Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्रीले नै पुष्टि गरे सरकारमा प्रधानन्यायाधीशको भाग

मन्त्रीले नै पुष्टि गरे सरकारमा प्रधानन्यायाधीशको भाग

शुक्रबार शपथ लिएका मन्त्रीको आइतबार बिहानै राजीनामा


काठमाडौं । सरकार गठन गरेको तीन महिना पुग्नै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवाले गत शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए । मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना नजिकका व्यक्तिलाई मन्त्री बनाउन दबाब दिएको कुरा बाहिरियो । त्यसलाई खण्डन गर्ने क्रममा प्रधानन्यायाधीश जबराले नै आफ्ना जेठान गजेन्द्र बहादुर हमाल प्रधानमन्त्री देउवाजत्तिकै कांग्रेसमा ‘सिनियर लिडर’ भएको र उनी कांग्रेसबाट मन्त्री बन्ने बताएपछि सबै जना एकाएक आश्चर्यचकित बने । मन्त्री बन्ने सूचीमा हमालको नाम थिएन तर प्रधानन्यायाधीश जबराले नै नाम लिएपछि उनको खोजी भयो ।

समाचारमा आएका विषयलाई लिएर खण्ड हुँदै गर्दा प्रधानमन्त्री देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषद्मा गजेन्द्रबहादुर हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिइयो । पदभार ग्रहण गरेकै दिन पत्रकारहरुले तपाईं प्रधानन्यायाधीश जबराको जेठान भएको कारण मन्त्री भएको हो भनेर प्रश्न गरे । उनले त्यसको चित्तबुझ्दो जवाफ दिन सकेनन् । शनिबार र आइतबार सञ्चारमाध्यममा प्रधानन्यायाधीश जबराको भागमा परेका मन्त्री हमालको बारेमा चर्चा हुनथालेपछि उनले आइतबार बिहानै मन्त्रीपदबाट राजीनामा दिए ।

उनको राजीनामा प्रधानन्यायाधीश जबराको बारेमा भइरहेको आलोचना रोक्नका लागि थियो । यही घटनाले सरकारमा प्रधानन्यायाधीश जबराले भाग पाएको पुष्टि गरिदियो । यो घटनापछि हमालले भन्दा पनि सरकारमा भाग खोज्ने प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग समाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले उठाएका छन् ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा दोस्रो पटक पुनस्र्थापना गरी नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भन्ने परमादेश दिने घटना ‘सेटिङ’ र मिलेमतोमा भएको थियो भन्नेहरुलाई बल पु¥याइदिएको छ । यसले नेपालको न्यायालयको पनि धज्जी उडाउने काम भएको छ । प्रधानमन्त्री देउवाले आइतबार नै हमालले मन्त्रीपदबाट दिएको राजीनामा स्वीकृत गरिसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । पदबहालीपछि एक दिन पनि काम गर्न नपाई मन्त्री पदबाट राजीनामा गर्न हमाल बाध्य भएका हुन् । शनिबार सार्वजनिक विदा भएको कारण आइतबार मन्त्री हमालले काम गर्ने अपेक्षा सबैले गरेका थिए । तर, सञ्चारमाध्यममा लगातार समाचार आउनथालेपछि जसको कोटाबाट मन्त्री बनेको हो उसकै योजनाअनुसार राजीनामा आएको बताइएको छ । यद्यपि मन्त्री बन्ने हमाल र मन्त्री बनाउन सिफारिस गरिएका भनिएका प्रधानन्यायाधीश जबराले शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा आफूहरुले दबाब नदिएको र प्रधानमन्त्री देउवाको एकल निर्णय भएको बताउँदै आएका छन् । उनीहरुले खण्डन गरे पनि शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा भागबण्डा भएकामा धेरैले स्वीकार गरेका छन् ।

शुक्रबार विस्तारित मन्त्रिमण्डलमा राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानुन, न्याय तथा संसदीय मामिला र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले रहेका थिए ।

त्यस्तै महिन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

उक्त दिन राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादव नियुक्त भएकी थिइन् । गत असार २९ गते गठन देउवा नेतृत्वको सरकार शुक्रबार चौथो पटक विस्तार भएको थियो । सरकार गठन भएकै दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई÷दुई जना मन्त्री भएका थिए । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र पछिल्लो पटक परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरिएको थियो ।

मन्त्रीमण्डलमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित नौ, माओवादीका तर्फबाट एक राज्यमन्त्रीसहित छ, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट एक राज्यमन्त्रीसहित पाँच र जनता समाजवादीका तर्फबाट चार मन्त्री छन् । पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई समर्थन गर्ने भएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया