Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यात व्यापार ११५ प्रतिशतले बढ्यो

निर्यात व्यापार ११५ प्रतिशतले बढ्यो

सोयाबिन तेल , पाम तेलले बढायो व्यापार


काठमाडौँ ।मुलुकको निर्यात व्यापारमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिना (साउन/भदौ) मा निर्यात व्यापार ११५ प्रतिशतले वृद्धि भई ४४ अर्ब तीन करोड ९५ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ४४ करोड ३० लाखको निर्यात व्यापार भएको थियो । निर्यातजन्य प्रमुख वस्तुहरूमा सोयाबिन तेल, पाम तेल, पोलिष्टर तथा धागो, उनी गलैँचा, सूर्यमुखी तेल, तयारी पोशाक, फेल्टका उत्पादनलगायतका सामग्रीहरू रहेको भन्सार विभागले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिनाको अवधिमा सोयाबिन तेल १६ अर्ब ४८ करोड १५ लाख रुपैयाँ, पाम तेल दुई अर्ब ६२ करोड ३६ लाख रुपैयाँ, गलैँचा एक अर्ब ५० करोड ३६ लाख रुपैयाँ, सनफ्लावर एक अर्ब ४५ करोड ८९ लाख रुपैयाँ र पोलिष्टर तथा धागो एक अर्ब ३० करोड ३० लाख रुपैयाँको निर्यात भएको छ । यस्तै निर्यातसँग आयातव्यापारमा पनि वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिनाको अवधिमा आयात ७६ प्रतिशत वृद्धि हुँदा तीन खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयात एक खर्ब ७८ अर्ब ४६ करोड रुपैयाँको थियो ।

आयातजन्य प्रमुख वस्तुहरूमा भने भटमास, पेट्रोलियम पदार्थ, पाम तेलको कच्चा पदार्थ लगायतका सामग्री छन् । दुई महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । भटमास १५ अर्ब ६० करोड, डिजेल १३ अर्ब ९६ करोड, पेट्रोल आठ अर्ब ५५ करोड २५ लाख, खाना पकाउने ग्यास सात अर्ब ९९ करोड २३ लाख, पाम तेलको कच्चा पदार्थ छ अर्ब ४५ करोड, सूर्यमुखी तेलको कच्चा पदार्थ तीन अर्ब १७ करोड र ल्युब्रिकेन्ट एक अर्ब छ करोडको आयात गरिएको छ ।

चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिनाको अवधिमा व्यापारघाटा बढ्नपुगेको छ । दुई महिनाको अवधिमा व्यापारघाटा ७१ प्रतिशतले बढ्न पुग्दा दुई खर्ब ७० अर्ब ४७ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ५८ अर्ब ४० करोड रहेको छ । दुई महिनाको अवधिमा कुल वैदेशिक व्यापार ८० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा तीन खर्ब ५८ अर्ब ५५ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ९९ अर्ब २८ करोड कुल वैदेशिक व्यपार रहेको थियो । निर्यातमा वृद्धि भए पनि आयात समेत वृद्धि हुँँदा मुलुकको व्यापार भने समग्रमा घाटामा रहेको छ । त्यसैले गर्दा सरकारले उत्पादन तथा निर्यातमा अझै जोड दिनु आवश्यक रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया