Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोड रुपैयाँबराबरको वित्तीय सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोड रुपैयाँबराबरको वित्तीय सम्झौतामा हस्ताक्षर


काठमाडौं ।
विश्व बैंकले कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउनेभएको छ । उक्तसम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच आइतबार हस्ताक्षर भएको छ ।

सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका हुन् । अर्थसचिव ढुंगानाले यस सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनलगायतका क्षेत्रमा थप सुधार गरी नेपाललाई थप मजबुत बनाउन र हरित पुनर्निर्माणमा टेवा पु-याउने बताए । उनले बजेटरी सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा भौतिक पूर्वाधार आयोजना तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा परिचालन हुने जानकारी दिए ।

अर्थ मन्त्रालय र विश्व बैंकका अनुसार आर्थिक वृद्धि, पुनरुत्थान तथा उत्थानशीलताका लागि विकास नीति सहयोग सम्बन्धित पहिलो चरणको सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय वृद्धितर्फ लक्षित सुधारहरूलाई सघाउनेछ । यस क्षेत्रमा गरिने सुधारका कार्यक्रमहरूले सामाजिक सुरक्षा, अन्तर–सरकारी संरचनालगायत व्यवसायहरूको पुँजीमा पहुँच आदि विषयमा समेत विशेष ध्यान दिनेछ । यसले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशील बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालू ठूला आकारका विकास आयोजनालाई गति दिन मदत गर्नेछ । सहयोग बजेटरी सहायताका रूपमा प्राप्त हुनेछ ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले कोभिड–१९ को महामारीका बेला तथा सोपश्चात् पनि यस आयोजनाले नेपालमा दिगो वृद्धि हासिल गर्न सहयोग गर्ने र समावेशी, रोजगारी प्रवद्र्धक तथा पर्यावरणीय रूपमा दिगो हुने बताए । उनले भने, ‘कोभिड महामारीका समयमा मानिसको जीवन रक्षा तथा अर्थ–व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरूलाई सघाउन विश्व बैंक प्रतिबद्ध छ ।’

यसैबीच उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलसँग माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भेट गरेका छन् । उनले नेपालमा कोभिड नियन्त्रण तथा न्यूनीकरण र उपचारका साथसाथै आर्थिक विकासलाई पनि जोड दिन आग्रह गरे । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिडविरुद्धको लडाइँ र आर्थिक पुनस्र्थापनाका लागि नेपाल सही बाटोमा रहेको बताउँदै सो सन्देश विश्व बैंकको नेतृत्वसमक्ष पु¥याउन आग्रह गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया