Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभटमासको कच्चा तेल आयात १८१.४ प्रतिशतले वृद्धि हु“दा पनि मूल्य उच्च

भटमासको कच्चा तेल आयात १८१.४ प्रतिशतले वृद्धि हु“दा पनि मूल्य उच्च


काठमाडौँ ।
पैठारीमा निर्भर हाम्रो मुलुकमा पछिल्लो समय प्रमुख पैठारी वस्तुमा भटमासको कच्चा तेल परेको छ । चालू आर्थिक वर्ष (२०७७/०७८) वैशाख मसान्तसम्ममा भटमासको कच्चा तेल १८१.४ प्रतिशतले वृद्धि हुँदा ३९ अर्ब ४६ करोड रुपैयाँबराबरको पैठारी गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । गत आर्थिक वर्ष (२०७६/०७७)को सोही अवधिमा भने १४ अर्ब दुई करोड रुपैयाँबराबरको भटमासको कच्चा तेल पैठारी गरिएको थियो ।

बजारमा अत्यधिक तेलको मूल्यवृद्धि हुँदा भटमासको कच्चा तेलको पैठारी भने उच्च छ । यसलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वाभाविक मानेको छ । व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारमा भटमासको कच्चा तेलको मूल्यवृद्धि हुँदा तेलको मूल्य बढ्न पुगेको बताउँदै आएका छन् । त्यसलाई विभागले पनि स्वीकार्दै आएको छ । करिब तीन महिनाअघि एक सय ४५ देखि एक सय ६० रुपैयाँ पर्ने एक लिटर भटमास तेलको मूल्य बढेर दुई सय २० रुपैयाँदेखि दुई सय ३५ रुपैयाँसम्म पुगेको छ ।

प्रतिलिटर दुई सय ३५ रुपैयाँ पर्ने सनफ्लावर तेल अहिले तीन सय रुपैयाँसम्म पुगेको छ । तोरीको तेल पनि दुई सय ७५ रुपैयाँदेखि दुई सय ९० रुपैयाँसम्म बिक्री भएकोमा तीन सय ३० रुपैयाँसम्म पुगेको छ । सबैजसो तेलको मूल्य बढेको लामो समय हुँदा उपभोक्ता भने कोभिड महामारीको समयमा महँगीको मारमा परेका छन् । त्यस्तै उच्च पैठारी हुने सामग्रीको दोस्रो स्थानमा मोबाइल रहेको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ११८.५ प्रतिशतले वृद्धि हुँदा ३२ अर्ब नौ करोड रुपैयाँको मोबाइल सेट आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ६८ करोडको मोबाइल सेट आयात गरिएको छ ।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म एमएस बिलेट ६२.२ प्रतिशतले वृद्धि हुँदा ५७ अर्ब ४८ करोड, अन्य कोइला ४२.५ वृद्धि हुँदा २२ अर्ब ३९ करोड, पोलिथिन दाना ३६ प्रतिशतले वृद्धि हुँदा २१ अर्ब ७६ करोड, चामल ३३.२ प्रतिशतले वृद्धि हुँदा २३ अर्ब ९१ करोड, तयारी कपडा २०.३ प्रतिशतले वृद्धि हुँदा २६ अर्ब १२ करोड, एलपी ग्यास ९.२ प्रतिशतले वृद्धि हुँदा २९ अर्ब ५१ करोडको पैठारी भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एमएस बिलेट ३५ अर्ब ४२ करोड, अन्य कोइला १५ अर्ब ७१ करोड, पोलिथिन दाना १६ अर्ब, चामल १७ अर्ब ९५ करोड, तयारी कपडा २१ अर्ब ७१ करोड, एलपी ग्यास २७ अर्ब चार करोडको पैठारी भएको थियो ।

चालू आर्थिक वर्षको वैशाखसम्म पेट्रोल ४.२ प्रतिशतले वृद्धि हुँदा २६ अर्ब ८८ करोड र अन्य सामग्रीमा १८.८ प्रतिशतले वृद्धि हुँदा नौ खर्ब तीन अर्ब ८९ करोड पैठारी भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने पेट्रोल २५ अर्ब ७९ करोड र अन्य सामग्री सात खर्ब ६० अर्ब ९७ करोडको पैठारी भएको थियो ।
त्यस्तै डिजेल छ प्रतिशतले कमी आउँदा ७० अर्ब ५६ करोडको पैठारी गरिएको छ । गत आवको सोही अवधिमा ७५ अर्ब ७९ करोडको डिजेल पैठारी गरिएको थियो ।

समग्रमा चालू आर्थिक वर्षको वैशाख महिनासम्म कुल वस्तु पैठारीमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । यस अवधिमा कुल पैठारी १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु पैठारी १० खर्ब २५ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको कुल वस्तु व्यापारमा निकासी र पैठारीको अंश क्रमशः आठ प्रतिशत र ९२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.४ प्रतिशत र ९२.६ प्रतिशत रहेको थियो ।

मन्त्रालयका अनुसार विगत पाँच आर्थिक वर्षको वैशाखसम्मको तथ्यांक विश्लेषण गर्दा गत आर्थिक वर्षमा मात्र वस्तु व्यापारघाटा १४.२ प्रतिशतले सुधार भएको देखिन्छ भने अन्य आर्थिक वर्षमा व्यापार घाटा बढेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया