Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘स्मार्ट लकडाउन’मा जाने सरकारको निर्णय

‘स्मार्ट लकडाउन’मा जाने सरकारको निर्णय

साउनदेखि ४० लाख डोज खोप लगाउन सुरु गरिने


काठमाडौं ।
कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रम निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेसियाजस्ता देशहरुमा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाइ उडान सञ्चालन हुनेछन् ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ । यसैगरी गैरआवासीय नेपालीहरुबाट पठाइनलागेको अक्सिजन सिलिन्डर ल्याउन हवाइ ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइ रहेको आगामी साउनदेखि लगाउन थालिने बताएका थिए । त्यसबाहेक अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने बताएका थिए । कोभिड १९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिएको प्रधानमन्त्रीको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया