Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१२ अर्ब लगानीको फुटवेयरका लागि मापदण्ड अनिवार्य छैन

१२ अर्ब लगानीको फुटवेयरका लागि मापदण्ड अनिवार्य छैन

सेना र प्रहरीले खरिद गरेकै भरमा फुटवेयर उद्योग सञ्चालनमा सहज, २०८१/०८२ सम्ममा फुटवेयरको माग २८ प्रतिशतले वृद्धि भई ११ करोड जोडी पुग्ने


काठमाडौं । नेपालमा उत्पादित फुटवेयर (जुत्ताचप्पल) का लागि अनिवार्य मापदण्ड नै छैन । नेपालबाट निर्यात समेत हुने गरेको फुटवेयर सामग्रीमा अनिवार्य मापदण्ड नरहेको उद्योग विभागले जानकारी दिएको छ  । विभागले गरेको अध्ययनअनुसार नेपालमा जुत्ताचप्पलका लागि अनिवार्य मापदण्ड छैन तर केही ग्राहकरुले आईएसओ ९००१ प्रमाणित भएका उत्पादनहरूको माग गर्दछन् । त्यसैले केही उद्योगहरूको उत्पादन आईएसओ ९००१ः२०१५ प्रमाणित छन् ।

नेपाली सेना र प्रहरीजस्ता ठूला संगठन फुटवेयर खरिदकर्ता हुँदा नेपाली फुटवेयर उद्योगहरू सञ्चालन हुन मद्दत पुगेको विभागको भनाइ छ । जुत्ताका लागि परीक्षण विधिहरू नेपाल मानकमा उपलब्ध छन् भने आर्मी र पुलिसजस्ता संस्थाले परीक्षण गराएर मात्रै खरिद गर्ने गर्दछन् ।

यसैबीच नेपाली फुटवेयर उद्योगमा १२ अर्ब लगानी भइरहेको छ । सो लगानीमा मुलुकभर करिब छ वटा ठूला जुत्ताचप्पल उद्योगहरू, १५ मध्यमस्तरका उद्योगहरू, तीन सयवटा साना उद्योग र एक हजार दुई सयवटा लघु–उद्योगहरू छन् ।

जुत्ताचप्पल उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ चीन र भारतबाट आयात गरिन्छ । ८० प्रतिशत र अन्य बाँकी तेस्रो मुलुकहरूबाट रहेको छ । भैंसीको काँचो छाला भारतमा निर्यात गरिन्छ र फेरि टेनिङ गरेको गुणस्तरीय छाला भारतबाटै आयात गरिने अध्ययनमा उल्लेख छ । नेपाली फुटवेयरको अधिकतर उत्पादन प्रक्रिया म्यानुअल रहेको छ र उनीहरूले चिनियाँ, इटालियन, ताइवान र भारतीय प्रविधि अपनाएका छन्  ।

फुटवेयर उद्योगले हजारौंलाई रोजगारी समेत दिएको अध्ययनले देखाएको छ । फुटवेयर उद्योगहरूले करिब ७० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगार सिर्जना गरेका छन् । तीमध्ये करिब ६० प्रतिशत जनशक्ति दक्ष र ४० प्रतिशत अर्धदक्ष छन् । त्यस्तै, कुल विद्युत् माग करिब १० मेगावाट रहेको छ जुन नेपाल विद्युत् प्राधिकरणबाट उपलब्ध भएको छ ।

कच्चा पदार्थको प्रकृतिको पहिचान, केही कच्चा पदार्थका आयात करमा छुट, निर्यात जुत्ताचप्पलको गुणस्तरमा उच्च बजार प्रतिस्पर्धा, खुला सीमा, जुत्तामा आधुनिक प्रविधिको अभाव, कुशल श्रमिकको अभाव, जुत्ताचप्पल क्षेत्रको विकास, सरकारको नियम, आयातित कच्चा पदार्थ, लगानी क्षमता र आयातकर्ताहरूद्धारा न्यून गुणस्तरीय कच्चा पदार्थको आपूर्ति, जुत्ताचप्पल संघद्वारा प्रदान गरिएको प्रमखु आन्तरिक र बाह्य चुनौतीहरू पृष्ठपोषण र सुझाव हुन् । समग्रमा जुत्ताचप्पलमा प्रयोग हुने कच्चा पदार्थहरू लगभग ८० प्रतिशत भारत र चीनबाट हुने गरेको र अन्य बाँकी तेस्रो मुलुकबाट आयात गर्ने गरिएको छ ।

पछिल्ला वर्षहरूमा फुटवेयरको मागमा वृद्धि हुँदै गएको बताइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा करिब नौ करोड जोडी फुटवेयर माग हुने अनुमान छ र आर्थिक वर्ष २०८१/०८२ मा अर्थात् पाँच वर्षमा २८ प्रतिशतले वृद्धि भई ११ करोड जोडीमा पुग्ने अनुमान गरिएको छ । अध्ययनअनुरुप जुत्ताचप्पलको माग वार्षिक सात दशमलव २७ करोड जोडी रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा वर्षमा चार दशमलव पाँच करोड जोडी घरेलु आपूर्ति रहेको छ । विभागले फुटवेयर उद्योगलाई आत्मनिर्भर उद्योगको सूचीमा समावेश गरेको छ । हरेक वर्ष फुटवेयरको उत्पादन र उपभोगमा वृद्धि हुँदै गइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया