Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमृद्घ मुलुक निर्माणको लागि सहयोग गर्न महासंघलाई आग्रह

समृद्घ मुलुक निर्माणको लागि सहयोग गर्न महासंघलाई आग्रह


काठमाडौं, माघ १५
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीहरूको रचनात्मक सहयोगविना समृद्घ मुलुक बनाउन नसकिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा मन्त्री पोखरेलले व्यवसायीहरूका समस्यहरू समाधानका लागि पहल गर्ने बताउँदै समृद्ध नेपाल निर्माण गर्नको लागि सहयोग गर्न आग्रह गरे । महासंघको २१औं साधारणसभाको भक्तपुर घोषणापत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले व्यवसायीहरूका मागका विषयमा मन्त्रिपरिषद्मा छलफल गरिने जानकारी दिए । भेटमा महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले महासंघको २१औं साधारणसभाबाट पारित भएको ३१ बुँदे घोषणा पत्र तथा निर्माण व्यवसायीहरूको वर्तमान समस्यहरूको बारेमा जनाकारी गराएको थियो । उक्त घोषणापत्रमा समेत रहेको सार्वजनिक खरिद ऐन २०६३ को दफा १० (५) लाई संशोधन गरी दुई करोडको सट्टा पाँच करोडसम्मको निर्माण कार्य खरिदमा कुनै पनि योग्यता नराखी जुनसुकै निर्माण व्यवसायीले भाग लिन पाउनु पर्ने तर दुई करोडभन्दा माथिको पाँच करोडसम्मको निर्माण कार्यको लागि पाँच वर्ष पुरानो कम्पनीले र सम्बन्धित जिल्लाका कम्पनीले मात्र भाग लिन पाउने गरी बढीमा तीनवटा प्याकेजसम्मको निर्माण कार्य गर्न मिल्ने व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको थियो । ‘विगत ३–४ महिनाको अवधिमा व्यवसायीका करिब २० करोडभन्दा बढीको उपकरणमा आगजनी गरिएको छ’ सोको सुरक्षाको लागि सम्बन्धित निकायहरूमा पहल गरिदिन अध्यक्ष सिंहले आग्रह गरे ।

प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा, सल्लाहकार जयराम लामिछाने, उपाध्यक्ष आङ दोर्र्जी लामा (एडी), महासचिव रोशन दाहाल, उपमहासचिव टंकप्रसाद चौलागाई (नीतिगत), केन्द्रीय सदस्य उज्वल गौतम महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया