वाइडबडी विमान बन्द गराउने योजनामा संलग्न खरेलले राजीनामा दिए
काठमाण्डौँ,माघ ६
नेपाल वायुसेवा निगमले ल्याएका दुईवटा वाइडबडी विमानलाई घाटामा गएको देखाएर विदेशीलाई लिजमा दिने वा बिक्री गर्ने हवाइ माफियाको योजनामा संलग्न निगम सञ्चालक समिति अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिनुपरेको छ । अध्यक्ष खरेल र आर्थिक विभाग निर्देशक युवराज अधिकारी निगमको हितभन्दा पनि निगमलाई धराशायी बनाउने प्रयासमा लागेपछि सुरुदेखि नै पर्यटनमन्त्री योगेश भट्टराईले उनीहरुको क्रियाकलापको निगरानी गर्दै आएका थिए । निगमलाई अगाडि बढाउने ठोस कार्ययोजना नबनाई वाइडबडी विमान खरिद गर्न लिइएको ऋणको किस्ता रकम नतिरी अन्य ऋण तिर्न पैसा दिने, वाइडबडी विमानलाई कम यात्रु भएका क्षेत्रमा उडान गराउने, निगमलाई आन्तरिक र बाह्य उडानका लागि थप विमान खरिद गर्न नदिनेलगायतका कार्य गर्न थालेपछि मन्त्री भट्टराईले अध्यक्ष खरेलको राजीनामा मागेका थिए । विभिन्न बहानामा राजीनामा नदिई बसेका खरेललाई मन्त्री भट्टराईले बर्खास्त गर्ने पक्का भएपछि आइतबार अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । खरेलले राजीनामा दिएको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । आर्थिक वर्ष २०७१÷०७२ को बजेट वक्तव्यमा निगमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय आवागमन र पहुँच बढाउने कार्यमा थप संलग्न गराउन पाँच वर्षमा आन्तरिक उडान तर्फ १५ र बाह्य उडानतर्फ सातवटा नयाँ विमान खरिद गर्ने उल्लेख गरिएको थियो । दुईवटा वाइडबडी विमान आए पनि निजी क्षेत्रका हवाइमाफियाले भएका वाइडबडी विमानलाई पनि घाटामा पार्ने र थप विमान नल्याउने व्यक्तिको खोजी गरेका थिए । त्यसमा खरेल नै उपयुक्त पात्र बनेका थिए ।
खरेल हवाइ माफियाको एजेन्टको रुपमा निगम डुबाउने खेलमा लागेको ठहर मन्त्रीले गरेपछि मन्त्री र उनीबीच खटपट सुरु भएको थियो । खरेललाई नहटाउन मन्त्री भट्टराईलाई धेरैतिरबाट दबाब आए पनि दबाबको अगाडि मन्त्री झुकेनन् र खरेललाई राजीनामा गर्न बाध्य पारे । खरेल निगममा भित्रिने दुई दिनअगाडि नै निगमका तत्कालीन कार्यकारी महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई जापानको राजधानी टोकियोको नारिता विमानस्थलमा उडान अनुमति दिलाएका थिए ।जापान सहमत भएपछि सम्झौता गर्नुपर्ने थियो । खरेल कार्यकारी अध्यक्ष भएर २०७५ भदौ २९ गते निगममा आएपछि सबैभन्दा पहिला नै जापान सम्झौता गर्न जाने टोलीलाई रोकेका थिए । कंसारकाले अनुमति दिलाएको ठाउँमा किन विमान उडाउने भनेर खरेलले त्यसलाई रद्द गरेर विना अध्ययन जापानकै ओसाका उडान गर्ने निर्णय गरेका थिए । खरेलको कारण निगमलाई गत भदौदेखि पुससम्म दश करोड रुपैयाँभन्दा बढी घाटा लागेको छ । उक्त घाटा वाइडबडीको कारणले लागेको भनेर उनले गलत प्रचार गराउने गरेका थिए । वाइडबडी विमान खरिद गर्दा निगमले नारिता उडान गर्ने व्यावसायिक योजना बनाएको थियो ।
सोहीअनुसार सम्झौता गर्न कंसाकारले सञ्चालक समितिबाट सहमति पनि पाएका थिए । तर, खरेलले त्यसलाई रुचाएनन् र निगमलाई फसाए । निगमका अनुसार नारिता विमानस्थल संसारकै व्यस्तमध्ये पर्ने विमानस्थल हो । सो विमानस्थलबाट उडान भर्न अन्य एयरलाइन्सले लामो समय कुर्नुपर्छ । तर, निगमले अनुमति पाएपछि सम्झौता गर्न जाने अघिल्लो दिन खरेलले एकाएक जापान जाने टोलीलाई रोकेका थिए । निगमलाई नारिता उडान भर्न नदिने योजनामा स्वदेश तथा विदेशका हवाइ एजेन्ट लागेका थिए । एजेन्टको योजनामा खरेलले सहीछाप लगाएपछि निगमको उडान लामो समयसम्म रोकियो भने जापानकै ओसाका उडानले निगमलाई करोडौं घाटामा पु¥यायो । आर्थिक रुपमा मात्र होइन प्राविधिक रुपमा पनि नारिता उडानले निगमलाई फाइदा दिने थियो । जापानमा झण्डै ५६ हजार नेपाली छन् । नारिता उडान गर्दा धेरै नेपाली मात्र होइन अन्य विदेशी र जापानी पर्यटकलाई नेपाल आउन सहज हुने थियो । त्यसले निगमलाई आर्थिक रुपमा सबल बनाउने पक्का थियो । तर, खरेलको कारण निगम उठ्नै नसक्ने ऋणमा डुब्न पुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया