Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज पुनः २६ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिक्री हुने

आज पुनः २६ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिक्री हुने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले असार ७ अर्थात् आज सोमबार पुनः २६ अर्ब ५३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही जेठ ३१ गते पनि राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति असार ८ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग दिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको ११ अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँको रहेको छ । यसमध्ये ९१ दिने अवधिको कुल ट्रेजरीमध्येमा नौ अर्ब तीन करोड रुपैयाँ पुरानो नवीकरणअन्तर्गत र दुई अर्ब ५० करोड नयाँ रहेको छ । यसैगरी एक सय ८२ दिने अवधिको कुल ट्रेजरीमध्ये पनि पाँच अर्ब पुरानो नवीकरणअन्तर्गत र बाँकी पाँच अर्ब नयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने कुल २६ अर्ब ५३ करोड रुपैयाँ बराबरको कुल ट्रेजरीमध्ये १९ अर्ब तीन करोड पुरानो नवीकरणअन्तर्गत र बाँँकी सात अर्ब ५० करोड भने नयाँ रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ साउन ५ गते, २०७८ असोज ५ गते र २०७८ पुस ६ गते तोकिएको छ ।

यसअघि गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको नौ अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल गरेको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया