Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनचाँदी खरिदको नाममा ठगी गर्ने आमा–छोरा पक्राउ !

सुनचाँदी खरिदको नाममा ठगी गर्ने आमा–छोरा पक्राउ !


जनकपुरधाम,माघ ७

धनुषाको विभिन्न सुनचाँदी पसलहरुबाट सुनचाँदी खरिद गर्ने बहानामा ठगिएको आरोपमा आमा छोरालाई इलाका प्रहरी कार्यालय यदुकूहाले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मिथिला विहारी नगरपालिका वडा नं ७ स्थित तारापट्टी बस्ने अन्दाजी ४० वर्षीय उषा देवी चौधरी र उनकी १९ वर्षीय छोरा सोनु कुमार चौधरी रहेका छन् । उनीहरू धनुषाको यदुकूहामा रहेका अमन ज्वेलर्स र नगराई नगरपालिका २ का संजय ज्वेलर्सबाट उधारोको बहानामा सुनचाँदी ठगिएको आरोपमा पक्राउ परेका हुन् । विभिन्न सुन पसलहरुबाट सुनचाँदी खरिद गर्ने बहाना बनाई पसल सञ्चालकहरुलाई झुक्याएर विश्वासमा पारी सम्पर्क नम्बर छाडी उधारो लिएर लामो समयसम्म सम्पर्कविहीन भएपछि ज्वेलर्सका सञ्चालक आफू ठगिएको महसुस भएपछि उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय यदुकूहामा किटानी जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी निरीक्षक (इन्चार्ज) दिपक बाबु केसीले बताए ।

पीडित पसल संचालकले दिएको सम्पर्क नम्बर, हुलिया र सिसिटिभी फुटेजको आधारमा प्रहरीले तत्कालै खोजी कार्यमा तीव्रता दिदा उनीहरूलाई धनुषाको तारापट्टीका आफ्नै घरमा बसिरहेका अवस्थामा पक्राउ गरी ल्याएको इन्चार्ज केसीले बताए । पक्राउ परेका उषा देवी चौधरीले विभिन्न सुनचाँदी पसलमा गई नजिकै नाम चलेका प्रतिष्ठित व्यक्तिको श्रीमती हुँ भन्दै छोराछोरीको विवाह लगायतका बहाना बनाई सुनचाँदी गहना उधारोमा लिने गरेकी बताइएको छ । उनीहरूले अमन र ज्वेलर्स र संजय ज्वेलर्सबाट करिब १ लाख ३९ हजार बराबरको सुनचाँदीको गहना ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अभियुक्त घरबाट मंगलसुत्र एक थान,सुनको कानमा लगाउने टप दुईवटा, नाकमा लगाउने सुनको टुकी एउटा, चाँदीको पाउजु दुईवटा र हातमा लगाउने चाँदीको ब्रास्लेट दुईवटा बरामद भएको हो । उनीहरूमाथि ठगी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको यदुकूहाका इन्चार्ज केसीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया