Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनरल इन्स्योरेन्स कम्पनीमा साढे तीन करोड घोटाला

जनरल इन्स्योरेन्स कम्पनीमा साढे तीन करोड घोटाला

संलग्नमाथि कारबाही गर्न सञ्चालक समिति र बीमा समितिको आनाकानी


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा भएको साढे तीन करोड घोटालाकाण्डमा संलग्नमाथि नियामक निकाय बीमा समितिले कारबाही गर्न आनाकानी गरेको खुलेको छ । २०७६ मा खिलुङ कालिका एग्रो फर्मको नाममा गरिएको साढे तीन करोड रुपैयाँको दाबी भुक्तानीमा कम्पनीका अध्यक्ष कुनाल कयाल, तत्कालीन महाप्रबन्धक एसके तमोटसहितका उच्च व्यवस्थापनको संलग्नता रहे पनि बीमा समितिले हालसम्म कुनै कारबाही गर्नसकेको छैन ।

बीमा समितिका अध्यक्ष सूर्य सिलवालको गाउँले दाजुभाइ नाता पर्ने कयालले बीमा समितिकै आडमा हालै मात्रै सञ्चालक समितिले निलम्बन गरेका सह–महाप्रबन्धक तथा लेखा प्रमुख निल बराइलीलाई दैनिक रुपमा कार्यालयमा उपस्थित गराई काम गराइरहेका छन् । भ्रष्टाचारमा संलग्नमाथि कारबाही हुनुको साटो उल्टै बीमा समितिबाट संरक्षण पाएपछि बीमा क्षेत्रमा संस्थागत सुशासनको सम्बन्धमा गम्भीर प्रश्न उठेको छ ।

बीमा समिति र नेपालका भ्रष्टाचार निवारणसम्बन्धी निकायको धज्जी उडाउने गरी भएको सो काण्ड स्याङ्जाको भीरकोट गाउँपालिकामा खुमा प्रसाद अर्याल, केशव न्यौपानेसहित सात जना सञ्चालक भएको खिलुङ कालिका एग्रो फर्ममा कृत्रिम रुपमा घटना रचना गरी तीन करोड ५० लाखभन्दा बढी रुपैयाँ घोटाला गरिएको थियो । सर्वसाधारणको लगानी रहेको तथा सर्वसाधारणले बीमा शुल्क लिई रक्षावरण गर्न संस्थापित कम्पनीमा भएको सो घोटालाकाण्डका संलग्नहरूलाई हालसम्म पनि कुनै कारबाही गरिएको छैन ।

नेपाल पुनर्बीमा कम्पनीसँग गरिएको सम्झौताविपरीत जनरल इन्स्योरेन्स कम्पनीले कखुरा भटाभट मर्दै गरेको अवस्थामा बीमा गरिएको तथ्यहरूले औँल्याएका छन् । साथै कुखुरा मरेको भनेर प्रमाणित गर्ने चिकित्सकको कागजात समेत फर्जी देखिएपछि घटना नै कृत्रिम हो कि भन्ने आशंका उत्पन्न भएका छन् । खिलुङ कालिका एग्रो फर्ममा गरिएको कुखुराको बीमा र दाबी भुक्तानी सुरुदेखि अन्त्यसम्म गैरकानुनी र नियोजित भएको जनरल इन्स्योरेन्स कम्पनीकै दाबी भुक्तानी उपसमितिले ठहर गरिसकेको छ ।

सन्तुलनका लागि सञ्चालक समिति मातहत हुने दाबी भुक्तानी उपसमितिको सञ्चालक समितिले नगरेपछि सो कम्पनीका सञ्चालक शशी बज्राचार्यले बीमा समितिलाई समेत सो सम्बन्धमा मौखिक रुपमा जानकारी गराएका थिए । कुनै कारबाही नभएपछि अन्त्यमा २०७७ चैत २४ गते पदबाट राजीनामा गरिरहेका छन् । कम्पनीभित्र भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दा सुनुवाइ नहुने र नियामक निकाय समेत मौन रहेपछि संस्थागत सुशासनको पक्षमा रहेका सञ्चालक आफैँ राजीनामा दिएर भाग्नुपर्ने अवस्थाले बीमा समितिको नियमनमाथि शंका उत्पन्न हुन आएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले २०७७ साउन २२ गते जनरल इन्स्योरेन्स कम्पनीलाई सो बीमा दावी भुक्तानी सम्बन्धमा गम्भीर प्रश्न उठाउँदै घटना नै कृत्रिम भएको आशंका व्यक्त गरेपछि सो कम्पनीभित्र पहिलोपटक विषय प्रवेश भएको थियो । नेपाल पुनर्बीमा कम्पनीले सो बीमा दाबी भुक्तानीको सम्बन्धमा जनरल इन्स्योरेन्स कम्पनीलाई ७ वटा गैरकानुनी र सम्झौता उल्लंघनका घटनाहरू पाइएकोले दाबी भुक्तानी दिन नसक्ने पत्र दिइसकेको छ ।

पुनर्बीमा कम्पनीले कुखुरा मर्न थालेपछि बीमा गराएको, कुखुरा मरेको धेरै समयपछि मात्रै सर्भेयर पुगेको, कुखुरा मरेको हो भनेर प्रमाणित गर्ने चिकित्सक मोबाइल भेटेरिनरी क्लिनिकका अनन्त दाहाल भनिएकोमा सो क्लिनिकमा बलराम थापा नाम गरेको डाक्टर भेटिएको र अनन्त दाहाल नाम गरेको चिकित्सक सो क्लिनिकमा कार्यरत नरहेको प्रमाणित भएकोले उक्त दाबी फर्जी हुनसक्ने जानकारी जनरल इन्स्योरेन्स कम्पनीलाई गराएको पाइएको छ ।

२०७७ कात्तिक १२ गते सो कम्पनीको दाबी भुक्तानी उपसमितिका संयोजक शशी बज्राचार्यको संयोजकत्वमा बसेको बैठकले खिलुङ कालिका काण्डमा संलग्नमाथि कारबाही गर्न माइन्युट गरेको कागजातहरू प्राप्त भएका छन् । सो बैठकले तत्कालीन महाप्रबन्धक सानुकाजी (एसके) तमोट, नायब महाप्रबन्धक राजेश मानन्धर, उपमहाप्रबन्धक बिनेश मास्के, उपमहाप्रबन्धक निल बराइली र वरिष्ठ प्रबन्धक प्रदिप कुमार यादव संलग्न भएको भन्दै कारबाही गर्न सिफारिस गरेको खुलेको छ ।

Open Photo

आर्थिक दैनिकलाई प्राप्त कागजातमा सञ्चालक समिति मातहतमा रहेको जिम्मेवार निकायले गरेको सिफारिस सञ्चालक समितिले आजसम्म पनि अघि बढाएको छैन । बरु, त्यसलाई थामथुम पार्ने, गुपचुप बनाउने खोज्ने काम भइरहेको छ ।

पछिल्लो समय कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई बीमा समितिले सेयर बजारमा चलेखल गरेको भन्दै निलम्बन ग¥यो तर नियामक निकायले के कारणले निलम्बन गरेको हो र छानबिन के कति गरियो भन्नेसम्म बाहिर सार्वजनिक नगरी फुकुवा गरियो । अग्रवालले गत असार ३१ गतेको बैठकबाट राजीनामा गरिसकेका छन् । खिलुङ कालिका एग्रो फर्ममा भएको घोटालामा संलग्न भई कारबाहीको लागि सिफारिस भई हालसम्म पनि कार्यान्वयन नभएको फाइनान्स हेड निल बराइलीलाई गत महिना बीमा समितिले पुनः कारबाही गर्न पत्राचार गरेको थियो ।

सञ्चालकहरूले आफू संलग्न कम्पनीको सेयर खरिदमा बराइलीलाई निलम्बन गरिएको पत्र जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा बुझाएको स्रोतको भनाइ छ । तर, तिनै निलम्बित कर्मचारी बिहीबार जनरल इन्स्योरेन्स कम्पनीका सीईओ रामचन्द्र श्रेष्ठसँग बीमा समितिको चोटाकोठा चहारिरहेका भेटिएको छ । एउटा कम्पनीमा गलत काम गरेर निलम्बनमा परेको कर्मचारी नियामक निकायको चोटाकोठमा भेटिनुले जनरल इन्स्योरेन्स कम्पनीको घोटालामा बीमा समितिको समेत संलग्नतालाई बलियो आधारमा रुपमा हेरिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया