्चिति : विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति शून्य दशमलव आठ प्रतिशतले कमी आई २०७८ वैशाख मसान्तमा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा एक दशमलव नौ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा शून्य दशमलव पाँच प्रतिशतले कमी आई १२ खर्ब १९ अर्ब ८१ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा दुई दशमलव सात प्रतिशतले कमी आई एक खर्ब ७१ अर्ब तीन करोड कायम भएको छ । २०७८ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ दशमलव एक प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिना चार दिनको वस्तु आयात र १० महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया