Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजेके हार्डवेयर र गोपाल हार्डवेयर दुवै फर्म विवादमा करछलीमा तानिए सञ्चालक अग्रवाल

जेके हार्डवेयर र गोपाल हार्डवेयर दुवै फर्म विवादमा करछलीमा तानिए सञ्चालक अग्रवाल


विराटनगर । विराटनगरको हनुमानदास रोडमा सञ्चालन हुँदै आएको जेके हार्डवेयर एण्ड कम्पनी करछलीको विवादमा तानिन पुगेको छ । जेके हार्डवेयर एण्ड कम्पनीका सञ्चालक जितेन्द्र अग्रवालले करछलीसँगै विभिन्न निर्माणका सामानहरु अवैध रुपमा भण्डारण गरेर समयानुकूल कालोबजारी समेत गर्ने गरेको स्रोतले बताएको छ ।

सञ्चालक अग्रवालले आफूसँगै सत्यनारायण अग्रवालको नामबाट विराटनगर ७ मा रहेको गोपाल हार्डवेयर फर्मको प्रयोग गरी व्यापक रुपमा करछली गरिरहेका नयाँ–नयाँ तथ्यहरु सार्वजनिक हुनथालेका छन् । फर्ममार्फत न्यून बिल बीजक जारी गरी आयकरसहित मूअकर समेतमा व्यापक ठगी गरेको दाबी स्रोतले गरेको छ । जेके हार्डवेयरबाट वार्षिक रुपमा न्यून व्यावसायिक कारोबारको घोषणा गरेका अग्रवालले सत्यनारायण अग्रवालको नाममा दर्ता कायम रहेको गोपाल हार्डवेयरबाट वार्षिक पाँच करोडको मात्र व्यावसायिक कारोबारको विवरण बुझाएपछि अग्रवालले बुझाएको कारोबार विवरण नै शंकाको घेरामा पर्न पुगेको कुरा राजस्व स्रोतले बताएको छ । साथै अग्रवालको नाममा नै दर्ता कायम रहेको एउटा प्लाष्टिक उद्योगले समेत लामो समयदेखि अहिलेसम्म पनि कुनै व्यावसायिक करको विवरण नै नबुझाएको दाबी स्रोतको छ । जसले गर्दा अहिलेसम्म पनि उक्त उद्योगको फायल फस्र्योट समेत नभएको राजस्व स्रोतले जानकारी दिएको छ ।

विवादमा तानिएको जेके हार्डवेयर एण्ड कम्पनी र गोपाल हार्डवेयरका दुवै सञ्चालक नाताभित्रै रहेको र हार्डवेयरका सामग्रीहरुमा अचाक्ली मूल्यवृद्धि गर्ने काममा अग्रपंक्तिमा रहेको कुरा व्यवसायीहरुले जानकारी गराएका छन् । व्यापारी–व्यापारीबीचको मिलेमतोमा उद्योग तथा बजारमा उपलब्ध सबै सामान उठाएर बजारमा कृत्रिम अभावको सिर्जना गर्ने काममा समेत अग्रवाल अगाडि नै हुने गरेको व्यापारीहरुले बताएका छन् । व्यापारीहरुले सस्तिएको मूल्यमा सामान उठाएर राखेको सामानलाई नै उच्च मूल्यवृद्धि गरी महंगो मूल्यमा बिक्रीवितरणमा ल्याउने गरेको जानकारहरुले बताएका छन् । प्रायः नेपालको पुर्वीबजारीमा हुने कार्टेलिङको मुख्य योजनाकार समेत रहेका अग्रवाल नै निर्माण सामग्रीको मूल्यवृद्धिका समयमा निकै चर्चामा आउने गरेको जानकारहरुले बताएका छन् ।

पछिल्लो समय तौलका लागि प्रयोग हुने ढक तराजु समेतको व्यापार सुरु गरेका अग्रवालले मूअ कर समेत नबुझाई आयात गरेर बिक्रीपश्चात् मूअ कर रिफन्डका लागि दाबी गर्न थालेपछि दुवै अग्रवाल विवादमा तानिएका छन् । त्यसतर्फ पनि आराकाले अनुसन्धान थालेसँगै सञ्चालक अग्रवाल विवादित बन्नपुगेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया